आँखामा समस्या भएमा औषधिबाहेक चस्मा पनि लगाउनुपर्ने हुन्छ । तर, हरेक अवस्थामा चस्माले मात्र काम गर्दैन। जब चस्माले काम गर्दैैन, त्यसको विकल्पमा आँखाको कर्निया लेन्स लगाउनुपर्ने हुन्छ। त्यसलाई कन्ट्याक्ट लेन्स भनिन्छ । आजकल आँखामा समस्या हुँदा मात्र होइन, राम्रो देखिन र आँखाको सौन्दर्य बढाउनका लागि पनि लेन्सको प्रयोग गर्ने प्रचलन बढेको छ।
आँखालाई अरुको भन्दा आकर्षक देखाउन लेन्स प्रयोग गर्ने युवाहरुको संख्या बढ्दो छ। तर, जुनसुकै अवस्थामा पनि आँखामा लेन्स प्रयोग गर्दा चिकित्सकको सल्लाह बिना प्रयोग गर्नुहुँदैन ।
अहिले बजारमा चिकित्सकसँग सल्लाह नगरी आफूखुसी लेन्स प्रयोग गर्दा विभिन्न समस्याहरु देखिँदै आएको छ । कतिपय अवस्थामा आँखामा लेन्स प्रयोग गर्नै हुन्न । यदि त्यस्तो अवस्थामा लेन्स प्रयोग भएमा झन बढी समस्या हुन्छ ।
कन्ट्याक्ट लेन्स लगाउनेबारे जनमानसमा खासै चेतना छैन । प्रयोग गर्नु पूर्व, प्रयोग गरिरहँदा वा पछि पनि कसरी केयर गर्ने भन्ने थाहा नहुन सक्छ । कन्ट्याक्ट लेन्स पारदर्शी प्लाष्टिकको लेन्स हो । यो चस्माको विकल्पमा प्रयोग गरिन्छ ।
कस्तो आवस्थामा लेन्स प्रयोग गरिन्छ ?
आँखाको नानी चुच्चो हुने समस्या भएमा, दुबै आँखाको पावर एकनाश नभएमा र चस्माको पावर बढी भएमा यसको प्रयोग गरिन्छ। यस्तो अवस्थामा चस्माले काम गर्दैन । यसबेलामा चिकित्सकले लेन्स प्रयोग गर्न सल्लाह दिन्छन्। यसबाहेक आँखाको सुन्दरता बढाउनका लागि पनि प्रयोग हुन्छ । आँखाको नानीमा फुलो परेपछि त्यसलाई ढाक्नका लागि पनि लेन्सको प्रयोग गर्ने गरिन्छ ।
लेन्स लगाउँदा के नगर्ने?
कन्ट्याक्ट लेन्स सम्बन्धित विज्ञको सिफारिसमा मात्रै लगाउनुपर्छ । लगाइसकेपछि सरसफाइमा विशेष ध्यान दिनुपर्छ । राति सुत्ने बेला साबुनपानीले हात धोएर सफा हातले लेन्स निकाल्नुपर्छ । बिर्सेर पनि लेन्स लगाएर सुत्नुहुन्न। दिनभर धुलोमा हिँड्दा चस्मा प्रयोग गर्नुपर्छ। अनि त्यसलाई राम्रोसँग लेन्स किटमा कन्ट्याक्स लेन्स सोलुसनमा डुबाएर राख्नुपर्छ। बिहान फेरि लगाउँदा फेरि सफा हातले लगाउनुपर्छ।
लेन्स राख्ने र झिक्ने विशेष टेक्निक हुन्छ । त्यसैले कन्ट्याक्ट लेन्स विज्ञलाई भेटेर आँखाको साइज, सुक्खापन र एलर्जी जाँचेर मात्र प्रयोग गर्नुपर्छ । विज्ञले लगाउँदा ठीक भयो कि भएन, अक्सिजन पास भएको छ कि छैन भन्ने हेक्का राख्छन्। राम्ररी जाँच गरेर लगाउँदा खासै समस्या आउँदैन तर आफूखुशी बजारमा पाइने कमसल गुणस्तरका लेन्स प्रयोग गर्दा भने समस्या पर्न सक्छ ।
सुन्दर र फरक रङको आँखा देखाउन युवतीहरु बढी आउँछन् भने क्लिनिक कारणले प्रयोग भने बच्चादेखि बुढाबुढीसम्मले लगाउनुपर्ने अवस्था आउन सक्छ ।
सबै अवस्थामा लेन्स लगाउन मिल्दैन । मधुमेहका बिरामी, आँखा धेरै सुख्खा भएका व्यक्ति, आँखाको एलर्जी भएका वा अन्य रोगका बिरामीले लेन्स सकभर लगाउनुहुँदैन।
लेन्स लगाउँदा राम्रो गुणस्तरको लेन्स प्रयोग गर्नुपर्छ । राम्रो गुणस्तरको लेन्स एक वर्षसम्म टिक्छ ।
(कन्ट्याक्ट लेन्स विशेषज्ञ ढुङ्गाना नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा कार्यरत छन्)