करिब एक दशकदेखि बलिउडमा सक्रिय अभिनेता जोन अब्राहम शानदार बडी भएका फिट अभिनेतामा गनिन्छन् । वर्कआउट गर्नेबाहेक फिट र बोल्ड ज्यानका लगि उनले 'भेजिटेरियन डाइट' लिने गरेका छन् ।
वर्कआउटका क्रममा जोन बाइ सेप्सका लागि विशेष मेहनत गर्छन् । वर्कआउटपछि ज्यानलाई सामान्य अवस्थामा ल्याउन उनी २०–२५ मिनेट दौडिने गर्छन् ।
उनी आफू भेजेटेरियन भएको बताउँछन् । मासु कहिल्यै सेवन गर्दैनन् । तर, माछा र अन्डा भने खान्छन् । उनको दाबी छ, ‘अन्डा र माछा भेज परिकार अन्तर्गत नै पर्छन्।’
उनी सानोमा अन्डा र माछा पनि खाँदैनथे । तर, जब बडी बनाउनुपर्ने भयो, त्यसका लागि प्रोटिन अनिवार्य पर्यो । त्यसपछि उनले सुरुमा अन्डा भेजको सूचीमा राखेर खान थाले । त्यसपछि माछा थपियो ।
उनको खानामा अहिले दिनमा ९ देखि १० अन्डा अनिवार्य हुन्छ भने माछा कहिलेकाहिँ मात्रै खान्छन्।
उनी चिल्लो कम भएको प्रोटिनयुक्त खानामा विशेष जोड दिन्छन् । हरेक दिन दुई सय ग्राम प्रोटिन अनिवार्यरूपमा लिन्छन् । यसबाहेक दही, हरियो सागसब्जी र पास्ता खान पाउँदा उनी मक्ख पर्छन् । बेलुका छ बजेपछि जोन कार्बोहाइड्रेडजन्य खाना लिँदैनन् । राति नौ बजेअघि नै उनी रातिको खाना खाइसक्छन् ।