परिसरभरि सुविधासम्पन्न भवन छन्। मुटु, आँखाजस्ता सेवाका लागि छुट्टै केन्द्र नै बनिसके। प्रसूति, बालरोग र नाक, कान, घाँटीका विभाग छुट्टै भवनमा सुविधासम्पन्न रूपमा चलिरहेका छन्। मिर्गौला रोगका लागि अत्याधुनिक सेवासमेत सुरु भइसकेको छ। नयाँ विशेषज्ञ सेवा थपिने र थपिइरहेका समाचार नियमितजस्तो बाहिर आइरहेका हुन्छन्। बिरामीको चाप थेगिनसक्नु छ।
नेपालमा सरकारी अस्पतालका एकपछि अर्को बेथिति र अस्तव्यस्तताका खबर आइरहेका बेला त्रिवि शिक्षण अस्पतालका यी दृश्यले लाग्छ – अस्पताल ‘उत्कृष्टताको नमूना’ (सेन्टर अफ एक्सलेन्स) को बाटोमा छ। उत्कृष्ट जनशक्ति र केही आधुनिक उपकरणका भरमा आम सेवाग्राहीमाझ राम्रो जनरल अस्पतालको छवि बनाएको शिक्षण अस्पताल बाहिरबाट जति राम्रो देखिन्छ र सुनिन्छ, भित्रभित्रै निकै लथालिंग भइसकेको छ।
व्याप्त अनियमिता एवं भ्रष्टाचार, चरम राजनीतिकरण, अनुशासनहीनताजस्ता कारण यो अस्पताल भित्रभित्रै खोक्रिँदै गएको छ। अस्पताल व्यवस्थापनमा माहिर मानिएका चिकित्सक डा.भगवान कोइरालाले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेपछि राम्रा सुधारका संकेत देखिएपनि कोइरालाको बहिर्गमनपछि अस्पताल पूरानै दुर्दशामा फर्कने संकेत देख्न थालिसकिएको छ।
वर्षौदेखि अस्पतालमा फैलिएको विकृतिको जालो चिर्ने प्रयास गर्दा कोइराला स्वयम्ले ठूलो आक्रमणसमेत खेप्नुपरेको थियो। तर पनि थला परिसकेको अस्पताललाई उकास्ने मार्गमा पु¥याउने डा.कोइरालाको राजीनामा स्वीकृत गरेर त्रिवि पदाधिकारीले पुनः शिक्षण अस्पतालको सुधार प्रयासलाई तुहाइदिएका छन्।
करीब १५ महिनायता निस्कृय भएका अस्पताल बिगार्ने माफिया, कमाऊ धन्दामा लागेकाहरू पुनः टाउको उठाउन थालेका छन्। कुनै समय दक्षिण एसियाकै नमूना संस्थाको रुपमा नाम कमाएको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) जस्तै उत्कृष्ट जनशक्ति रहेको संस्थाको रूपमा अहिले पनि शिक्षण अस्पतालमा राम्रो सम्भावना छ। जापान सरकारको सहयोगमा बनेको अस्पतालमा सुरुमा भएकामध्ये सुविधासम्पन्न उपकरण र उत्कृष्ट चिकित्सक भएको छवि अहिले पनि कायमै छ। तर अस्पतालमा विकृति र भ्रष्टाचार यति मौलाएको छ कि यी सबल पक्ष निकम्मा भएका छन्।
चरम राजनीतिक र ओरालोगतिमा रहेको त्रिभुवन विश्वविद्यालयको विकृति आइओएमसम्मै र आइओएमभित्रको विकृति अस्पतालसम्म छिरेको छ। अस्पतालमा काम गरेवापत् ५० प्रतिशत अतिरिक्त भत्ता हुनु, कमिसन लिने थुपै ठाउँ हुनु र अस्पतालमा कार्यरत कर्मचारीले उपचारमा विशेष छुट पाउने प्राबधानसमेत रहेकाले आइओएमलाई ‘त्रिविको भन्सार’ को रुपमा लिइन्छ। यही कारण अस्पतालमा सरुवा भएर आउन मरिमेट्ने व्यक्ति अस्पताल छिरिसकेपछि कुनै हालमा पनि त्रिवि नफर्कने प्रवृत्ति चरम विकृतिको रुपमा देखिएको छ।
अस्पताल छिरेपछि पनि कामभन्दा कुनै दलनिकटको युनियनमा आबद्ध भएर राजनीति गर्ने, कमाऊधन्दामा मात्र लाग्ने तर काम नगर्ने प्रवृत्ति महारोगका रुपमा फैलिएको छ। डा.कोइरालाले संस्थाभित्रका केही विकृति हटाउन र घटाउन सकेपनि राजनीतिको आडमा काम नगर्ने कर्मचारीलाई भने त्रिवि फर्काउन सकेनन्।
अस्पताल आफैँले पनि डा.महेश खकुरेलजस्ता इमान्दार र डा.कोइरालाजस्ता कुशल व्यवस्थापक कार्यकारी निर्देशक पाउँदा केही सुधारको संकेत देखिएको बाहेक शिक्षण अस्पतालले सबल नेतृत्व पाउँन नसकेको अनुभवी चिकित्सकहरू बताउँछन्। शैक्षिक कार्यक्रम भएका कारण आइओएमको डिन फराकिलो कार्यदायरा भएको पद मानिए पनि शिक्षण अस्पतालको निर्देशक निकै चुनौतिपूर्ण मानिन्छ। २०६७ सालमा गठित शिक्षा मन्त्रालयको एक उच्चस्तरीय समितिले समेत राज्य कोषको रकम लिइखाई उच्च ओहोदा ओगटेर बसेका पदाधिकारीले शिक्षण अस्पतालमा भइरहेको यस्तो अराजक गतिविधिलाई महत्व नदिनाले यो समस्याले विकराल रुपमा लिएको औँल्याएको थियो।
नेपालमै स्वास्थ्यसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना भएपनि आइओएमको छुट्टै शिक्षण अस्पताल थिएन। तर त्यसको आवश्यकता महसुस भइरहेको थियो। २०४० सालमा तत्कालिन राजा वीरेन्द्रको आग्रहमा जापान सरकारले शिक्षण अस्पताल बनाइदिएको थियो।
सुरुमा दक्ष चिकित्सक तथा जापान सरकारबाट प्राप्त अत्याधुनिक मेशिनका कारण अस्पतालप्रतिको विश्वास बढ्दै गएको थियो। करीब एकदशक यता नै शिक्षण अस्पतालको ओरालो यात्रा सुरु भएको थियो। त्यसमा पनि त्रिविको हस्तक्षेप वृद्धिसंगै अस्पतालमा विकृति छिर्दै गएको जानकारहरू बताउँछन्। विशेषगरी आइओएमबाटै त्रिवि उपकूलपति बनेका पूर्व कार्यकारी निर्देशक डा.गोविन्द शर्माको समयदेखि अस्पताल सम्हाल्नै नसक्ने गरी अस्तव्यस्त बनेको जानकारहरू बताउँछन्।
इमान्दार र स्वच्छ छविका निर्देशकमा चिनिने डा.महेश खकुरेलले पनि भौतिक सुधारतर्फ थुपै काम गरे। तर पनि उनको प्रयासले मात्रै संस्थालाई ट्रयाकमा ल्याउन सकेन। वर्षौदेखि समस्या थुप्रिएको अस्पताल डा.केपी सिंहको समयमा पुग्दासम्म चरम समस्यामा जेलिइसकेको थियो।
तत्कालिन डिन डा.अरुण सायमीले पनि पदाधिकारी समूहबाट समेत सहयोग पाउन नसकेपछि समस्या समाधानतिरभन्दा भाग्नतिर लागेको जानकारहरू बताउँछन्। एमाले कोटामा आएका डा.सायमीले डा.सिंहलाई असहयोग गरेर अस्पतालमा जथाभावी नियुक्ती र खरिदमा समेत ठूलो आर्थिक चलखेल गरेको शिक्षा मन्त्रालयका पूर्व सचिव जयराम गिरी संयोजकत्वको उच्चस्तरीय समिति प्रतिवेदनलेसमेत औल्याएको थियो।
अधिकांश समय आफैँ अस्पतालमा नबस्ने र मदिराको नशामा अस्पताल आउने सिंहले विकृति रोक्न नसक्दा अस्पताल झन् थला परेको थियो। उनको कार्यकाल सकिने समयमा अस्पतालको घाटा ६४ करोड हाराहारीमा पुग्यो। अस्पतालको अडिट रोकियो, कवाडी सामानको चाङ लाग्यो। कार्यकारी निर्देशक नै बेपर्वाह भएपछि अस्पतालमा अनुशासनहीनता बढ्दै गयो। अस्पताल आसपासमा खोलिएका निजी अस्पताल र खुलेआम ती अस्पताल धाउनेहरू मोटाउँदै गए, तर अस्पताल कर्मचारीलाई नियमित रुपमा तलबसमेत खुवाउँन नसक्ने अवस्थामा पुग्यो।
आम्दानी हुने ठाउँमै लापरवाही
अस्पताल आर्थिक रुपमा जर्जर स्थितिमा पुग्नुको पछाडी व्याप्त अनियमितता र चुहावट भएको स्पष्ट रुपमा उल्लेख गरेको थियो, उच्चस्तरीय समितिले। अस्पतालको आम्दानीका प्रमुख स्रोत प्रयोगशाला, फार्मेसी र रेडियोलोजी विभागमा सेवा विस्तार, खर्च र आम्दानीको व्यवस्थापनमा ध्यान नदिने प्रवृत्ति व्याप्त छ।
पछिल्लो समयमा सुधार गरेको जस पाएका निर्देशक कोइरालाले यी पक्षमा सामान्य सुधारेर अस्पतालको मासिक आम्दानीलाई तीन करोडबाट बढाएर झण्डै साडे पाँच करोड पु¥याए। अझै ती विभागको बेथिति उस्तै छ। इमान्दार चिकित्सक मानिने डा.रामकुमार घिमिरेले नेतृत्व गरेको रेडियोलोजी विभागमा पछिल्ला दिनमा उपकरण थपिएपछि सेवा दर र दायरा बढेपछि आम्दानीसमेत बढेको छ। तर त्यो पनि पर्याप्त नभएको चिकित्सकहरु बताउँछन्। अस्पतालको औषधि खरिदमा अनियमितता गर्ने गरिएको भन्ने गिरी समितिको प्रतिवेदनले औँल्याएपनि हालसम्म त्यसको छानबिनसमेत हुने गरेको छैन।
वर्षौदेखि अस्पतालमा कार्यरत प्राविधिक र चिकित्सकको पनि कमाउने ठाउँ बनेको छ –प्रयोगशाला र फार्मेसी। एक वर्षयता प्रयोगशाला र फार्मेसीको आम्दानी बढेपनि बाहिरका नमूना ल्याएर अस्पतालमा परीक्षण गरेर लैजानेदेखि महत्वपूर्ण परीक्षणहरू चिकित्सककै सिफारिसमा निजी अस्पताल र प्रयोगशाला पु¥याउने प्रवृत्ति ठूलो समस्या बनेको छ।
३० वर्ष पूराना उपकरण र मनलाग्दी गर्न पल्किएका कर्मचारीले धानेको रेडियोलोजी विभागमा पछिल्ला दिनमा राम्रा उपकरण थपिने क्रम छ। केही सेवा विस्तार पनि भएको छ। तर यो विभाग लामो समयसम्म बेथितिको घर बन्यो। आफन्त एवं चिनेजानेकालाई दिइने ‘अफबीट सेवा’, भएका उपकरण बिगार्ने प्रवृत्ति र दिन सकिने अवस्थामा पनि पूर्ण रुपमा सेवा नदिने प्रवृत्तिले यति ठूलो अस्पतालको पनि रेडियोलोजी विभागको आम्दानी पर्याप्त छैन।
गुण्डागर्दीको आड र त्रिवि प्रशासनको संरक्षणमा अस्पतालबाहिर वर्षौदेखि कब्जा जमाएर बसेको ‘हाम्रो फर्मेसी’ हटाइएपनि अस्पताल फार्मेसीको औषधि उपलब्धता अहिले पनि नाजुकै अवस्थामा छ। करीब ६ सय शैयाको यो अस्पतालमा फार्मेसी शाखाको आम्दानी न्यून छ। एक वर्ष यता मासिक ५ हजारको हाराहारीमा रहेको आम्दानी बढेर दैनिक ३० हजार पुगेपनि अझै अस्पताल फार्मेसीमा खोजेका अधिकांश औषधि पाइन्न। प्रसुति सेवाका लागि अत्यावश्यकीय मानिने औषधिसमेत अस्पताल फार्मेसीमा छैनन्। चिकित्सक पनि कमिसनका लागि अस्पताल फार्मेसीमा नपाइने खालका औषधि सिफारिस गर्छन्।
प्रयोगशाला परीक्षणको अवस्था हेर्दा पनि अस्पतालको बेथिति झल्कन्छ। अस्पतालले आकस्मिक, अन्तरंग र बहिरंगगरी दैनिक झण्डै २ हजार ५ सयभन्दा बढी बिरामीलाई सेवा पु¥याइरहेको तथ्यांक छ। सामान्य अवस्थामा पनि दैनिक १ हजारलाई प्रयोगशाला सेवा आवश्यक पर्छ। तर अस्पतालमा दैनिक मुस्किलले अधिकतम ३ सयले मात्रै प्रयोगशाला परीक्षण गराउँछन्। अहिले पनि वरिष्ठ चिकित्सकहरू नै शिक्षण अस्पतालको ल्याब राम्रो छैन भन्दै बानेश्वरको एनआरएल, महाराजगञ्जस्थित एसआरएल डाइग्नोस्टिक, भाटभटेनीस्थित के ल्याबजस्ता प्रयोगशाला पठाउँछन्।
नेपालकै उत्कृष्ट चिकित्सकले भरिएको नमूना अस्पतालमा हुने शल्यक्रियाको संख्या सामान्य निजी अस्पतालको बराबर पनि छैन। ९ बजेदेखि ५ वजेसम्म काम गर्नुपर्ने भएपनि वरिष्ठहरू २ बज्दानबज्दै निजीको शल्यकक्षमा पुग्न हतारो हुन्छ। शल्यक्रियाको संख्या बढाउँदा एकातिर रेजिडेन्टले बढी सिक्ने अवसर पाउनुका साथै बिरामीले निजीको तुलनामा सहुलियतमा सेवा पाउँछन्। त्योसँगै अस्पताल रेडियोलोजी र प्रयोगशालाको आम्दानी पनि बढ्छ। एनेस्थेसियाको जनशक्ति कम भएको बहानामा न्यून शल्यक्रिया हुन्छ। ठूलो रेफरल अस्पताल भएपनि २४ घण्टा ट्रमा ओटी चल्दैन। वरिष्ठ चिकित्सक र नर्ससमेत रात्रिकालिन ड्युटीमा मुस्किलले बस्छन्।
चुहावट नै चुहावट
न्यून गाडी भएको अस्पतालमा यातायातका नाममा हुने खर्च भने वार्षिक ५० लाख रुपियाँभन्दा बढी छ। इन्धन, मर्मतसम्भारअन्तर्गत गाडीका सामान खरिदमा अनियमितता अहिले पनि रोकिएको छैन। कोइरालाको कार्यकालमा यस्तो अनियमितता निकै घटेको थियो।
अपरेशन थिएटरमा प्रयोग हुने सामानको खर्च पनि अपत्यारिलो हुन्छ। ६ सय शैयाको अस्पतालमा किचनको खर्च ७० लाख छ। किचनमा प्रयोगहुने सामग्रीको चोरीदेखि यस्ता सामग्रीको किनमेलमा ठूलो अनियमितता हुने गरेको चिकित्सकहरू बताउँछन्। अस्पतालमा प्रत्येक वर्ष करोडौंको उपकरण खरिद, दैनिक उपभोग्य वस्तु, दैनिक प्रयोग हुने सर्जिकल सामग्री, सेवा तथा बस्तुको खरिदमा पनि चुहावटै–चुहावट भएको जानकारहरू बताउँछन्।
डा. भगवान कोइरालाले कामै नगरी ओभरटाइम लिने प्रवृत्तिमा पनि सुधार गरेका थिए, जुन लामो समय चलेको थियो। ओभरटाइमका नाममा अस्पतालका ‘कामचोर’ हरूले बर्सेनि लाखौँ लिने गरेका थिए। एकेडेमिक इन्ट्रेस्टका नाममा बिरामी भर्ना गर्ने प्रवृत्ति पनि अस्पतालमा ठूलो समस्याको रुपमा देखिएको छ। चिकित्सकहरुले क्लिनकल कोटाको नाममा निजीमा लुटेका बिरामीलाई ल्याएर अस्पतालबाट निःशुल्क सेवा दिने प्रवृत्तिसमेत व्याप्त थियो।
त्यतिमात्रै होइन, सयौंको संख्यामा रहेका काम नभएका कर्मचारीलाई ५० प्रतिशतभन्दा बढी सहुलियत दिएको सोधभर्नासमेत त्रिविले दिएन। अनावश्यक रुपमा राखेका दरवन्दीबाहेकका कर्मचारीलाई तलबमा पनि ठूलो क्षति अस्पतालले बेहोरिरहनुपरेको छ।
२०६७ को उच्चस्तरीय छानविन समितिले पनि शिक्षण अस्पतालका लागि अर्थ मन्त्रालयबाट प्राप्त सात करोड रुपैयाँ अनुदानस्वरुप रकम निकासा भइआएकोमा सो रकमबाट डिजिटल एक्सरे, एमआरआई, सिटी स्क्यान खरिद गर्ने शिक्षण अस्पतालबाट भएको निर्णयअनुसार सामान खरिद गर्नका लागि त्रिवि आर्थिक व्यवस्थापन तथा सञ्चय कोषसम्बन्धी नियम २०५० को परिच्छेद १४ मा भएको व्यवस्थाअनुसार भएको काम कारवाहीमा ठूलो अंकको रकममा आर्थिक अनियमिता भएको औँल्याएको छ।
प्रतिवेदनले शिक्षण अस्पतालमा खासगरी केमिकललगायत विविध प्रंकारका औषधि, बिरामीको खाद्यान्न, लत्ताकपडा, दैनिक प्रयोगमा आउने औजार तथा निर्माणसम्बन्धी समेत ठूलो मात्रामा खरिद वा ठेक्कापट्टाबाट हुने गरेको भन्दै यस्तो खरिद पारदर्शी नभएको औल्याएको थियो।
समितिले सामान खरिद गर्ने सम्बन्धमा प्राविधिक स्पेसिफिकेशन गर्ने नगरेको र यसमा डिन कार्यालयलेसमेत ध्यान नदिएको संकेत गरेको थियो। शिक्षण अस्पतालमा वर्षोदेखि कोटेशनको आधारमा खरिद हुँदा करोडौ चुहावट हुने गरेको छ।
काम गर्ने मान्छे पाइन्न, तलब खुवाउँन धौधौ
अस्पतालमा सुविधासम्पन्न भनिएका विभागमा चिकित्सक एवं प्राविधिक जनशक्तिको अभाव अहिले पनि कायमै छ। तर काम नगर्ने र हल्लिएर खाने कर्मचारी अस्पतालमा यति धेरै छन् कि अस्पताल घाटामा जानुको प्रमुख कारण नै यही हो। सानो अस्पतालले कमाइदिनुपर्ने र त्यसबाट काम नगर्ने कर्मचारीलाई भत्तासहित पोस्नुपर्ने अवस्था छ। अहिले पनि रात्रीकालिन ड्युटी लगाउनु पर्ने, कडा र बढी काम गर्नुपर्ने ठाउँमा मान्छे पाइन्न।
काम नगरी खाने आधाभन्दा बढी कर्मचारी कुनै न कुनै दल र कुनै ठूला नेताको संरक्षणमै त्रिवि भन्सार भनिने अस्पतालमा छिरेका छन्। कडा प्रशासनको छवि बनाएका डा.कोइरालाले केहीलाई जिम्मेवारी फेरबदलसम्म गरेपनि कुनै कर्मचारी हामीलाई चाहिन्न भनेर त्रिविमा फर्काउन सकेनन्। अस्पतालमा हाल कार्यरतमध्ये आधाभन्दा बढी कर्मचारीको काम छैन। तिनैका कारण अस्पताल खर्च बढेको छ भने अस्पतालमा सेवाको वातावरण ध्वस्त हुँदैछ। त्यस्ता कर्मचारी चिकित्सक एवं प्राविधिकसँग मिलेर प्रयोगशाला बाहिर पठाउने, बिरामी बेच्नेदेखि, चोरबाटोबाट निःशुल्क सेवा दिलाएर आफूचाहिँ बिरामीबाट असुल्ने काममा समेत लागेका छन्।
अस्पतालमा झण्डै १ हजार ५ सय कर्मचारी कार्यरत छन्। आधाभन्दा बढी दरबन्दीअन्र्तगत छन्। ती कर्मचारीलाई त्रिविले बजेट दिएको छैन। झण्डै १५ करोड त यसैमा खर्च हुने गरेको छ। अनावश्यक कर्मचारी सरूवा गर्नुपर्ने अवस्था भएको थाहा भएर पनि कसैले डेग पनि चलाउन सकेको छैन। त्रिवि न कर्मचारीका लागि पैसा दिन्छ न सरूवा गरिदिन्छ। यतिसम्म कि आइओएमअन्र्तगत पढ्ने विद्यार्थीको छुट्टै शुल्क लिने र निःशुल्क पढाएवापत् अनुदान पाउने कलेजसमेत अस्पतालमा काम गर्ने विद्यार्थीको इन्टर्न भत्ता दिँइदैन। अस्पतालमा आवश्यक नै नपर्ने बेसिक साइन्सका प्राध्यापकसमेत अस्पतालबाटै ५० प्रतिशत भत्ता खान्छन्।
अनुशासन छैन, जवाफदेहीताको अभाव
त्रिवि शिक्षण अस्पतालको नेतृत्वलाई टेरेर आफ्नो भूमिका निर्वाह गर्ने प्रवृत्ति एकदमै न्यून रहेको जानकारहरू बताउँछन्। ‘यो राजैराजाको संस्था हो, यहाँ सबै हाकिम छन्, सबै नेता छन्,’ अस्पतालका एक चिकित्सक भन्छन्, ‘पहुँच– पहुँच भएकालाई कसैले कसैलाई छुन सक्दैनन्,’ वरिष्ठ चिकित्सकदेखि सामान्य कर्मचारीसमेत आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्ने नगर्ने भन्नेमा आफै निर्णयकर्ता बन्छन्। ‘काम गरेपनि, नगरेपनि केही हुन्न,’ एक कर्मचारीले भने।
डा.कोइरालाले यो प्रवृत्तिलाई रोक्ने प्रयास गरेका थिए। तर कोइरालाको बर्हिगमनसँगै यस्ता प्रवृत्ति भएकाहरू पुनः सल्बलाउन थालेका छन्। वरिष्ठहरू अस्पतालको सेवामा र कक्षामा समय दिँदैनन्। अस्पताल आए पनि विभिन्न बैठक, भेला राजनीतिका नाममा समय कटाउनमात्रै शिक्षण अस्पताल आउँछन्। अधिकांशले त अस्पतालनजिकै क्लिनिक राखेका छन्।
गिरीसमितिको प्रतिवेदनलेसमेत अस्पतालमा कार्यरत प्रोफेसर, रिडर, लेक्चरर, टिचिङ असिस्टेन्ट तथा प्राविधिकहरु समयमा नआउने, अस्पतालको समयमा बाहिरी नर्सिङ होम वा प्राइभेट क्लिनिकमा सेवारत रहने गरेको औँल्याएको थियो।
यतिसम्म कि अस्पतालको यो हालतप्रति एउटै परिसरमा रहने डिन, सहायक डिनदेखि त्रिवि पदाधिकारीले समेत चासो देखाउँदैंनन्। उनीहरुले अस्पतालमा आफ्ना मान्छे सरूवा, उपकरण खरिद र विभाग एवं फ्याकल्टी बढाउनेजस्ता स्वार्थसहितका कुरामा चासो दिनेबाहेक अन्य सेवातर्फ चासो दिँदैनन्।
गिरी समितिले पनि २०६६ सालमा १९ दिनसम्म बन्द हुने अवस्था आउँदा तत्कालीन रूपमा प्रवेश परीक्षा सञ्चालनमा अनियमिता भयो भन्ने विवाद देखिएपनि विवादका कारण अस्पताल लामो समयदेखि मानवीय तथा आर्थिक स्रोत साधनको परिचालन अस्तव्यस्तता एवं अराजक गतिविधि भएका कारण पनि यो स्थिति सृजना भएको निष्कर्ष निकालेको थयो। ‘अस्पतालको मानवीय र आर्थिक स्रोत परिचालनमा लामो समयदेखि अस्तव्यस्त एवं अराजक गतिविधि भएका कारण पनि यो परिस्थिति सृजना भएको हो। तर जिम्मेवार पदाधिकारी कुनै सरोकार र चासो राखेको पाइन्न।’ प्रतिवेदनले औँल्याएको छ।
संस्थानको डिन कार्यालय, महाराजगञ्ज चिकित्सा क्याम्पस र शिक्षण अस्पताल एकआपसमा अलग–अलग झैँ विधि व्यवहारगरी आपसी समन्वयको अभावका कारण नै समस्या जटिल भएको समितिको ठहर थियो।
तलब टिचिङमा काम निजीमा
‘चिकित्सक तथा प्राविधिकहरू ड्युटी समयमा निजी क्लिनिक तथा अन्य अस्पतालमा मनोमानी ढंगले जाने र अस्पताललाई आफ्नो स्वार्थसिद्धिको थलो मात्रै बनाउने प्रवृत्ति हावी भएको देखियो।’ प्रतिवेदनले औँल्याएको थियो, ‘डाक्टरहरू अस्पतालमा ड्युटीमा नबसी अन्यन्त्र निजी क्लिनिक वा अस्पतालमा जाने, क्याम्पसलाई उपयोग गरी व्यक्तिगत फाइदा मात्रै लिने गर्छन्।’
निश्चित कार्य गर्न तोकिएका शिक्षकमध्ये केही केवल भत्ता खानका लागि मात्रै अस्पताल पुग्ने क्रियाकलापले सिंगो अस्पताल क्याम्पस वा चिकित्साशास्त्र अध्ययन संस्थान नै बदनाम हुन पुगेको समेत समितिले औँल्याएको थियो। तर त्यसतर्फ हालसम्म कुनै छानविन र कारवाही नहुँदा यो अवस्था फैलिँदो क्रममा छ।
अस्पतालभन्दा बढी निजी क्लिनिकमा धाउने चिकित्सकमा पदाधिकारी हुने चर्चामा बढी आउने डा.शशी शर्मा, डा.करवीरनाथ योगी, डा.प्रेम ज्ञवाली, डा.डिएन शाहदेखि हालका डिन राकेश श्रीवास्तवसमेत पर्छन्।
त्यतिमात्रै होइन डा.रतिन्द्र श्रेष्ठ, डा.धर्मकान्त बाँस्कोटा, डा. दिनेशविनोद पोखरेल, डा.रामेश्वर पोखरेल, डा.प्रेम खड्का, डा.गुणकुमार श्रेष्ठ, डा.सुशील शिल्पकार, डा. विकास दली, डा. सरोज वझा, डा.ज्योति शर्मा, डा.निलम प्रधान, डा.प्रदीप ज्ञवाली, डेन्टलका डा.बसन्त श्रेष्ठ, डा.निजर बमजस्ता चिकित्सक बिरामी नहेर्ने मात्रै होइन प्रयोगशाला, रेडियोलोजी र शल्यक्रियाका लागि समेत शिक्षणबाट बिरामी चोर्ने चिकित्सकमा पर्छन्। यिनै डाक्टरहरू नै अस्पतालमा क्लिनिकको प्रचार गरेर बस्छन्। डा. पोखरेल, डा.श्रेष्ठ डा.ज्योति डा.शर्मा, डा.खड्का र डा.प्रेम ज्ञवाली यो मामिलामा सबैभन्दा बदनाम छन्। यी चिकित्सक आफूमात्रै होइन् आफूअन्र्तगतका रेजिडेन्टलाईसमेत बिरामी क्लिनिकमा पठाउँन लगाउँछन्।
यी चिकित्सकको सम्बन्ध आइओएमनजिकैको मेरिडियन अस्पताल, इशान नर्सिङ होम, अन्तर्राष्ट्रिय बाल मैत्री अस्पताल, ग्रीनसिटी अस्पताल, अनमोल अस्पताल, ओम अस्पताल, विपी स्मृति अस्पताल र लाइफकेयरसम्म जोडिएको छ। जानकारहरूका अनुसार धेरै प्राध्यापक भएर पनि कम प्रभावकारी देखिएको शिक्षण अस्पतालका विभागमा मेडिसिन र गाइनो हुन्। फ्याकल्टीसमेत रहेका यस्ता चिकित्सकले समय नदिने, वार्ड र ओपिडीमा समेत कमै देखापर्दा रेजिडेन्टले अल्छी गर्ने प्रवृत्तिले सेवामा ठूलो असर गरेको छ। सेवामा रहेका विकृत्तिमध्ये अस्पतालमा समयमा नबस्ने, सामान चोरी गर्ने, बेड खाली भएपनि छैन भन्दै निजीमा रेफर गर्नेजस्ता प्रवृत्तिमा पनि अधिकांश यी चिकित्सक हिस्सेदार छन्।
जीर्ण उपकरण
समितिले समेत शिक्षण अस्पतालमा जडान भएका वा प्रयोगमा रहेका औजार पूराना तथा जीर्ण अवस्थामा छन्। अस्पतालको प्रयोगमा रहेका पूराना वा जीर्ण भइसकेका औजार तथा सामग्रीको पहाड नै बनिसकेको भएपनि यसलाई लिलाम, बिक्री वा व्यवस्थित गर्नेतर्फ विश्वविद्यालयको ध्यान पुग्न सकेको छैन। पछिल्ला दिनमा भगवान कोइरालाको पहलमा केही आधुनिक उपकरण अस्पतालमा भित्रिएपनि अधिकांश विभागमा रहेका उपकरणको अवस्था उस्तै छ। महङ्गा तथा नयाँ औजार खरिद गर्न उत्साही झै देखिने विश्वविद्यालय वा यसका पदाधिकारीले पूराना थोत्रा उपकरण व्यवस्थित गर्न भने चासो नलिने गरेको पाइन्छ।
अझै भरोसाको केन्द्र
सेवाको हिसाबले बिग्रिएको भएपनि अझैं पनि शिक्षण अस्पताल अन्य सरकारीभन्दा राम्रै जनरल अस्पतालमा पर्छ। त्रिवि शिक्षणमा काम गर्ने रेजिडेन्टले मात्रै काम गरिदिँदा पनि आइओएम शिक्षण अस्पतालमा अन्य निजी अस्पतालमा भन्दा राम्रो सेवा छ। अस्पतालमा केही खराबले राज गरेको देखिएपनि इमान्दार र मिहिनेती चिकित्सक र केही सिक्छु र गर्छु भन्ने भावना भएका विद्यार्थी र रेजिडेन्टको कमी छैन।
विभिन्न चुनौती र राजनीतिक चलखेलका बीच अस्पतालमा छुट्टै केन्द्रको रुपमा विकास भएका मुटु, आँखा, नाक,कान र घाँटी, तथा बालरोग विभाग सेवामा धेरै फड्को मारेको छ। शिक्षण अस्पतालभित्रै रहेका सर्जरी र मेडिसिनतर्फपनि थुपै नयाँ सेवा सुरु भएका छन्। लामो समयदेखि सञ्चालनमा नरहेको भवन सञ्चालनमा आएका छ। चर्मरोग, अर्थोपेडिक्स, बर्थिङ सेन्टर, मेडिसिन सेवा, बालरोग आकस्मिक सेवा, नवजात सेवा थपिएको छ। पहिलोपटक रातो किताबमार्फ्त शिक्षण अस्पताललाई सिधै आर्थिक अनुदान आउन सुरु भएको छ।
पछिल्लो एक वर्षयता अस्पतालमा थुपै नयाँ उपकरण खरिदपछि अस्पतालको रेडियोलोजी, सर्जरी, आइसियु र नेफ्रोलोजी पनि तुलनात्मक रुपमा रामै विभागका रुपमा गनिन्छन्। अस्पतालमा पछिल्ला दिनमा आइसियु सेवा ५७ शैया पुगेको छ। अस्पतालमा निजी फार्मेसी विकास भएको छ।
संस्थान तर्फ नयाँ/नयाँ विषयमा एमडि/एमएससँगै पिएचडीसरहको जनशक्तिको उत्पादन र यसले गर्दा सेवाको दायरामा विस्तार पनि आशाप्रद मानिन्छ। जसले गर्दा विशेषज्ञ जनशक्ति उत्पादनसँगै वरिष्ठको गतिछाडा प्रवृत्तिबीच पनि गुणस्तरीय विशेषज्ञ उपचारको भरोसा गर्ने ठाउँ छ। डुबेको शिक्षण अस्पताललाई डा. भगवान कोइरालाको टिमले आत्मनिर्भरको बाटोसम्म पु¥याएको छ। केही दिनको बन्दले आम्दानी घटेपछि फेरि संकटमा परेको अस्पताल आत्मनिर्भर घोषणा गर्ने तयारी हुँदै थियो।
भगवान बाहिरिएपछिको चिन्ता १५ महिनाको कार्यकालमा थुपै सुधारको संकेत देखाएका पूर्व कार्यकारी निर्देशक डा.भगवान कोइरालाको राजीनामा स्विकृति भएपछि शिक्षण अस्पतालमा पूरानै संकटका दिन दोहोरिने आशंका सुरु भएको छ। डा.कोइरालाको डेपुटी भएर काम गरेका अस्पतालका राम्रा र इमान्दार चिकित्सकमध्येमा पर्ने डा.ईश्वर लोहनीले निमित्तको जिम्मेवारी पाएका छन्। कोइरालासँगै काम गर्दा राम्रो कार्य गरेपनि बढी क्लिनिकल र कम प्रशासनिक डा.लोहनीलाई अस्पतालमा आवश्यक पर्ने कडा अनुशासन कायम राख्ने चुनौती छ। ‘दायाँबायाँ गरेको भेटिनासाथ कारवाही गर्ने र दोषी पाइनासाथ कारवाही गरिहाल्ने कोइरालाको स्वाभाव थियो, त्यसलाई कायम गर्न नसके लोहनीलाई अप्ठेरो छ,’ एक चिकित्सकले भने। अफ द रेकर्ड सेवा रोक्ने, वरिष्ठलाई पनि समयको पालना गर्न बाध्य पार्ने र सेवाको चोरी चकारी रोक्ने चुनौती लोहनीसमक्ष खडा भएको छ।