काठमाडौं– लोकसेवाको परीक्षा, ०६० साल। जनस्वास्थ्य निरीक्षकको पद। आन्तरिक र खुला दुवै परीक्षामा नाम निस्केको थियो।
एक हप्तापछि हुने अन्र्तवार्ताका लागि चन्द्रमणि अधिकारी तयारी गर्दै थिए।
लागेको थियो, ढिला भए पनि आफूले पढेको ज्ञान–सिप अनुसारकोे पदमा रही काम गर्न पाइने छ। योग्यता अनुसारको जिम्मेवारी पाउन अन्र्तवार्तामा सफल हुन उनले मिहिनेत पनि थालेका थिए।
उनको सपना धेरै समय टिक्न पाएन। लोकसेवाले एक हप्ता बाँकी छँदै सूचना नै नदिई उनका दुवै परीक्षा रद्ध भएको सूचना प्रकाशित गर्यो। उनको जीवनको त्यो घटना जागिरे जीवनमा अघि बढ्न रोकावट मात्र भएन, उनले सबैभन्दा पारदर्शी ठानेको लोकसेवा आयोग प्रतिको धारणा नै बदलियो।
तनहुँ माग्देका चन्द्रमणि अधिकारी २०३१ सालमा एसएलसी सकेपछि सामान्य चिकित्सा विषयमा प्रमाणपत्र तह पढ्न त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम महाराजगञ्जमा भर्ना भए।
अधिकारी अध्यनन सकेकै वर्ष २०३६ साल असोज १६ गते नेपाल सरकारमा प्रवेश गरे। राजपत्र अनंकित प्राविधिक प्रथम तहबाट हेल्थ असिस्टेन्ट पदबाट उनले गोरखा लिगलिगको बडडाँडा स्वास्थ्य चौकीमा जिम्मेवारी पाए ।
उनीसँगै आइओएम पढेका साथी अहिले नेपाल सरकारको ९, १०औँ पदमा कार्यरत छन्। कोही सहसचिव भइसके।
उनले ०५१ सालमा जनस्वास्थ्य अधिकृतका लागि लोकसेवाको परीक्षा दिए। लिखितमा नाम निस्क्यो। अन्तर्वार्तामा नाम निस्केन।
सँगै पढेका र सँगै सरकारी सेवामा प्रवेश गरेका उनका साथी माथिल्लो पदमा पुगिसक्दा उनी भने राज्यबाटै न्याय नपाएको बताउँछन्।
पटकपटक लोकसेवाको परीक्षामा सामेल भई लिखितमा उत्तीर्ण भए पनि कुनै समय अन्तर्वार्ता दिन पाएनन्, कहिले अन्र्तवार्तामै असफल भए। कुनै समय न्यायालयबाटै न्याय पाएनन्।
जब ०५१ सालको लोकसेवामा असफल भए। उनलाई लाग्यो, त्यति पढेर मात्र हँुदैन। उच्च अध्ययन गर्नुपर्छ। पुनः आइओएममै बिपिएच पढ्न भर्ना भए। ०५४ सालमा बिपिएच उत्तीर्ण भए।
संयोग पनि कहिले आफ्नो विपरीत भइदिन्छ। उनी बिपिएच उत्तीर्ण त भए तर त्यही ०५४ सालमै सरकारले स्वास्थ्यका कर्मचारीलाई निजामति सेवाबाट स्वास्थ्य सेवातर्फ राख्यो।
उनी पहिले नै हेल्थ असिस्टेन्ट थिए। ‘हामीलाई छैठौं तहमा लग्यो। र लोकसेवा परीक्षा दिन नपाउने बनायो, मैले बिपिएच त पढे तर परीक्षा दिन पाइनँ,’ उनले विगत सम्झिए।
छैटौँ तह नाम मात्रको थियो, तर काम दिएको थिएन। ०६० सालमा फेरि लोकसेवाले जनस्वास्थ्य निरीक्षण पदको लागि विज्ञापन निकाल्यो। आफ्नो योग्यता अनुसारको विज्ञापन आएपछि उनले फारम भर्ने सोच बनाए।
जुन पदमा लागि विज्ञापन मागिएको थियो। पदका हिसाबले उनी सोही पदमा थिए। तर जिम्मेवारी पद अनुसार दिइएको थिएन।
उनी परीक्षा उत्तीर्ण भई जिम्मेवारी पाएर काम गर्न चाहन्थे। ‘नाम र काम दुवै पाएको भए कसले पो दुःख गथ्र्यो र? खर्च गरीगरी,’ उनी भन्छन्।
उनले लोकसेवा आयोगमै गएर आफू परीक्षा दिन योग्य रहे÷नरहेको बुझे। आयोगले परीक्षा दिन मिल्ने बतायो। उनले आन्तरिक र खुला दुवैमा परीक्षा दिए। लिखितमा दुवैमा नाम निस्क्यो।
एक हप्ता बाँकी थियो अन्र्तवार्ता तयारी गर्दै थिए। तर त्यही बेला लोकसेवाले उनको परीक्षा रद्ध भएको सूचना प्रकाशित ग¥यो। लोकसेवाले समान पदमा काम गरेको भनेर परीक्षा रद्ध भएको सूचना निकालेको थियो। बिना सूचना दुवै परीक्षा रद्ध सूचना नै थिएन। उनी अहिले पनि आफूले सफाइको मौका नपाएको गुनासो गर्छन्।
आयोगको धोकाविरुद्ध उनी अदालत पुगे। कि पदस्थापना होस्, होइन भने आफूले लोकसेवा दिन पाउनुपर्यो भन्ने माग गरी उनले सर्वोच्च अदालतमा रिट दिएका थिए।
सर्वोच्चले निज कार्यरत तह र पद एउटै रहेकोमा समस्या छैन तर चित्त नबुझे फेरि रिट दिनु भनेर निर्णय गर्यो।
सर्वोच्चको यो निर्णयले उनमा नराम्रो प्रभाव परेको छ। ‘न्याय निरुपण एकै पटकमा हुनुपर्छ, किस्ताबन्दीमा होइन। फेरि चाहिए फेरि आउनु भनेर काइते निर्णय गर्नुहुन्थेन,’ उनीले दुखेसो पोखे।
‘लोकसेवाको फारम भर्दा नै जनस्वास्थ्य निरीक्षककै रुपमा कार्यरत रहेको भनेर हाकिमबाट प्रमाणित गरी खुलाएर मात्र फारम भरेको थिएँ मैले, उनले भने। तर लोकसेवा आयोगले पहिले परीक्षा दिन पाउने भनेर पछि परीक्षा रद्ध गरेको उनले गुनासो गरे।
‘लोकसेवा आयोगले आफूले ढाँट्ने काम ग¥यो तर ढाँटेको आरोप लगायो। त्यही कुरा सर्वोच्चले बुझ्दै नबुझी निर्णय सुनायो, मैले झुट बोलेको हो÷होइन भन्नेसम्म हेरेन,’ उनले गुनासो गरे।
झन्डै ४० वर्ष स्वास्थ्य सेवा गरेका अधिकारी भन्छन्, ‘४० वर्षको सरकारी सेवामा मेरो हैसियत ०३६ सालमा जे थियो, अहिले पनि त्यही छ।’
पढेर सरकारी जागिर खाने र उच्च पदमा पुग्ने सबैको इच्छा हुन्छ।
पटकपटक आफू असफल हुँदा ठगिँदा पनि उनी विचलित भएनन्। उनले देशका विभिन्न दुर्गम जिल्लामा १५ वर्ष सेवा गरे। त्यो बेला उनले स्वास्थ्य सेवा विभाग, मन्त्रालयका ठूला व्यक्तिलाई चिन्न पाएनन्।
योग्यता अनुसारको पदस्थापना त पाएनन्, एक स्वास्थ्य कर्मचारीको रुपमा भने सधैं सेवा गरिरहेका छन्। यही असाेजमा उनी अवकाश हुँदैछन्।
पटकपटक उनको पदस्थापनको विषयमा मन्त्रालयमा समेत चर्चा भयो। तर कार्यान्वयन भएन। उनीसँगै आइओएम पढ्दाका ‘रुम मेट’ महेन्द्रप्रसाद श्रेष्ठ अहिले स्वास्थ्य मन्त्रालयको सहसचिव तथा प्रवक्ता छन्। अन्य साथीहरु १०, ११औँ तहमा कार्यरत छन्।
‘सँगैको उमेर, एउटै योग्यदा हुँदाहँुदै पनि विभिन्न परिबन्धले अरु साथीभन्दा पछि पर्दा मन दुख्छ,’ उनी भन्छन्।
उनले यो परिस्थिति स्वीकार गरिसकेका छन्। भन्छन्, ‘अहिले जहाँ हुनुपर्ने हो, त्यहाँ छैन। तर, यो असफलतालाई कमजोरी हुन दिएको छैन। मेरो त नामै अविचल आस्था ‘मणि’।’
अविचल आस्था ‘मणि’ उनको साहित्यिक नाम हो। मनमा लागेका कुरा, मनमा उठ्ने भावनालाई उनी शब्दमा उर्ताछन्।
उनका चार कृति त प्रकाशित नै भइसकेका छन्। आस्थाका आयामहरु (कविता संग्रह) शुभद्रा, आमा, अञ्जु र छौ सिर्जना शाश्वत खण्डकाव्य प्रकाशित कृति हुन्।
चन्द्रमणि अधिकारी एउटा उदाहरण मात्र हुन्। धेरैलाई उनको घटना सामान्य लाग्न सक्छ। तर ठूलो लगानी गरेर अध्ययन गर्ने र सेवा गर्ने समयमा योग्यता अनुसार सेवा गर्न नपाउँदाको पीडा धेरैले भोगिरहेका छन्। लोकसेवा जस्ता संस्थाले गर्ने आलोकाँचो व्यवहारले धेरै चन्द्रमणिको भविष्य अघि बढ्नबाट रोकिन सक्छ।