सामान्यतया दशैं सधैं उस्तै तरिकाले बित्छ। अस्पतालमा डेंगुका बिरामीको चाप बढेकोले छुट्टी बस्न सक्ने अवस्था यसवर्षको दशैंमा पनि देखेको छैन। अस्पताल निर्देशकका रुपमा काम गरेको तीन वर्षमा कुनैपनि दशैंमा छ्ट्टी बसिएको छैन। अहिले डेंगुका बिरामी बढेका छन् । त्यसैले २४ घन्टा नै ड्युटीमा खटिनुपर्ने स्थिति छ।
डेंगु, ज्वरोलगायत सरुवा रोगका बिरामीले अस्पताल भरिभराउ नै छ । अहिले पनि ३२/३५ जना बिरामीलाई हामीले भर्ना गरेर नै सेवा दिइरहेका छौं। बिरामीले अस्पतालले भरिभराउ भएको यो स्थितिमा चाहना हुँदाहुँदै पनि पुर्ख्यौली थलो चितवन नजाने निधो गरेको छु।
दशैं बिदाका ५ दिन ओपिडी सेवा बन्द हुँदा सबै सेवा आकस्मिकबाट नै दिनुपर्ने भएकोले दशैंको बेला आकस्मिक सेवा लिने बिरामी संख्या बढ्ने आंकलन गर्न सकिन्छ ।
मेडिकल अफिसरका रुपमा जिल्लामा काम गरिरहँदा पालो मिलाएर छ्ट्टी लिने गरिन्थ्यो। स्वास्थ्यकर्मीहरुले दशैंतिहार जे भएपनि पूर्ण रुपमा छुट्टी बस्न भने पाउँदैनन्।
विगतमा पर्वत जिल्ला अस्पतालमा कार्यरत हुँदा पनि २४ सै घन्टा बिरामीको हेरचाहमा खट्नुपर्ने हुन्थ्यो। चाडपर्वमा बिदा लिएर दशैं मनाएको सम्झना निकै कम छन्।

टिका लगाउन जाँदा जब बाटोबाटै फर्किनुपर्यो
पर्वत जिल्ला अस्पतालमा नै कार्यत हुँदा दशैंको बेला टिका लगाउनका लागि पर्वतबाट चितवन हिँड्दै थिएँ। आकस्मिक पोस्टमार्टम गर्नुपर्ने आएकोले फर्किनुपरेको थियो। चिकित्सकका रुपमा करिब दुईदशक बिताउँदा टिका लगाउन मात्रै घर जाँदै गर्दा फर्किनुपरेको धेरै घटनाहरु छन् ।
कान्ति बाल अस्पतालमा कार्यरत दशैंको तथा चाडपर्वको बेला जिल्लाबाट धेरै बिरामी रेफर भएर आउँदा चाडपर्वको बेला झनै ड्युटी टाइट हुन्थ्यो।
प्राविधिक तथा अत्यावश्यकलाई मात्र बिदा
हामीले दशैं बिदामा पनि २४ सैं घन्टा ड्युटी राखेका छौं । प्राविधिक तथा घर जान अत्यावश्यकलाई मात्रै बिदा दिइएको छ।
घर नजिकै भएकाहरुलाई धेरै समय ड्युटी दिएर व्यवस्थापन गरिएको छ । बाढीपहिरोका कारण संक्रामक रोगको जोखिम बढ्ने खतराका कारण हामी सतर्क भइरहेको छौं।
व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको व्यक्तिको भएकोले पनि आवश्यक हुँदा २४ सैं अस्पतालमा उपलब्ध हुनेछु।
चिकित्सकका रुपमा काम सुरु गरेको सुरुवातका दिनहरुमा निजी क्लिनिकहरुमा काम हुने भएकोले तीन दिनको छुट्टी हुन्थ्यो।
बाढीपहिरोका कारण पानीका स्रोतहरु दूषित भएकाले पानीबाट सर्ने रोगहरु झाडापखाला तथा हैजाजस्ता रोगको जोखिम बढेको छ । त्यस्तै डेंगु संक्रमण हालसम्म पनि घटेको अवस्था छैन । त्यसैले सावधानीपूर्वक चाडपर्व मनाउन मेरो अनुरोध पनि छ।
(कुरााकानीमा आधारित)