काठमाडौं- कोरोना संक्रमितको उपचारका लागि सबै अस्पतालले २० प्रतिशत बेड छुट्याउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अव्यवहारिक भएको भन्दै आलोचना भएको छ। मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्न थालेको भन्दै सबै निजी, सामुदायिक र सरकारी स्वास्थ्य संस्थालाई २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउनुपर्ने निर्णय गरेको थियो।
शुक्रबार सबै अस्पताललाई आफ्नो अस्पतालमा २० प्रतिशत बेड छुट्याउन र संक्रमित देखिए सोही अस्पतालमा व्यवस्थापन गर्न मन्त्रालयले सूचनासमेत जारी गरिसकेको छ। उपत्यकाभित्रका कुनै पनि अस्पतालमा संक्रमितलाई पठाउनु पर्ने अवस्था भएमा हब अस्पतालको समन्वयमा स्वास्थ्य मन्त्रालयबाट निर्देशन लिएर मात्रै गर्न पनि मन्त्रालयले सूचित गरेको छ।
सरकारको निर्देशनअनुसार कोभिडका बिरामी र अन्य बिरामीलाई एउटै अस्पतालमा राखी उपचार गर्दा संक्रमण फैलने खतरा झन् बढ्ने भन्दै सो निर्णय सच्याउन चिकित्सक तथा सरोकारवालहरूले सुझाव दिएका छन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवम् मुटुरोग सर्जन डा भगवान कोइरालाले एउटै अस्पतालमा कोभिड र नन्-कोभिड बिरामीको उपचार गर्दा अस्पताल नै संक्रमणको स्रोत बन्न सक्ने जोखिम रहेको बताए।
‘एउटै अस्पतालमा दुवै खाले बिरामी राख्दा नन्-कोभिडका बिरामी डरले अस्पताल नआउने र अस्पताल नै नआइकन अन्य रोगका बिरामीको मृत्युदर बढ्ने खतरा हुन्छ,' उनले भने, 'सकेसम्म कोभिडका बिरामीको छुट्टै उपचार गर्ने व्यवस्था गरिनुपर्छ।’ मन्त्रालयले संक्रमणको सुरुवाती चरणमा कोभिडका लागि अस्पतालहरु सूचीकृत गरेको र सोहीअनुसार कोभिडका बिरामीको उपचार हुँदै आएको बताउँदै उनले भने, ‘अहिले किन यस्तो निर्णय गरिएको हो, यो निर्णय पुर्नविचार गर्नुपर्छ।’
संक्रमण रोग विशेषज्ञ डा अनुप सुवेदीले सबै अस्पतालमा कोभिडका बिरामीको लागि २० प्रतिशत बेड छुट्याउने निर्णय अव्यवहारिक र अदूरदर्शी रहेको टिप्पणी गरे। ‘हामीले के बिर्सनु हुँदैन भने जति पनि स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ ती कोभिडका लागि नछुट्याइएका अस्पतालका हुन्। त्यहाँ मिसमास भएको छ। त्यहाँ उचित सुरक्षाको पालना भएको छैन,' डा सुवेदीले भने, 'कोभिडकै लागि तोकिएका अस्पतालका कर्मचारीलाई कम संक्रमण देखिएको छ।’
नेपाल चिकित्सक संघका अध्यक्ष एवम् फिजिसियन डा लोचन कार्कीले कोभिडका बिरामी र अन्य रोगका बिरामीका लागि छुट्टाछुट्टै अस्पताल तोकिनुपर्ने बताए। ‘यस्तो अव्यवहारिक सल्लाह मन्त्रालयलाई कसले दिन्छ थाहा छैन। कोभिडका लागि छुट्टै अस्पताल तोकिनुपर्छ,' डा कार्कीले भने, 'अन्य अस्पतालमा पनि कोभिडको जोमिखबाट बच्ने सुरक्षाका सामग्री उपलब्ध गराई सेवा दिने व्यवस्था गर्न जरुरी छ।’
निजी अस्पतालहरुले पनि कोरोना संक्रमितको उपचारका लागि सरकारको यो निर्णय व्यवहारिक नभएको बताएका छन्। निजी अस्पतालहरुको छाता संगठन अफिमका महासचिव हेमराज दाहाल सरकारले नीजि अस्पतालहरुसँग सल्लाह नै नगरी मन्त्रालयले सूचना जारी गरेको बताए।
‘हामीले संक्रमणको सुरुवाती दिनमा नै मौखिक र लिखित रुपमा सहकार्य गरेर महामारीसँग लडौं भनेकै छौँ। अहिले हामीसँग सल्लाह नै नगरी अवैज्ञानिक र अव्यवहारिक निर्णय गरिएको छ,’ महासचिव दाहालले भने। सबै निजी अस्पतालमा कोभिडका बिरामी राख्न नसकिने भन्दै कोभिड र नन्-कोभिडका बिरामीको उपचार छुट्टाछुट्टै गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी भने कोभिडका बिरामी बढिरहेकाले निजी अस्पतालालाई २० प्रतिशत छुट्याउन पत्र पठाइएको बताउँछन्। ‘पहिले हामीले कोभिड र नन्-कोभिडलाई अलग राखेर नै उपचार गर्ने गरेका थियौँ। तर पछिल्लो समय केसहरु बढेको छ,' सहप्रवक्ता डा अधिकारीले भने, 'बिरामी राख्ने ठाउँ नभएकाले अस्पताल प्रशासन, स्वास्थ्यकर्मी सबैलाई मानसिक रुपमा तयार हुनुपर्ने भएकाले यस्तो निर्णय गरिएका हो।’
विभिन्न मेडिकल कलेजले आफ्नो अस्पताललाई कोभिडका बिरामीको उपचारका लागि प्रयोग गर्न सक्ने बताइरहेका बेला मन्त्रालय निजी अस्पतालाई २० प्रतिशत छुट्याउने निर्णय गरेको मन्त्रालयका एक बताए। ‘सरकारले मेडिकल कलेजका अस्पताल प्रयोग गर्न सक्ने विकल्प हुँदाहुँदै अहिले कोभिड र नन्-कोभिडलाई एकै स्थान उपचार गर्दा स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम वृद्धि हुने देखिन्छ,’ ती कर्मचारीले भने।