काठमाडौं— आइतबार उपत्यका १७२ नयाँ कोरोना संक्रमित थपिएका छन्। यो संख्या अहिलेसम्मकै धेरै हो।
पछिल्लो केही दिनयता काठमाडौंसहित भक्तपुर र ललितपुरमा पनि संक्रमितको संख्या बढ्दै गएको छ। काठमाडौंका सबैजसो स्थानमा कोरोना संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
‘काठमाडौंको निश्चित केही स्थानमा भन्दा पनि लगभग सबै स्थानमा थोरै थोरै संख्यामा संक्रमित भेटिएका छन्,’ महाशाखा निर्देशक डा वासुदेव पाण्डे भन्छन्, ‘त्यसकारण सबैले सचेत रहन आवश्यक छ।’
आइतबार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित पुष्टि भएका छन्।
उपत्यका यी जिल्लाका कुन ठाउँ बढी प्रभावित छन, कसरी संक्रमितको व्यवस्थापन गर्ने काम भइरहेको छ भनेर भक्तपुर र ललितपुर जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखसँग कुराकानी गरेका छौँ।
डा खगेश्वर गेलाल, प्रमुख स्वास्थ्य कार्यालय, ललितपुर
पछिल्लो २/३ दिनयता ललितपुरमा संक्रमितको संंख्या बढ्न थालेको छ। आज थपिएका ३८ जनासहित संक्रमितको संख्या २६८ पुगेको छ। हुनत करिब १०० जना संक्रमणमुक्त भइसक्नुभएको छ।
अहिले सबैभन्दा बढी ८० प्रतिशत संक्रमित ललितपुर महानगरपालिका भित्रका छन्। महालक्ष्मीस्थान र गोदावरी नगरपालिका दोस्रो प्रभावित स्थान हुन्। अन्य तीन गाउँपालिका बागमती, महांकाल र कोन्ज्योसोम गाउँपालिकमाा फाट्टफुट्ट ३, ४ वटा केस देखिएको छ।
हामीले हरेक पालिका र जिल्लामा गरी १३ वटा तीन/ तीन जनाको कन्ट्याक्ट ट्रेसिङ टीम बनाएर काम गरिरहेका छौँ। केसको नाम, ठेगानासहितको सूची आएपछि सबै पालिकाका स्वास्थ्य संयोजक र वडाका अध्यक्षलाई पनि उपलब्ध गराउँछौँ।
संक्रमितको अवस्था हेरी लक्षण भएका वा अन्य स्वास्थ्य समस्या भएका संक्रमितलाई अस्पताल लैजाने काम गर्छौँ। पछिल्लो समय लक्षण नभएका र जोखिम नभएका व्यक्तिलाई होम आइसोलेसनको लागि पनि प्रेरित गर्ने गरेका छौँ। होम आइसोलेसनमा बस्दा उहाँको स्वास्थ्यवस्था बारे जानकारी लिन एक जना स्वास्थ्यकर्मीको पनि व्यवस्था गरेका छाँै। तर, होम आइसोलेसनमा बस्ने वातावरण भएका वा नमिल्ने खालका संक्रमितलाई भने अस्पतालमै राख्ने गरेका छौँ।
हामीलाई मापदण्ड अनुसार काम गर्न कुनै कठिनाई छैन। तर समुदाय र जनप्रतिनिधिको सहयोग नुहँदा समस्या परेको छ।
सबै जनप्रतिनिधि होइन तर केही स्थान जनप्रतिनिधिले नै नयाँ केस आयो भने यहाँ नराख्नुस्, वडा बाहिर लैजानु भन्ने, सबैको टेष्ट गराइहाल्नुप¥यो भनेर दवाव दिने कारण काम गर्दा निकै अप्ठारो वातावरण बन्छ।
संक्रमितको संख्या बढ्न थालेपछि पाटन अस्पतालमा आइसोलेसन बढाउने कुरा भइरहेको छ। अन्य स्वास्थ्य संस्थाहरुमा समेत आइसोलेसन बेड बढाउनेबारे विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुसँग छलफल गरीरहेका छौँ।
यो समयमा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाएर काम लगाउनुपर्ने समयमा उनीहरु मानसिक तनाव दिने, सहयोग नगर्ने खालका कुराहरुले मन खिन्न बनाउँछन्।
स्वास्थ्यकर्मीलाई नै अपमानित गरेर कोरोना नियन्त्रण हुन सक्दैन। त्यसैले यस्तो कठिन समयमा सबैले एकआपसमा सहकार्य र सहयोग गरी काम गर्नुपर्छ भन्ने लाग्छ।
कृष्णबहादुर मिजार, प्रमुख, भक्तपुर स्वास्थ्य कार्याललय
हाम्रो जिल्लामा अहिलेसम्म १३२ संक्रमित देखिएका छन्। तीमध्ये ५७ जना निको भइसकेका छन्।
भक्तपुरको ठिमी र सूर्यविनायक नगरपालिका सबैभन्दा बढी प्रभावित छन्। ती नगरपालिकाका अन्य वस्तीहरुमा संक्रमित देखिएका छन्। अन्य पालिकामा केही केसमा आएका छन्।
हामीले संक्रमितको स्वास्थ्यवस्था हेरी अस्पताल लैजाने गछौँ। अहिले लक्षण नभएका र होम आइसोलेसनमा बस्ने अवस्था भएका संक्रमित घरमै बस्नुभएको छ। तर,कुनै संक्रमितको होम आइसोलेसनमा बस्ने वातावरण नभएका संक्रमितलाई पनि आइसोलेसनमै लैजाने गरेका छौँं। संक्रमतिको संख्या थालेपछि भक्तपुर अस्पतालमा १५ वेडको आइसोलेसन थप गरेका छौँ। काठमाडौं मेडिकल कलेज दुवाकोटमा पनि ९० वेडको आइसोलेसन छ।
लकडाउन खुलेपछि घर गएकाहरु उपत्यका फर्कने क्रममा संक्रमणसँगै लिएर आएको हुनसक्छ। त्यसबाहेक, स्वास्थ्यका मापदण्ड पालना नगर्ने, जथाभावि घुमफिर गर्ने, समुहमा बस्ने, मास्क लगाउने, हातको सरसफाई नगर्ने जस्ता कारण संक्रमण रोक्न थप चुनौति देखिएको छ।
स्वास्थ्यका मापदण्ड पालना गर्नु हरेक व्यक्तिले आफ्नो जिम्मेवारी सम्झनुपर्छ। आफ्नो र अरुका लागि सबै संक्रमित हुन सक्छन् भन्ने सोचेर अत्यावश्य नपरी घर बाहिर ननिस्कन अनुरोध गर्छु।
संक्रमितको संख्या बढ्न थालेपछि व्यवस्थापनमा कठिनाई त छ नै मानिसको व्यवहारमा परिवर्तृन गर्न नसक्दा संक्रमण नियन्त्रणमा पनि चुनौति बढेको छ।