काठमाडौं– चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि औषधि खरिदका लागि अस्पताल फार्मेसी पुगेका सुनिल न्यौपानेले औषधि पाएनन्।
त्यसपछि उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आक्रोश व्यक्त गरे। ‘बडो अचम्म छ, मलाई मात्र यस्तो परेको हो कि अरुलाई पनि यस्तै परेको छ ? जब परिवारको कोही बिरामी परेर बीमा वाला अस्पतालमा गयो, डाक्टरले लेखेको अधिकांश औषधि नै पाइन्न अनि बाहिर गएर किन्नुस भन्छन्।’
काठमाडौंको वीर अस्पतालमा उपचारका लागि पुगेकी समिता श्रेष्ठले पनि बीमामा उल्लेख भएको औषधि अस्पताल फार्मेसीमा नपाएको गुनासो गरिन्। फार्मेसीमा लामो लाइन बसेर औषधि लिन खोज्दा औषधि नै छैन भन्ने जवाफ सुनेपछि उनी रिसाइन् पनि।
स्वास्थ्यखबरसँग उनले फार्मेसीतर्फ देखाउँदै भनिन्, ‘महँगा र धेरै जसो औषधिहरु नै अस्पताल फार्मेसीमा छैन। बाहिरका निजीमा जानु भन्छन्। यो तर सरासर बिरामीमाथि अन्याय भयो नि।’ उनले अस्पताल फार्मेसीमा नै सबै औषधिको उपलब्धता गराउन सरकारसँग माग पनि गरिन्।
भरतपुर र वीर अस्पतालमा मात्र होइन स्वास्थ्यखबरले बीमा कार्यक्रम चलेका अन्य सरकारी अस्पतालमा समेत यस विषयमा जानकारी लिएको छ। सो क्रममा सबैजसो अस्पतालमा बीमामा उल्लेख भएका सबै शतप्रतिशत औषधि उपलब्ध थिएनन्।
अस्पतालमा बिरामीको चाप र औषधिको खपतका आधारमा कतिपय औषधिहरु खरिद प्रक्रियामा जाँदा टेण्डर नै नपर्ने हुँदा फार्मेसीमा उपलब्ध नभएका विवरण पनि स्वास्थ्यखबरले फेला पारेको छ भने कतिपय अस्पतालका फार्मेसीले निजी फार्मेसीसँगको मिलेमतोमा केही औषधि भएर पनि छैन भन्ने गरेको तथ्य फेला परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालमा फार्मेसीमा बीमाका सबै औषधिको व्यवस्था गर्न निर्देशन पनि दिएका छन्। तर अझै पनि अस्पतालहरुमा भने महँगा र केही औषधि भने उपलब्ध छैनन्। मन्त्री पौडेलको निर्देशनपछि देशभरका १८ वटा अस्पतालले पठाएको विवरणमा पनि अधिकांश अस्पतालहरुमा बीमाका ७० प्रतिशत हाराहारीमा औषधि उपलब्ध रहेको उल्लेख छ। उनीहरुले केही औषधिहरु टेण्डर प्रक्रियाका क्रममा नपर्ने र न्युट्रास्युटिकल्स जस्ता चिकित्सकले प्रेस्काइब नगर्ने सप्लिमेन्टहरु फार्मेसीमा उपलब्ध नभएका जानकारी दिएका छन्।
अस्पतालमा जटिल प्रकारका बिरामी आउने भएकोले बीमा बाहेक औषधि नलेख्नुपर्ने भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण प्रसाद पौडेल बताउँछन्।
बीमाले समावेश गरेको १२ सयमध्ये करिब २ सय जति आइटमका औषधि टेन्डर प्रक्रियामा नै नपर्ने हुँदा समस्या भएको उनी बताउँछन्। यद्यपि स्वास्थ्य बीमामा समावेश भएका करिब ७० प्रतिशत औषधि अस्पताल फार्मेसीबाट सहजै उपलब्ध हुने उनको दाबी छ।
‘सरकारी अस्पतालमा टेन्डर बिना सिधै औषधि खरिद गर्न पाइँदैन। औषधि कम्पनीले बीमामा भएका सबै औषधि टेन्डरमा नहाल्ने कारण ३० प्रतिशत जति औषधि भने पाइँदैन,’ उनले भने, ‘धेरै प्रयोगमा रहने औषधि पाइए पनि कम चल्ने औषधिहरुको टेन्डर नपरेका कारण समस्या हुने गरेको हो।’
उनले न्युट्रास्युटिकल तथा मल्टी भिटामिन जस्ता औषधिहरु फार्मेसीमा बिक्री नगर्ने नीति रहेका कारण ती सामग्री पनि नपाउने जानकारी दिए।
वीर अस्पतालमा साउनयता औषधिको उपलब्धता बढ्दो क्रममा रहेको बताइएको छ। अस्पतालमा पनि करिब २० प्रकारका औषधि भने टेण्डर प्रक्रियाकै कारण आउन नसकेको फार्मेसीका एक कर्मचारीले जानकारी दिए।
अस्पतालका पूर्व निर्देशक डा सन्तोष पौडेलका अनुसार कतिपय पटके सिफारिसमा परेका औषधिहरु चिकित्सकहरुले प्रेस्काइब गर्दा पनि नपाउने अवस्था आउने गरेका छन्।
‘क्यान्सरको औषधिको हकमा भने कुनै क्यान्सरका औषधि एक समयमात्रै अनुमति लिएर ल्याउनुपर्ने भएकोले औषधि व्यवस्था विभागबाट अनिवार्यरुपमा अनुमति लिनुपर्ने हुन्छ। त्यस्तो अवस्थामा चिकित्सकले सिफारिस गरेका औषधि समेत नपाउने स्थिती हुनसक्छ,’ उनले भने।
स्वास्थ्यमन्त्री प्रदीप पौडले औषधिलाई जेनेरिकमा प्रेस्किप्सन लागि समिति गठान गर्नु स्वागतयोग्य भएको डा पौडैल बताउँछन्। यो व्यवस्था लागु भएमा चिकित्सकले लेखेको निश्चित कम्पनीको औषधि नपाएपनि अन्य कम्पनीका औषधि पाइने हुँदा बिरामीले दुख नपाउनेमा आशावादी रहेको उनले बताए।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजाल ट्रमा सेन्टर सेन्टरमा स्वास्थ्य बीमा सम्बन्धि औषधिमा खासै गुनासो आउने नगरेको बताउँछन्।
‘खरिद प्रक्रिया लगायतका कारण शत प्रतिशत नै त कुनै पनि अस्पतालमा पाइँदैन। उपचारमा आएका बिरामीले अन्त औषधि किन्न जानु नपरोस् भन्ने लक्ष्यका साथ धेरैभन्दा धेरै औषधि उपलब्ध गराउने गरी काम गरिरहेका छौं,’ डा रिजालले भने, ‘बिरामीको प्रकृति अनुसार ९९ प्रतिशत औषधि यहाँ उपलब्ध छ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वास्थ्य बीमामा समावेश भएका सरुवा रोगसम्बन्धी ९० प्रतिशत औषधि उपलब्ध हुने अस्पतालका निर्देशक डा युवानिधी बसौंला बताउँछन्।
‘यो सरुवा रोगको विशिष्टीकृत अस्पताल भएकोले क्यान्सर, मुटु लगायतका रोगको औषधि पाइँदैन, सरुवा रोगको ९० प्रतिशत भन्दा बढी औषधि स्वास्थ्य बीमामार्फत् पाउने स्थिती छ,’ डा बसौलाले भने।
ओषधि नपाउने स्थितीको अन्य गर्नका लागि अझै पनि टेन्डर प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।
‘कतिपय अवस्थामा सरकारी अस्पतालमा टेन्डर नपर्दाे १/२ प्रकारका औषधिमा त्यस्तो गुनासो आउने गरेको हो, नयाँ टेन्डर प्रक्रियाले त्यो अवस्थाको अन्त्य हुनसक्छ,’ उनले भने।
स्वास्थ्य बीमामा मुटु रोग सम्बन्धी समावेश भएका औषधि मनमोहन कार्डियो थोरासिक भास्कलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले बिरामीलाई दिइरहेको सेन्टरका पुर्वनिर्देशक समेत रहेका प्राडा उत्तम श्रेष्ठ बताउँछन्।
‘स्वास्थ्य बीमाको सचीमा रहेका अधिकांश औषधि बिरामीले बाहिर किन्नुपर्ने अवस्था छैन’,उनले भने।
स्वास्थ्य बीमाको सचीमा रहेका औषधि महँगो या सस्तो जनसुकै पनि पाइने उनको दाबी छ।