काठमाडौं– लकडाउन अन्त्य भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ। संक्रमितको संख्यासँगै नेपालमा लक्षणसहितका र आइसियु चाहिने संक्रमितको संख्या पनि बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको साँझ ४ बजेसम्मको तथ्यांक अनुसार नेपालमा हाल ५० जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ। तथ्यांक अनुसार प्रदेश २ मा १९ जना, बागमती प्रदेशमा २८, प्रदेश ५ मा २ र सुदुरपश्चिम प्रदेशमा १ जना कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको छ।
लक्षणसहितका संक्रमितको संख्या बढेसँगै यो संख्या पनि बढ्दै जाने अनुमान मन्त्रालयका कर्मचारीहरुले गरेका छन्।
नेपालमा कोरोना भाइरसको संक्रमण देखिन थालेको साढे ६ महिना भइसकेको छ। तर, मन्त्रालयको तर्फबाट यो अवधिमा जुन रुपमा यस तर्फ तयारी गर्नुपर्ने हो त्यो भने हुन सकेको छैन।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएपछि संकलतन गरिएको विवरणमा देशभर १ हजार ५५१ आइसियु र ७७० भेन्टिलेटर थिए। संक्रमण बढेदै गएपछि सरकारले कोरोना संक्रमितका लागि भन्दै आइसियु र भेन्टिलेटर थपेको छ।
मन्त्रालयको तथ्यांक अनुसार गत जेठ २६ गते सम्ममा कोरोना उपचारका लागि भन्दै १५१ आइसियु बेड र १३० भेन्टिलेटर थप भएको छ।
यसबाहेक देशभरका मेडिकल कलेजमा ७०० आइसियु वेड, २३८ भेन्टिलेटर र ४५८ जना तालिम प्राप्त स्वास्थ्यकर्मी रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत तीन साता अघिसम्म संक्रमितमध्ये ९९ प्रतिशतमा लक्षण थिएन। तर त्यसयता भने धेरै जना संक्रमितको लक्षण देखिन थालेको छ।
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले पछिल्लो समय संक्रमितमा ज्वरो, सुख्खा खोकी लाग्ने निमोनियाको लक्षण देखिएको बताए। लक्षण भएका र गम्भीर किसिमका बिरामीलाई सघन उपचार कक्षमा र भेन्टिलेटरमा राखि उपचार गर्नुपर्ने हुन्छ।
देशभर कोरोना संक्रमितको उपचार लागि १ हजार ७०२ आइसियु र ९०० भेन्टिलेटरको व्यवस्था रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
अस्पतालको वर्गिकरण
स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तहगत रुपमा कोभिड विशेष अस्पतालका रुपमा छुट्टाएको छ। मन्त्रालयले तहगत रुपमा लेवल १, लेबल २ र लेबल ३ भनेर अस्पताललाई छुट्याएको छ।
मन्त्रालयले बनाएको ‘कोभिड–१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देनिका २०७६’मा प्राथमिकदेखि विशिष्टकृत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरुमा कोभिड–१९ का शकास्पद, सम्भावित र पुष्टि भएका केसहरुको व्यवस्थापनलाई सरल र सहज बनाउन र कोभिड–१९ बाहेक अन्य सेवाहरुलाई निरन्तरता दिई जनस्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न तहगत रुपमा अस्पताल वर्गिकरण गरीएको’ उल्लेख छ।
जसअनुसार, लेवल १ अस्पताल भन्नाले सामान्य केसहरु व्यवस्थापन गर्ने भन्ने बुझिन्छ। जसमा संक्रमित पुष्टि भई आएका वा यी अस्पतालहरुमा पहिचान भएका बिरामीकोहरु प्रोटोकल अनुसार आइसोलेसनमा राखि उपचार गरिन्छ।
लेवल १ कोभिड अस्पतालहरु : आयुर्वेद रिसर्च एण्ड टे«निङ सेन्टर अस्पताल कीर्तिपुर, काठमाडौं मेडिकल कलेज, कोरोना अस्थायी अस्पताल चितवन, अस्थायी कोभिड अस्पताल (कोशी अस्पताल) विराटनगर, जानकी अस्पताल, बागलुङ अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिपी कोइराला राष्ट्रिय सेन्टर फर रेस्पेटरी डिजिज तनहुँ, राप्ती प्रादेशिक अस्पताल, लुम्बिनी अस्पताल, प्रादेशिक अस्पताल सुर्खेत, अछाम अस्पताल, भीम अस्पताल, टिकापुर अस्पताल, डडेल्धुरा अस्पताल रहेका छन्।
लेबल २ अस्पताल भन्नाले मध्यम र अति जटिल केसको उपचार गरिने अस्पतालहरु हुन्। जसमा संक्रमित भई आएका वा यी अस्पतालमा पहिचान भएका मध्यम र अति जटिल केसहरु हाइडिपेन्डेन्सी र आइसियु केयरमा राखि उपचार गर्ने गरिन्छ।
लेबल २ कोभिड अस्पतालहरु : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पतालm नेपाल सशस्त्र बल अस्पताल, भरतपुर अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, जनकपुर अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र सेती अस्पताल रहेका छन्।
लेबल ३ अस्पताल भन्नाले बहुविज्ञ सेवा चाहिने कोभिड संक्रमित बिरामीहरुको उपचार गरिने अस्पताल हो। जसमा विशिष्टकृत शल्यक्रिया सेवा लगायत बिहविज्ञ सेवा सहितका सेवाहरु प्रोटोकल अनुसार उपलब्ध गराइन्छ।
लेबल ३ कोभिड अस्पतालहरु : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं र नेपालगञ्ज मेडिकल कलेज रहेका छन्।
मन्त्रालयले लेबल १ अस्पतालमा सामान्य संक्रमित, दुईमा लक्षण भएका बिरामी र लेबल ३ मा विशिष्टकृत शल्यक्रिया सेवा लगायत बहुविज्ञ सेवा सहितका सेवा उपलत्त हुने तर आवश्यकता अनुसार यो सूची बिस्तार तथा परिमार्जन गर्दै लगिने जनाएको छ।
देशका सरकारी, निजी र मेडिकल कलेज गरी १२४ अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।
कहाँ कति आइसियु र भेन्टिलेटर?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा लेबल१ अस्पतालका लागि १० आइसियु बेड र १० वटा भेन्टिलेटर छुट्याइएको छ। त्यसका लागि पाँच जना क्रिटिकल केयर तालिम प्राप्त कर्मचारीको व्यवस्था गरिएको छ।
त्यसैगरि, प्रदेश २ मा १० आइसियु बेड र ५ भेन्टिलेटरको व्यवस्था गरिएको छ। २५ जना स्वास्थ्यकर्मी क्रिटिकल केयर सम्बन्धि तालिम प्राप्त छन्। प्रदेश २ मा २ वटा एम्बुलेन्सको व्यवस्था गरिएको छ।
बागमती प्रदेशमा लेवल१ अस्पतालमा १९ वटा आइसियु र २ वटा भेन्टिलेर छन् भने ३५ जना क्रिटिकल केयर तालिम लिएका स्वास्थ्यकर्मी छन्। ५ एम्बुलेन्स छन्।
गण्डकी प्रदेशमा १९ आइसिय बेड, ५ भेन्टिलेर छ। गण्डकी प्रदेशमा लेबल १ अस्पतालका लागि क्रिटिकल केयर तालिम प्राप्त कर्मचारी छैनन्। २ एम्बुलेन्स लेबल १ अस्पतालका लागि व्यवस्था गरिएको छ।
प्रदेश ५ मा ४० आइसियु र १७ भेन्टिलेटरका साथै ३९ स्वास्थ्यकर्मीले क्रिटिकल केयरको तालिम प्राप्त गरेका छन्। १ एम्बुलेन्सको व्यवस्था गरिएको छ।
कर्णाली प्रदेशमा लेबल १ अस्पतालका लागि आइसियु, भेन्टिलेरको व्यवस्था गरिएको छैन। सुदुरपश्चिम प्रदेशमा ५ आइसियु वेडको व्यवस्था छ भने ७ स्वास्थ्यकमीले क्रिटिकल केयर तालिम प्राप्त गरेका छन्। त्यहाँ ६ एम्बुलेन्सको व्यवस्था छ।
यसरी लेबल १ अस्पतालका लागि सातै प्रदेशमा ८७ आइसियु र ३९ भेन्टिलेटर हुनुका साथै १०१ क्रिटिकल केयर तालिक प्राप्त जनशक्ति कोरोना उपचारका लागि व्यवस्था रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
लेबल २ को कुरा गर्ने हो भने, प्रदेश १ मा लेबल २ अस्पतालका लागि ६ आइसियु बेड २ भेन्टिलेटर मात्र छ। त्यहाँ लेबल २ अस्पतालमा उपचार गर्न २९ जना स्वास्थ्यकर्मीले क्रिटिकल केयर सम्बन्धि तालिम पाएका छन्।
प्रदेश नम्बर २ मा १६ आइसियु बेड र ५ भेन्टिलेटर र ७ स्वास्थ्यकर्मीले क्रिटिकल केयर तालिम लिएका छन्। २ एम्बुलेन्स लेबल २ अस्पतालका लागि व्यवस्था गरिएको छ।
बागमती प्रदेशमा ७१ आइसियु बेड र २३ भेन्टिलेटर व्यवस्था गरिएको छ। ९८ जना स्वास्थ्यकर्मी क्रिटिकल केयर तालिम प्राप्त छन् भने ७ एम्बुलेन्सको व्यवस्था गरिएको छ।
गण्डकी प्रदेशमा ११ आइसियु र बेड १० भेन्टिलेटर भएको र ९ जना स्वास्थ्यकर्मीले क्रिटिकल केयर तालिम प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख छ।
प्रदेश५ मा १२ आइसियु बेड र ४ भेन्टिलेटर र ४१ क्रिटिकल केयर तालिम प्राप्त स्वास्थ्यकर्मीका साथै एक एम्बुलेन्सको व्यवस्था छ।
कर्णाली प्रदेशमा १४ आइसियु र ९ भेन्टिलेटरको व्यवस्था गरिएको छ।१८ तालिम प्राप्त स्वास्थ्यकर्मी र ४ वटा एम्बुलेन्स रहेको बताइएको छ।
र, सुदुरपश्चिम प्रदेशमा १० वटा आइसियु बेड, ६ भेन्टिलेटर र ८ क्रिटिकल केयर तालिम पाएका कर्मचारी छन्। भने ३ वटा एम्बुलेन्सको व्यवस्था गरिएको छ।
यसरी, लेबल २ अस्पतालका लागि सात प्रदेशमा १४० आइसियु बेड र ५९ भेन्टिलेटर र २१० तालिम प्राप्त स्वास्थ्यकर्मी रहेका छन्। १८ एम्बुलेन्स छन्।
लेबल३ अस्पतालका लागि प्रदेश१ मा ७२ आइसियु वेड, १९ भेन्टिलेटर र १५ जना क्रिटिकल केयर तालिम प्राप्त कर्मचारी छन्। त्यहाा ४ एम्बुलेन्सको व्यवस्था गरिएको छ।
प्रदेश२ मा लेबल ३ अस्पतालको व्यवस्था छैन। बागमती प्रदेशमा ५६ आइसियु बेड र २६ भेन्टिलेटरको व्यवस्था गरिएकोछ ।त्यसका साथै क्रिटिकल केयरसम्बन्धी तालिम पाएका ५४ स्वास्थ्यकर्मी र ४ एम्बुलेन्सको व्यवस्था गरिएको छ।
गण्डकी प्रदेशमा पनि लेबल३ को अस्पताल छैनन्। प्रदेश ५मा २५ आइसियु वेड, ७ भेन्टिलेटर र २५ जना क्रिटिकल केयर जनशक्तिको व्यवस्था गरिएको छ। भने २ एम्बुलेन्सको व्यवस्था गरिएकोछ ।
यसरी लेबल३ को अस्पतालका लागि सात प्रदेशमा १५३ आइसियु वेड र ५२ भेन्टिलेटरको व्यवस्था गरिएको छ। ९४ स्वास्थ्यकर्मीले क्रिटिकल केयर तालिम पाएका छन् भने १० एम्बुलेन्सको व्यवस्था रहेको छ।
प्रदेशमा रहेका क्लिनिकहरुमा पनि आइसियु र भेन्टिलेटरको व्यवस्था गरिएकोछ । प्रदेश १ मा १२ आइसियु र ३ भेन्टिलेटर, एक जना क्रिटिकल केयर जनशक्ति र १३ एम्बुलेन्स, प्रदेश२ मा १० आइसियु बेड, ३ भेन्टिलेटर र ५ क्रिटिकल केयर जनशक्ति छन्। भने ५ एम्बुलेन्सको व्यवस्था छ।
बागमती प्रदेशमा ४ आइसियु वेड र २ भेन्टिलेटर र ४० एम्बुलेन्स रहेको मन्त्रालयले जनाएकोछ ।
त्यसैगरि, गण्डकी प्रदेशमा एक भेन्टिलेटरसहितको आइसियु र ८ एम्बुलेन्स मात्र रहेको छ भने प्रदेश५ मा प्रदेशगत क्लिनिकको व्यवस्था छैन। कर्णाली प्रदेशमा ३ आइसियु र १ भेन्टिलेटर र ४७ एम्बुलेन्सको व्यवस्था गरिएको छ। भने २ जना स्वास्थ्यकर्मीले क्रिटिकल केयरसम्बन्धी तालिम प्राप्त छन्।
यसरी कोभिड१९ को उपचारका लागि सरकारी देशभर ४०९ आइसियु र १६० भेन्टिलेटर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ४२३ स्वास्थ्यकर्मीे क्रिटिकल केयर सम्बन्धी तालिम प्राप्त छन् भने १७० एम्बुलेन्सको व्यवस्था गरिएको छ।
स्वास्थ्य मन्त्रालयले मेडिकल कलेजहरुमा पनि कोभिड१९ को आइसियु र भेन्टिलेटरको व्यवस्था रहेको जनाएको छ।