काठमाडौं– नेपालमा हालसम्म १०५ जना कोरोना संक्रमतिको मृत्यु भएको छ। सबैभन्दा बढी प्रदेश २ का संक्रमितले ज्यान गुमाएका छन्। त्यहाँ ३४ पुरुष र ११ महिला गरी ४५ जनाको मृत्यु भइसकेको छ।
प्रदेश १ मा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा १२, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जना संक्रमितको ज्यान गएको छ।
१०५ मृत्यु कहिले र कहाँ?
१. सिन्धुपाल्चोकी २९ वर्षीया महिलाको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनी १० दिनकी सुत्केरी थिइन्। श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उनलाई धुलिखेल अस्पताल लगिएको थियो। अस्पतालमा उनको मृत्यु भयो। मृत्युपछि गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पोजिटिभ आएको थियो।
२. वैशाख ३० गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका बाँके नरैनापुरका २५ वर्षीय युवकको जेठ ४ गते मृत्यु भयो। मृत्यु हुनुअघि उनलाई निरन्तर वाकवाकी र झाडापखाला लागेको बताइएको थियो। स्वास्थ्य मन्त्रालयले उनको मृत्युपश्चात् कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।
३. रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका गुल्मीका ४१ वर्षीय शिक्षकको जेठ ८ गते मृत्यु भयो। जन्डिसको उपचार गराइरहेका उनमा उपचारका क्रममा कोरोना भाइरस पुष्टि भएको थियो।
४. जेठ ४ गते बाराका ७० वर्षीय वृद्धको मृत्यु भयो। तर स्वास्थ्य मन्त्रालयले उनको मृत्युको पुष्टि जेठ १२ गते गरेको थियो। मन्त्रालयकाअनुसार उनलाई क्षयरोग र श्वारप्रश्वासको समस्या थियो।
५. कलेजोको समस्या भई किस्ट अस्पतालमा उपचाररत ललितपुर बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते मृत्यु भयो। उनलाई १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
६. भारतबाट फर्किँदै गर्दा जेठ १० गते अर्घाखाँचीको भूमिकास्थान घर भएका ३५ वर्षीय पुरुषको बाटैमा भयो। मृत्युपश्चात् गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना भएको पुष्टि भयो।
७. दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा जेठ १९ गते ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो।
८. बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकी २ वर्षकी बालिकाको जेठ १८ गते मृत्यु भएको थियो। उनलाई निमोनिया भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
९. जेठ २१ गते दोलखा घर भएका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो। उनलाई हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरिएको थियो। उनको काठमाडौं मेडिकल कलेज सिंगामंगलमा उपचारका क्रममा जेठ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि शिक्षण अस्पताल महाराजगञ्जको आइसियुमा सारिएको थियो।
१०. जेठ २० गते पाल्लामा एक संक्रमितको मृत्यु भयो। पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुषलाई क्वारेन्टाइनमा निमोनिया देखिएको थियो। उनको मृत्युपश्चात् पिसिआर जाँच गर्दा कोरोना देखिएको थियो।
११. सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको जेठ २३ गते मृत्यु भएको थियो। जेठ ७ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका उनको आरटिडी परीक्षण गर्दा नेगेटिभ आएपछि जेठ २२ गते घर पठाइएको थियो। तर उनको २३ गते मृत्यु भयो। मृत्युपछि गरिएको पिसिआर जाँचको रिपोर्ट पोजिटिभ आएको थियो।
१२. डोल्पाका जगदुल्ला गाउँपालिका–३ घर भएका ५८ वर्षीय पुरुषको जेठ २२ गते मृत्यु भएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गर्दा जेठ २४ गते कोरोना पुष्टि भएको थियो।
१३. धनगढी– ४ की मिर्गौलामा समस्या भएकी ५५ वर्षीया महिलाको सेती अस्पतालमा डायलाइसिस गर्ने क्रममा जेठ २३ गते मृत्यु भएको थियो। उनको जेठ २४ गते कोरोना पुष्टि भएको थियो।
१४. स्याङ्जा जिल्ला वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुषको जेठ २६ गते मृत्यु भयो। उनी मिर्गौला रोगी थिए। मृत्युपछि गरिएको पिसिआरमा उनलाई कोरोना पुष्टि भएको थियो।
१५. चितवन भरतपुर–११ का निमोनिया भएका पुरुषको जेठ २७ गते मृत्यु भएको थियो।
१६. अर्घाखाँचीको मालारानीस्थित क्वारेन्टाइनमा बसेका ५७ का पुरुषको जेठ २९ गते मृत्यु भयो।
१७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरका २५ वर्षीय युवकको २८ जेठमा मृत्यु भएको थियो। बेवारिसे लास फेला परेकोमा पोस्टमार्टमका लागि लगिएको र स्वाब परीक्षण गर्दा जेठ ३० गते कोरोना भाइरसको संक्रमण भेटिएको थियो।
१८. जेठ ३० गते बारा जिल्ला निजगढ नगरपालिका–६ योजनाटोल निवासी ५ वर्षीय बालकको मृत्यु भएको थियो। उनलाई कफ र ज्वरो देखिएको थियो। उपचारका क्रममा उनको नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भयो।
१९. गुल्मीका ३६ वर्षीय पुरुषको रेसुङ्गास्थित आइसोलेसनमा जेठ ३१ गते मृत्यु भएको थियो। उनी क्यान्सरका बिरामी थिए।
२०. बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको असार १ गते मृत्यु भयो। फोक्सो, मिर्गौला र प्यारालाइसिलको समस्या भएकी उनमा कोरोना पुष्टि भने असार ३ गते भएको थियो।
२१. कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुषको जेठ ३१ गते मृत्यु भयो।
२२. असार २ गते कैलाली, लम्किचुहाकी ४३ वर्षीया महिलाको मृत्यु भयो। टाउकोमा चोट लागेकी उनको नेपालगञ्ज मेडिकल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। असार ३ गते आएको पिसिआर रिपोर्टमा उनको कोरोनाको पुष्टि भएको थियो।
२३. गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५, महेन्द्रनाडाका ६९ वर्षीय पुरुष प्यारालाइसिसको उपचारका लागि भारत गएका बेला असार ५ गते मृत्यु भएको थियो।
२४. दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको असार ८ गते सुर्खेत अस्पतालको आइसोलेनमा मृत्यु भयो। उनी क्षयरोग तथा दमका बिरामी थिए।
२५. स्याङ्जा, आँधीखोलाका ५६ वर्षीय पुरुषको असार १० गते मृत्यु भएको थियो। उनको असार ११ गते कोरोनाको पुष्टि भएको रिपोर्ट आएको थियो।
२६. काठमाडौंका ४९ वर्षीय पुरुषको असार ११ गते पाटन अस्पतालमा मृत्यु भएको थियो। उनले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गराएका थिए।
२७. दाङको राप्ती अस्पताल नजिकै अचेत अवस्थामा भेटिएकी अन्दाजी ३० वर्षकी महिलाको असार ११ गते मृत्यु भएको थियो। असार १२ गते नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।
२८. असार १३ मा कैलालीको गोदावरी नगरपालिकाका ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए।
२९. रौतहटका ३० वर्षीय पुरुषको असार १३ गते मृत्यु भएको थियो। श्वासप्रश्वासको समस्या भएका उनको कोरोना पुष्टि भएको रिपोर्ट १४ गते आएको थियो।
३०. अछाम रामरोशनका ४५ वर्षीय पुरुषको बयलपाटा अस्पतालमा असार १४ गते मृत्यु भयो। उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो। उनी मधुमेहका बिरामी थिए। मृत्युपछि नमुना परीक्षण गर्दा १६ असारमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
३१. म्याग्दी, धोलागिरि नगरपालिका–४ का ४९ दिनका शिशुको त्रिवि शिक्षण अस्पतालमा असार १७ गते मृत्यु भयो। शिशुको मृत्यु हुनु ३ दिन अगाडि नै कोरोना पुष्टि भएको थियो।
३२. काठमाडौं नयाँ बानेश्वर बस्ने उच्च रक्तचाप र पार्किन्सनका बिरामी रहेका ८५ वर्षीय वृद्धको असार १७ गते मृत्यु भएको थियो। उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। असार १९ गते उनमा कोरोना पुष्टि भएको जानकारी दिइएको थियो।
३३. गोरखा, पालुङटारका ४४ वर्षका पुरुषको असार २० गते मृत्यु भयो। असार १९ गते कोरोना पुष्टि भएका उनी कतारबाट नेपाल फर्किएपछि पालुङटार क्वारेन्टाइनमा राखिएको थियो।
३४. असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचाररत रुपन्देही, देवदहका ७५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनी क्षयरोगका बिरामी थिए। उनलाई कोरोना पुष्टि असार २० गते भएको थियो।
३५. बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय पुरुषको असार २१ गते निधन भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए।
३६. असार २६ गते काठमाडौं–१०, शंखमुलका ६० वर्षीय पुरुषको उपचारको क्रममा पाटन अस्पतालमा असार २६ गते मृत्यु भएको थियो। फोक्सोमा पानी जमेको र मिर्गौलामा समस्या भएपछि उनी असार १६ गते अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा गरिएको कोरोना परीक्षणको पुष्टि असार १७ गते भएको थियो।
३७. असार २५ गते सिन्धुपाल्चोकका ४५ वर्षीय कोरोना संक्रमित एक पुरुषको पाटन अस्पतालमा मृत्यु भएको थियो। क्षयरोगको उपचारका लागि असार १८ गते पाटन अस्पतालमा भर्ना भएका उनको २५ गते मृत्यु भएको थियो। उनको असार २२ गते कोरोना पुष्टि भएको थियो।
३८. असार २५ गते काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। उनी काठमाडौंको गोकर्ण निवासी हुन्। उनी असार १९ गते अस्पताल भर्ना भएका थिए। स्वास्थ्य मन्त्रालयका अनुसार ती पुरुष मिर्गौलाका बिरामी थिए।
३९. असार ३१ गते रौतहट, पर्रोहा नगरपालिका–७ का ३६ वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो। उनलाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको थियो।
४०. साउन २ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी, राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भयो। उनमा मुटु रोग र मधुमेहको समस्या समेत थियो।
४१. साउन ६ गते अस्पताल भर्ना गरिएका जनकपुर नगरपालिका, धनुषाका एक पुरुषको मृत्यु भएको थियो। ती व्यक्तिको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।
४२. साउन ७ गते त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको थियो। मुटुको समस्या भएकी ४८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालमा मृत्यु भएको थियो।
४३. साउन ६ गते नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज–६, माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या देखिएका उनी साउन ६ गते बिहान अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएकै दिन साँझ ६ बजे उनको मृत्यु भएको थियो।
४४. साउन ९ गते नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज–११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको मृत्यु भएको थियो। उनी मुटुरोगी थिइन्। उनलाई निमोनिया समेत भएको थियो।
४५. साउन ९ गते नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत परवानीपुर–८, बाराकी १७ वर्षीया किशोरीको शुक्रबार मृत्यु भयो। जापनिज इन्सेफ्लाइटिसको आंशकामा वीरगञ्ज हेल्थ केयर सेन्टरमा उपचाररत उनको पिसिआर पोजिटिभ देखिएपछि साउन ९ गते कोभिड अस्पतालमा रेफर गरिएको थियो। सोही दिन उनको मृत्यु भएको थियो।
४६. साउन ११ गते वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय भारतीय नागरिकको मृत्यु भयो। उनको मृत्यु भएपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। उनलाई मुटु र मधुमेह थियो। ज्वरो र खोकीको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
४७. साउन १२ गते धनुषाको सहिदनगर नगरपालिका, डुमरियाका ३८ वर्षीय पुरुषको मृत्यु भयो। जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।
४८. बझाङका ६५ वर्षीय पुरुषको साउन ९ गते मृत्यु भएको थियो तर मन्त्रालयले साउन १३ गते मात्र जानकारी दिएको थियो। बझाङको बुङ्गल गाउँपालिका–३ स्थायी घर भएका उनी असार २५ गते भारतको बैंगलोरबाट आएका थिए। उनी दमका रोगी थिए।
४९. साउन १४ गते पर्सा, रोधमाई–७ का ६८ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। निमोनिया भएपछि उनी साउन ८ गते भर्ना भएका थिए। उनी मुटुका रोगी थिए।
५०. साउन १४ गते नै नेसनल मेडिकल कलेजमा उपचाररत वीरगञ्जका ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो। झाडापखालाको समस्या देखिएपछि उनी उपचारका लागि साउन १३ गते अस्पताल भर्ना भएका थिए। ती व्यक्ति मर्गौलाका रोगी थिए।
५१. गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको मृत्यु भयो। उनमा मुटुको समस्या थियो। साउन ८ गते नै अस्पताल भर्ना भएका उनको त्यही क्रममा कोरोना पुष्टि भयो।
५२. साउन १४ गते मोरङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो। गम्भीर अवस्थामा प्रतिष्ठानमा साउन १४ गते नै पु¥याइएका ती संक्रमित पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचारका क्रममा उनको दिउँसो ४ बजेर ४५ मिनेटमा मृत्यु भएको थियो।
५३. साउन १५ गते वीरगञ्ज महानगरपालिका–१६, नगवा स्थायी ठेगाना भएका ३५ वर्ष पुरुषको मृत्यु भएको थियो। उनलाई साउन ५ गतेदेखि ज्वरोको लक्षण देखिएको थियो। उनलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गरिएको थियो। तर ठिक नभएपछि उनी साउन १३ गते नारायणी अस्थायी कोभिड अस्पताल भर्ना भएका थिए।
५४. वीरगञ्ज महानगरपालिकास्थित छपकैया टोलका ६५ वर्षका पुरुषको मृत्यु भएको थियो। ती पुरुष अस्पताल भर्ना भएका भने थिएनन्। उनलाई ज्वरो आएको थियो। उनको घरमा नै मृत्यु भएको हो। मृत्युपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। उनको मृत्यु भएपछि प्रहरीले अस्पतालमा खबर गरेको थियो।
५५. साउन १६ गते नारायणी अस्पताल वीरगञ्जमा उपचाररत जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को मृत्यु भएको थियो। मुटुका बिरामी समेत रहेका उनको नारायणी कोभिड अस्थायी अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको थियो। ५६ वर्षीय उनी भारतीय नागिरक हुन्। उनलाई कोरोना भाइरसको संक्रमण देखिएपछि साउन ७ गते अस्पताल भर्ना गरिएको थियो।
५६. साउन १६ गते पाटन अस्पतालमा ललितपुर निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको थियो। स्टार अस्पतालमा उपचारका क्रममा कोरोना पोजिटिभ देखिएपछि उनलाई साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो। उनलाई निमोनिया भएको थियो।
५७. साउन १७ गते वीरगञ्ज–१६, नगवाका ६८ वर्षीय महिलाको शनिबार मृत्यु भएको थियो। वीरगञ्जस्थित नारायणी कोभिड–१९ विशेष अस्पतालको आइसियुमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।
५८. साउन १७ गते धनुषा, मिथिला नगरपालिका–१०, लालगढ बस्ने वर्ष ७२ की एक महिलाको ओम अस्पताल तथा रिसर्च सेन्टर चाबहिलमा मृत्यु भएको थियो। साउन १७ गते विहान ३.४८ बजे दम, हाइपोथाइरोडिजम र उच्च रक्तचाप तथा मधुमेहको बिरामी उनलाई निमोनिया, श्वासप्रश्वासमा कठिनाइ र पेट दुखेपछि धनुषाबाट ल्याएर अस्पताल भर्ना गरिएको थियो।
५९. विराटनगर ५ आदर्शटोलका ७७ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो। ज्वरो आएको, श्वासप्रश्वासमा समस्या र छाती दुखेपछि उनी साउन १९ गते बिहान साढे ९ बजे अस्पताल भर्ना भएका थिए। उनलाई आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको थियो। ती व्यक्ति मधुमेह र रक्तचापका बिरामी समेत थिए।
६०. साउन २० गते गते वीरगञ्जकी १८ वर्षकी युवतीको मृत्यु भएको थियो। उनलाई अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो। उनको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको थियो। पर्साको पोखरिया नगरपालिका–९ की ती युवतीलाई साउन १९ गते पटकपटक बान्ता हुने समस्या देखिएपछि उपचारका लागि नेसनल मेडिकल कलेजमा लैजाँदै गर्दा मृत्यु भएको थियो।
६०. साउन २१ गते वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो। ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी साउन २० गते राति ९ बजे अस्पताल भर्ना भएका थिए। उनको साउन २१ बिहान ६ बजे मृत्यु भएको थियो। उनी वीरगञ्ज–१५ निवासी हुन्। १९ गते उनको कोरोना पोजेटिभ आएको थियो। ती व्यक्ति मधुमेहका बिरामी थिए।
६२. साउन २१ गते बलम्बुस्थित नेपाल प्रहरी अस्पताल (एपिएफ) मा उपचाररत ६५ वर्षीय महिलाको मृत्यु भएको थियो। सर्लाहीको मलगंवा स्थायी ठेगाना भएकी उनी काठमाडौंको सीतापाइलामा बस्दै आएकी थिइन्। ज्वरो आएपछि उनले सर्लाहीकै एक अस्पतालमा भर्ना उपचार गराएकी थिइन्। समस्या बढ्दै गएपछि स्वयम्भुस्थित मनमोहन अस्पतालमा १६ गते भेन्टिलेटरमा उपचार भइरहेको थियो। साउन १८ गते कोरोना पोजेटिभ आएपछि १९ गते एपपएफ अस्पतालमा सारिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिएकी उनलाई निमोनिया भएको थियो। उनी रक्तचाप र बाथरोगकी बिरामी थिइन्। उनलाई स्क्रब टाइफस समेत भएको बताइएको छ।
६३. साउन २१ गते विराटनगर–९ का ४५ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी साउन २० मंगलबार साढे १० बजे अस्पताल भर्ना भएका थिए। उनको फोक्सोमा पानी जमेको थियो। उनी कलेजो र मिर्गौलाका रोगी समेत रहेको अस्पतालले जानकारी दिएको छ।
६४. साउन २१ मोरङ ८ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो। मृत्युपछि गरिएको पिसिआर परीक्षणमा उनको कोरोना पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ।
६५. साउन २१ गते साउन २२ गते पाटन अस्पतालमा ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो। कोरोना संक्रमित ती पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रेफर गरिएको थियो। उपचारका क्रममा मृत्यु भएका ती संक्रमित मधुमेह र उच्च रक्तचापका बिरामी थिए।
६६. साउन २१ गते सप्तरी, रुपनी नगरपालिका–५ बस्ने वर्ष ४२ का एक पुरुषको मृत्यु भएको थियो। ज्वरो तथा श्वासप्रश्वासमा कठिनाइ भई गत साउन २० गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएकोमा उनलाई थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा रेफर गरिएकोमा बाटोमै निधन भएको थियो। उनी डेढ महिना पहिले मलेसियाबाट आई होम क्वारेन्टाइनमा बसेका थिए।
६७. साउन २० गते पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–११, श्रीपुर बस्ने ७९ वर्षीय पुरुषकोे घरमै मुत्यु भएको थियो। उनको स्वाब संकलन गर्दा साउन २२ गते कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको थियो।
६८. साउन २२ गते पर्साको वीरगन्ज महानगरपालिका–११, श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको गण्डक अस्थायी कोभिड अस्प्तालमा मृत्यु भएको थियो। उनी मधुमेह, उच्च रक्तचाप तथा मुटुका बिरमी समेत रहेका थिए।
६९. साउन २२ गते सिरहा जिल्ला गोलबजार नगरपालिका–१२ बस्ने २५ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो। उनी मिर्गौलाका बिरामी थिए। उनी लामो समयदेखि डायलाइसिस गराउँदै आइरहेका थिए। उनमा साउन २२ गते कोरोना पुष्टि भएको थियो।
७०. साउन २३ गते सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय पुरुषको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो। उनको स्वाब संकलन गर्दा साउन २३ गते कोरोना पुष्टि भएको थियो।
७१. साउन २४ गते वीरगञ्ज–३, छपकैयाका ७४ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो। स्वास्थ्यमा समस्या भएपछि साउन २३ बिहान १ बजे उनलाई नारायणी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। ती व्यक्ति मधुमेह र दमका बिरामी रहेको मन्त्रालयले जनाएको छ।
७२. साउन २३ गते विराटनगर महानगरपालिका–९ का ५८ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो। कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा उनको मृत्यु भएको हो। निमोनिया भई श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई कोशी अस्पतालमा भर्ना गरिएको थियो । यसअघि सप्तकोशी अस्पतालमा उनको उपचार गरिएको थियो। अवस्था जटिल बन्दै गएपछि उनलाई कोशी अस्पतालमा रिफर गरिएको थियो। उनी उच्च रक्तचापका बिरामी समेत थिए।
७३. साउन २३ गते काठमाडौं, टोखाकी ४१ वर्षीया महिलाको मृत्यु भएको थियो। उनी पाटन अस्पतालमा उपचाररत थिइन्।
७४. साउन २४ गते पोखरा महानगरपालिका–१९ बस्ने ६२ वर्षीय एक पुरुषको मृत्यु भयो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा उपचारका क्रममा उनको मृत्यु भएको थियो। मधुमेहका रोगी उनी साउन १७ गते कोभिड पुष्टि भई सोही दिन अस्पतालको आइसियुमा भर्ना भई उपचाररत थिए।
७५. साउन २४ गते वीरगञ्ज महानगरपालिका–२ बस्ने २० वर्षीया महिलाको मृत्यु भएको थियो। हाइपोथाइरोडिजमकी बिरामी उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पु¥याइएपछि मृत घोषित भएकी थिइन्। मृत्युपश्चात् उनको स्वाब नमुना परीक्षण गर्दा आज साउन २५ गते कोरोना पुष्टि भएको थियो।
७६. साउन २५ गते बाँके, कोहलपुर नगरपालिका–२ वस्ने ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भयोे। उच्च रक्तचाप तथा पारालाइसिसकी बिरामी उनी निमोनिया तथा सेप्टिक सक भई गत साउन २३ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन्।
७७. साउन २५ गते पर्सा, बेदियाही गाउँपालिका–१५ बस्ने वर्ष ४५ की महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा मृत्यु भएको थियो। उच्च रक्तचाप तथा हाइपोथाइराडिजमकी उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
७८. साउन २६ गते काठमाडौं महानगरपालिका–१०, मध्यबानेश्वर बस्ने ७६ वर्षीय एक पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएको थियो। उनी श्वासप्रश्वासमा कठिनाइ तथा जिउ दुख्ने समस्या भई साउन २३ गते भेन्टिलेटरमा राखी आइसियुमा उपचाररत थिए। उनलाई निमोनिया, उच्चरक्तचाप तथा मधुमेहको समस्या थियो।
७९. साउन २६ गते काठमाडौं, कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय एक पुरुषको मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो। मिर्गौला दीर्घरोगी उनी निमोनिया तथा सेप्टिक सक भई अस्पताल भर्ना भएका थिए।
८०. साउन २६ गते धनुषाको विदेह नगरपालिका–८ वस्ने वर्ष ६० का पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो। गत साउन ८ गते निमोनिया भई अस्पतालको आइसियुमा भर्ना भई उपचार गराइरहेका उनी क्षयरोगका बिरामी समेत रहेको बताइएको छ।
८१. साउन २५ गते धनुषा, मिथिला बिहारी नगरपालिका–५ निवासी विनयतारा फाउन्डेसन (क्यान्सर अस्पताल) जनकपुरमा काम गर्ने वर्ष ५० का पुरुषको मृत्यु भयो। उनी झाडापखाला लागी मोटरसाइकलमा अस्पताल आउँदै गर्दा बाटोमा बेहोस भई लडेका थिए। उनलाई अस्पताल पु¥याइएपछि मृत घोषित गरिएको थियो।
८२. साउन २७ गते काभ्रे, पाँचखाल नगरपालिका–१ निवासी ५० वर्षीया एक महिलाको किस्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा मृत्यु भयो। उनी साउन २५ गते निमोनियाको लक्षण देखिएपछि अस्पताल भर्ना भएकी थिइन्। उनी फोक्सो तथा पित्तथैली सम्बन्धी रोगबाट समेत पीडित थिइन्।
८३. साउन २२ गते सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–४ निवासी वर्ष ८४ का एक पुरुषको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा मृत्यु भएको थियो। मुटु तथा मिर्गौला सम्बन्धी समस्या भएका उनी साउन २१ गते अस्पताल भर्ना भएका थिए।
८४. साउन २८ गते काठमाडौं महानगरपालिका–१२, टेकु बस्ने ७८ वर्षीय एक महिलाको किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा मृत्यु भएको थियो। उनी झाडापखाला तथा ज्वरोका कारण साउन २६ गते किस्ट अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन्। पछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरको फिभर क्लिनिकबाट रेफर भई उपचाररत उनी उच्च रक्तचाप, मधुमेह, हाइपोथोराडिजम, सेप्टिक सक तथा मिर्गौला सम्बन्धी रोगबाट पीडित थिइन्।
८५. साउन २७ गते धादिङको निलकण्ठ नगरपालिका–१४ निवासी ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको थियो। क्षयरोगका बिरामी उनी साउन २७ गते निमोनिया, खोकी तथा श्वास फेर्न कठिनाइ भई अस्पतालमा भर्ना भएका थिए। आइसियु र भेन्टिलेटरमा उपचाररत उनको २७ गते नै कोरोना पुष्टि भएको थियो।
८६. साउन २८ गते धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–१ निवासी ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा मृत्यु भयो। साउन ५ गते निमोनिया तथा श्वास फेर्न कठिनाइ भई अस्पतालमा भर्ना भएका उनको साउन ६ गते स्वाब नमुना संकलन गरी परीक्षण गर्दा साउन ७ गते कोरोना पुष्टि भएको थियो।
८७. साउन २८ गते जनकपुर उपमहानगरपालिका–८ निवासी ३८ वर्षकी महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा मृत्यु भयो। इन्सेफ्लाइटिस भई साउन १८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी उनको साउन १८ गते कोरोना पुष्टि भएको थियो। अल्का अस्पतालमा उपचारको लागि आएकोमा कोरोना पुष्टि भएपछि उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो।
८८. साउन २७ गते सप्तरी, डाक्नेश्वरी नगरपालिका–८ घर भई राजविराज नगरपालिका–६, सिरहारोड बस्दै आएका ७२ वर्षका पुरुषको मृत्यु भयो। ४ दिनअघि ज्वरो आई स्वाब परीक्षण गर्न दिएका उनको साउन २७ गते कोरोना पुष्टि भएको थियो। अस्पताल लैजाने क्रममा एम्बुलेन्समै निधन भएका उनी थाइराइड, मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धी बिरामी थिए।
८९. साउन २८ गते मोरङ, बुढीगंगा गाउँपालिका–२, गंगाचोक निवासी वर्ष ५५ का पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भयो। ज्वरो तथा श्वासप्रश्वासमा समस्या आई साउन २६ गते कोशी अस्पताल लगिएका उनलाई अस्पतालले थप उपचारको बिपी प्रतिष्ठान, धरान रेफर गरेको थियो। साउन २७ गते स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
९०. साउन २८ गते कपिलवस्तु नगरपालिका–२, तौलिहवा निवासी वर्ष ४२ का पुरुषको मृत्यु भएको थियो। ज्वरो तथा निमोनिया भई साउन २५ गते बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका उनी भेन्टिलेटरमा उपचाररत थिए। साउन २७ गते उनको कोरोना पुष्टि भएको थियो।
९१. साउन २८ गते बारा, कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको किस्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा मृत्यु भएको थियो। उनी शरीर कमजोर भई चक्कर लागेका कारण साउन २६ गते अस्पताल भर्ना भएका थिए। रक्तअल्पता, हाइपोथोराडिजम, सेप्टिक सक, दम तथा मिर्गौलाका बिरामी उनको साउन २७ गते स्वाब परीक्षण गर्दा साउन २८ गते कोरोना पुष्टि भएको थियो।
९२. साउन २५ गते महोत्तरी, मटिहानी नगरपालिका–६ निवासी ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा मृत्यु भएको थियो। उनी क्षयरोग तथा मधुमेहका बिरामी थिए।
९३. साउन २८ गते अछाम, रामारोशन गाउँपालिका–५ निवासी १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको थियो। उनी मुटुरोगी थिए।
९४. साउन २८ गते विराटनगर महानगरपालिका–३ निवासी ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा मृत्यु भयो। श्वासप्रश्वासको समस्या भएका उनलाई मधुमेह तथा उच्चरक्तचापको समस्या समेत थियो।
९५. धनुषा, मिथिला नगरपालिका–७, ढल्केवर निवासी ८५ वर्षीया महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो। उनलाई निमोनिया, खोकी तथा स्वासप्रश्वासको समस्या भएको थियो।
९६. साउन २२ गते विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसन उपचार गराइरहेका विराटनगरका ४० वर्षीय पुरुषको मृत्यु भएको थियो। साउन २० गते श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल आएका उनको पिसिआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
९७. साउन ३० गते बाराका ५० वर्षका पुरुषको नारायणी अस्पतालको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। मृत्युपछि उनको रिपोर्ट कोरोना पोजिटिभ आएको थियो।
९८. साउन ३० गते नारायणी अस्पतालमा बाराका ६५ वर्षीय पुरुषको मृत्यु भएको थियो। मृत्युपछि आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएका थियो।
९९. साउन ३० गते गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज–१२ का ६० वर्षीय पुरुषको मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई साउन २४ गते भर्ना गरिएको थियो। उनको २३ गते कोरोना पुष्टि भएको थियो। ती व्यक्ति उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।
१००. साउन ३१ गते कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका– ७ निवासी ४० वर्षीय एक पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मृत्यु भएको छ। उनी ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या लिई साउन २९ गते अस्पताल भर्ना भएका थिए। साउन ३१ गते कोरोना पुष्टि भएको थियो। उनी ३ महिनाअघि भारतबाट आई क्वारेन्टाइनमा समेत बसेको त्यतिबेला कोरोना परीक्षण नतिजा नेगेटिभ आएको थियो।
१०१. साउन ३० गते वीरगञ्ज महानगरपालिका–१२ निवासी ६० वर्षीय पुरुषको नारायणी अस्थाई कोरोना अस्पताल गण्डकमा मृत्यु भएको थियो। उनी श्वास प्रश्वासमा समस्या भई साउन २४ गते अस्पताल भर्ना भएका थिए। साउन २४ गते स्वाब परीक्षण गर्दा सोही दिन कोरोना पुष्टि भएको थियो। उनी मधुमेह, उच्चरक्तचाप तथा पक्षघातका समेत बिरामी थिए।
१०२. साउन २९ गते धनुषा, जनकनन्दनी गाउँपालिका–४ निवासी ५० वर्षीय एक पुरुषको मृत्यु भएको थियो। श्वास प्रश्वासमा समस्या भएपछि साउन २९ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका उनलाई थप उपचारको लागि काठमाडौं रेफर गरिएकोमा बाटोमै निधन भएको बताइएको छ। उनलाई मुटुसम्बन्धी समस्या समेत रहेको थियो।
१०३. धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा विराटनगर तीनपानीकी ५० वर्षीय महिलाको उपचारका क्रममा मृत्युु भयो। उनलाई अत्यधिक ज्वरो, खोकी र श्वास फेर्न समस्या भएपछि विराटनगरस्थित न्युरो अस्पतालले थप उपचारका लागि प्रतिष्ठानमा रेफर गरेको थियो। महिलामा फोक्सोको समस्याका साथै थाइरोइड र मुटुको समेत समस्या थियो।
१०४. साउन ३१ गते पर्सा, सुगौलीका ४७ वर्षीय पुरुषको मृत्यु भयो। मृत्युपछि गरिएको नमुना परीक्षणमा कोरोना पुष्टि भएको थियो। ती व्यक्तिमा एक हप्तादेखि ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या थियो। उनी अस्पताल नगई घरमै औषधि खाएर बसिरहेका थिए।
१०५. साउन ३२ गते काठमाडौं निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको हो। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। साउन २० गतेदेखि अस्पतालमा उपचाररत उनको ३२ गते दिउसो मृत्यु भएको हो।