काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा बिहीबार पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरियो। कन्भ्यालिसेन्ट प्लाज्मा थेरापीबाट ती संक्रमितको उपचार भएको अस्पतालले आइतबार जानकारी गरायो।
नेपालमा पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार गरिएका कोरोना संक्रमित को होलान् भनेर धेरैले चासो व्यक्त गरे। प्लाज्मा थेरापीबाट सफल उपचार भएको जानकारीपछि स्वास्थ्यखबरले अस्पतालमा सोधखोज गरेको थियो।
उनको स्वास्थ्य अवस्था सामन्य भएको र हिँडडुल तथा बोलचाल गर्न समस्या नरहेको उपचारमा संलग्न चिकित्सकले बताएपछि हामीले ती संक्रमितसँग कुराकानी गरेका छौं। कुराकानीका क्रममा परिचय खुलाउने कि नखुलाउने भनेर समेत सोधेका थियौँ।
उनले आफ्नो परिचय खुलाउँदा फरक नपर्ने तर आफ्नो सन्देश पनि प्रकाशित गर्नुपर्ने स्पष्ट धारणा राखे।
'केही साथीहरुले मेरो अनुमतिबिना परिचयसहित समाचार प्रकाशित गरिसक्नु भएछ। अब त धेरैले मेरो बारेमा जानकारी पाइसकेका छन्,' उनले भने, 'त्यसकारण तपाईंहरुले पनि नाम लेख्दा फरक पर्दैन। तर तपाईंहरुले मेरो सन्देश राम्रोसँग प्रकाशित गरिदिनुहोला।’
नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार गरिएका उनी पेसाले डाक्टर हुन्। विराट नर्सिङ होमका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा ज्ञानेन्द्रमान कार्की कोरोना संक्रमण भएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले टिचिङ अस्पतालमा रिफर गरेको थियो।
यस्तो छ डा कार्कीको सन्देश :
कोरोना भाइरसको संक्रमण नेपालमा मात्र होइन, विश्वभर फैलिरहेको छ। यो भाइरसको संक्रमण जसलाई पनि हुनसक्छ। मैले पनि धेरै सुरक्षा सतर्कता अपनाएको थिएँ। तर सतर्कता अपनाउँदा-अपनाउँदै पनि मलाई संक्रमण भयो।
कोभिड–१९ रोग जसलाई पनि लाग्न सक्ने खतरा रहेकाले सबैले उच्चतम सतर्कता अपनाउन आवश्यक छ। संक्रमणबाट जोगिनका लागि सरकार तथा चिकित्सकहरूले दिइरहेका सुझावलाई राम्रोसँग पालना गर्नुहोला। यो समयमा हामीले धैर्यता राख्नुपर्छ। सरकारले कोरोना रोकथामका लागि चालेका कदमलाई हामीले सहयोग गर्दै सुरक्षाका उपाय अपनाउनु नै उत्तम हुन्छ।
सतर्क रहँदा-रहँदै पनि संक्रमण भयो भने आत्तिनु हुँदैन। यसको उपचार हुन्छ। त्रिवि शिक्षण अस्पतालमा मेरो निकै राम्रो उपचार भइरहेको छ। समयमा नै यहाँ आउन पाएकाले राम्रो उपचार भयो। कोरोनाको उपचारमा खटिएका सबै स्वास्थ्यकर्मीलाई सम्मान गरौँ। उहाँहरूलाई प्रोत्साहन गर्नुपर्छ।
म यहाँबाट डिस्चार्ज भएर गएपछि समाजसेवामा लाग्नेछु।
000
साउन ७ गते डा कार्कीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो। कोरोना संक्रमण देखिएपछि विराटनगरमा रहेका उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। तर, उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि साउन १० गते त्रिवि शिक्षण अस्पतालमा ल्याइयो।
तर, कोरोना संक्रमणका कारण डा कार्कीको अवस्था थप जटिल बन्दै गएको थियो। स्वास्थ्य अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालमा उनलाई 'आइसियू विथ अक्सिजन सपोर्ट'मा राखेर उपचार गरिएको थियो। यसरी उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि बिहीबार प्लाज्मा थेरापीबाट उपचार गरियो।
‘प्लाज्मा थेरापी गर्नुअघि उहाँको शरीरमा अक्सिजनको मात्रा निकै कम थियो। अक्सिजनको सपोर्टमा राख्दा पनि सुधार हुन सकिरहेको थिएन,’ उपचारमा संलग्न अस्पतालका एक चिकित्सकले भने, ‘तर प्लाज्मा थेरापीपछि उहाँको शरीरमा छोटो समयमा नै धेरै सुधार आयो।’
यो पनि :