त्यो दिनको अघिल्लो दिन बेलुका प्रविधिमा जोडिएथ्यौँ आमाछोरी। कान्छी (विजया) ले केही दिनअघि शिक्षा विभागको कार्यक्रममा पर्सा (वीरगन्ज) जाने कुरा गरिथिन्। प्रनी र मायू (प्रनिसा र माइसा) विद्यालयीय दोस्रो त्रैमासिक परीक्षा दिँदै थिए। मैले सोधेँ– ‘नानीहरूको परीक्षा सकिएकै रहेनछ, कहिले फर्किने हो कान्छी !’ उनले भनिन्– ‘एक दिने कार्यक्रम हो, तीन दिनपछि फर्किन्छु, बाबासँग रमेर बस्छन् नानीहरू।’ म नभए पनि केही फरक पर्दैन।’ फेरि सोधेँ मैले– ‘अनि कसरी जाने हो ?’ उत्तर आएथ्यो– ‘कार्यालयको गाडी लिएर जाने हो। चालक सिपालु छन्। प्लेनमा जाने विचारमा थियौँ। हुस्सु र शितलहरले ल्पेन नचलेको तीन दिन भयो रे। साथीहरूले दक्षिणकालीतिरको बाटो छोटो छ त्यतैबाट जान सुझाव दिनुभयो।
हामी तीनजना सम्झना देवकोटा, म, शङ्कर बुढाथोकी र चालक जनक खत्रीसहित सहमत भयौँ।’ त्यतातिरको बाटो ठिकै होला त। बनेपा–बर्दीवास राजमार्गको कोसी र रोसीको गड्तिर २०८१ सालको असोज १२ र १३ गतेको बाढी र पहिरोले सखाप पारेको रहेछ। तिहारपछि संखुवासभाबाट फर्किने क्रममा म त्यही बाटो भएर आएकी थिएँ। क्षति देख्दा सुनेको भन्दा डरलाग्दो गरी चकनाचुर भएको अनुभूत भयो। मेरा कुरा सुनेर कान्छीले भनिथिन्– ‘बाटो राम्रै छ, पाँच घण्टामा पुगिन्छ भन्थे।’ त्यसपछि अरू कुराकानी गरेनौँ हामीले। अन्त्यमा मैले भनेँ– ‘ल ल कान्छी, शुभयात्रा!’
सम्झिन्छु; मैले २०८१ साल पुस २४ गते बुधबार बिहान ५ः३० बजेतिरै हिँड्ने कुरा सुनेपछि अघिल्लो दिन बेलुका ९ः३० तिर शुभयात्रा! भनी फोन राखेथेँ। भोलिपल्ट बेलुकी ५ः३० तिर दुर्घटनाको खबर सुनियो। सामान्य दुर्घटना भयो होला भन्ने ठान्यौँ। तर ... ! घटना झन्डै बिहान आठ बजेतिरै घटेछ। तिमीले ९ः३० तिर फोन गरेर भनेकी थियौ। ‘हामी फर्कियौँ है ममी, उता मौसम राम्रो छैन रे, कार्यालय जाँदै छौँ।’ मैले स्वभाविक ठानेर ए ! हुस्सु र शितलहरले होला नि, ठिकै भयो भनेथेँ। भरे त अन्नपूर्ण न्युरो हस्पिटल माइतीघरमा भर्ना भएको खबर आयो। दुर्घटनाबारे खुल्दुली चल्यो। बिरामीको अवस्थाबारे जानकारी लिन हस्याङफस्याङ गर्दै बुबा र म तयार भयौँ। आत्तिएको अवस्थामा कसैलाई केही नभनी सिधै जयालाई फोन गर्यौँ। सम्पर्क हुन सकेन। झन् आत्तियौँ। केही पछि सम्पर्क भयो। प्रदीप ज्वाइँलाई लिन पठाइछिन्। हामी बेलुका ६ः०० बजे ढोकामा ताल्चा ठोकेर निस्कियौँ।
दिमागमा परेड खेल्न थाले नानाथरी कुराहरू। बाटामा सामान्य कुराकानी भयो। दक्षिणकाली नपुग्दै हात्तीवन छेउ विजयाहरू चढेको शिक्षा विभागको लु १ झ ३४५ नं. को गाडी पल्टिएछ। गुल्टिँदै गएर सय मिटर तल पुगी उत्तिसका बोटमा अल्झिनाले कान्छी बाँच्न सफल भइछन् भन्ने सुनियो। एक्कासी प्रदीप ज्वाइँले भनेको सुनेँ– ‘साँच्चै देउता पुज्ने हो भने मचाहिँ ती दुई उत्तिसका रूखलाई पुज्थेँ।’ यो वाक्य कानमा ठोकिएपछि दुर्घटना जोखिमपूर्ण रहेछ भन्ने ठानी आत्तिँदै सोधेँ। ‘कान्छी जोखिममुक्त छन् नि !’ उत्तर आएथ्यो; घटना हेरी ठिकै छ ! शिक्षा विभागको आफ्नै गाडी वीरगन्ज जाने क्रममा उपत्यकाभित्रै दुर्घटिंत भएछ। १०० मिटर तल पुगेर बडेमानका दुई उत्तिसका बोटको आडमा अड्किँदा पो ज्यान जोगिएछ भन्ने बित्तिकै आङ सिरिङ्ग भयो। मेरो मुख ठप्प भयो। अरू सोधनी गर्न सकिनँ। मलाई शरीरभरि आगोझैँ दर्दनाक झिल्काहरू सल्किएको अनुभूति भयो। कान्छीलाई नछामी निभाउन सकिनँ मैले ! ममा अन्धाधुन्द दुर्घटनासम्बन्धी प्रसङ्गहरू र उत्पन्न असरहरू मडारिए। छिमोल्न खोजेँ। जति छिमोले पनि हाँगाबिँगा बाँकी नै रहे। अन्तरसम्बन्धित उत्पन्न घटनाहरूमा–
प्रसङ्ग १. दुर्घटना र इमरजेन्सी
सुन्दा दुर्घटित ठाउँ भिरालो रहेछ। त्यहाँ फट्याकफुटुक उत्तिसका बोटहरू रहेछन्। गाडी पल्टिने क्रममा उमेरदारी लहलहाउँदो उत्तिसको बोटमा बजारिँदै हाँगा लाछेर अघि जाँदा केही तल पुगेपछि बुढा उत्तिसका दुई बोटमा दुईतिर चक्का अडिएर जीर्ण भएको गाडी अड्किन पुगेछ। अब मान्छेचाहिँ जीवित छैनन्। कोको के अवस्थामा छन् भन्ने खुल्दुली बोकेर ओहोरदोहोर गर्दै गरेका यात्रुहरू दुर्घटना स्थलमा पुगेछन् र पो उद्धार भएछ। धन्न ! कान्छी बाँचेर पो इमरजेन्सी पुगियो त। यति घटना सुनेपछि मेरो मन कहिले भिरालोका उत्तिसघारीमा पुगेर घुम्थ्यो त कहिले इमरजेन्सी वार्ड वरिपरि घुम्न पुग्थ्यो।
यी दुवै कसैका लागि सामान्य पनि होलान् तर मेरा लागि भने वरदान थिए। सम्झिएँ, उत्तिसको काठ फितलो हुन्छ भन्थे, त्यसलाई पनि परिपक्व हुन दिएपछि कति दरो हुँदोरहेछ। अनि अर्को कुरा नेपालको पहाडी क्षेत्रका बाटाघाटा कहालीलाग्दा छन्। सडक सन्जालले गाउँठाउँ जोडिदा छन्। सुरक्षा र सुन्दरताका लागि बाटाका दुवै किनारमा बोटबिरुवा लगाउन सकिन्छ। यसमा पनि भिरपाखामा उत्तिस र डाँडातिर धुपीसल्लो हुर्काउन सके सुनमा सुगन्ध थपिने थियो। मैले झट्ट ‘उत्तिस र गुराँसको बिहे’ भन्ने कथा पढेको पनि सम्झिएँ। डाँडामा गुराँस र पैरो र खोँचतिर उत्तिस। कति परिस्थितिजन्य र प्रेरणादायी छ यो लोककथा।
अर्को महत्वपूर्ण हस्पिटलको इमरजेन्सी वार्ड। जहाँ समयमै पुग्न सकिएमा जीवनदानको सम्भावना धेरै रहन्छ। कान्छीलाई कहाँ कहाँ ठक्कर लाग्यो हो ! टाउको र मेरुदण्ड बचेको भए अरू अङ्ग विस्तारै ठिक हुने थिए। कल्पिदै गर्दा मेरा जीवनसखा डा. मदनप्रसाद सत्यालले भन्नुभयो– ‘जयासँग सम्पर्क भएथ्यो। विजयाको सबै परीक्षण हुँदै छ। देब्रे घुँडाको चाहिँ जतिसक्दो चाँडो अपरेसन गर्नुपर्छ भनेको छ। दाहिने पुर्पुरोमा टुटुल्को उठेको देखिन्छ, आत्तिनु पर्दैन। ठुलो दुर्घटना भइकन बिजु बाँच्न सफल भएकोमा खुसी मान्नुपर्छ।’ यति खबर सुनेपछि मैले सुस्केरा हालेँ। अनि आशाको त्यान्द्रोमा अल्झिएथेँ। एउटै गाडीका अन्यचाहिँ सामान्य घाइते मात्र भएछन्। मैले उनीहरूप्रति सद्भाव व्यक्त गरेँ।
प्रसङ्ग २. पुरुषतन्त्री सामाजिक संरचनाको झझल्को
मैले भोगेको समाज पुरुषतन्त्री समाज हो। विश्व परिवेशलाई केलाउँदा पनि पुरुषकेन्द्रित सामाजिक संरचना नै देखिन्छ। यी संरचनाले के देखाउँछन् भने महिलालाई पुरुष आश्रित बनाइएको छ। पुरुषसत्ता हावी भएर देखिए पनि सन्तानका लागि भने आमा सर्वोच्च हुन्। झन् बाल्यकालीन अवस्थामा आमाले निभाएको भूमिकालाई खै कसरी जोखूँ म। आफ्नै परिवारभित्र नौ महिनामा आमा गुमाउनुपरेकी म र श्रीमती गुमाएको तीन महिनामा अर्को बिहे गरेर घरजम गर्ने मेरा बुबाको कहानी पनि सुनेकै हुँ।
मेरी जेठी ठुलीआमाका छोराकी दुलहीले २५ वर्षको उमेरमा एकल हुन पुगे पनि छोराछोरी सम्हालेर बुढ्यौली प्रवेश गरेको पनि देखेकै हुँ। मेरा कान्छा मामाको हात भाँचिएर समयमा उपचार नहुँदा अरूले इँजार बाँधिदिनुपर्ने अवस्थाकी पिरलो दुईवटी माइजूले भोगेको पनि देखेकै हुँ। सम्झिँदा दुर्घटनासम्बन्धी भोगाइले अटेसमटेस भएर दिमाग तन्किन थाल्यो। विशेष गरेर मलाई कक्षा सातमा अध्ययनरत प्रनी र कक्षा एकमा अध्ययनरत मायूको पढाइसम्बन्धी झझल्को झिलमिलायो। आबुइ ! कार्यक्रममा गएकी आमा इमरजेन्सी पुगेर भर्ना भएको सुन्दा र घाइते अवस्था देख्दा कस्तो मनस्थितिमा पुग्दा हुन् बिचरीहरू ! भनी सम्झिँदै झस्किँदै गर्थेँ म।
हत्तेरी ! कान्छीलाई केही भएको भए नातिनीहरू ओझेलमा पर्थे हुन्। लाउकेलाउकेनीहरू ज्वाइँलाई बिहेको प्रस्ताव लिएर चुमचुमाउँथे हुन्। उमेर छ, नारु ज्वाइँलाई पनि बाध्यतामा के गरौँ, कसो गरौँ हुँदो हो। कथंकदाचित दोस्रो बिहे गर्ने ज्वाइँको इच्छा भएन रे भने पनि नानीहरूलाई ओझेलमा पारेर पुरुषलाई उक्साउँछ मेरो समाजले। अनि त मेरा नातिनीहरूको हालत कहाँबाट कहाँ पुग्दो हो।
प्रसङ्ग ३. कान्छीलाई क्याबिनमा भेट्दा
कल्पिँदै गर्दा हामी चढेको गाडी अन्नपूर्ण न्युरो हस्पिटल पुगेर रोकियो। मैले जीवनसखातिर फर्किएर हेरँे। मौनतामा अनुहार जिल्लिएको थियो। हामी हस्पिटल पस्दै गर्दाको क्षण भुमरीमय थियो। म आशा र निराशा मिश्रित चक्रवातभित्र रुमलिँदै थिएँ। त्यो रुमल्याइँ सम्झिँदा अझै झस्किन्छु म। भ¥याङका सिँढी चढ्दै गर्दा सुन्दै र गुन्दै हुन्थेँ। मेरो ध्यान दुर्घटना र उत्पन्न समस्यातिर मात्र केन्द्रित थियो। कोही गाडीबाट, कोही रूखबाट कोही बाइकबाट, कोही ट्वाइलेट र वाथरुममा त कोही भिरबाट, कोही भान्सा र बरन्डातिर चिप्लिएर लड्दा ठोकिएर नसा र हड्डीको समस्या अनि टाउको र मेरुदण्डमा चोट लागेर प्यारालाइसिससमेत हुन पुगेका घटनाले दिमाग कोतर्न थाल्छन्।
यत्तिकैमा दोस्रो तला उक्लिएर दायाँ मोडिएपछि क्याबिन नं. २०५ मा तनक्क खुट्टा तन्काएर सुतेको अवस्थामा मैले मुटुको टुक्रालाई देखेँ। देख्नासाथ गाला मसार्न पुगेछु र भनेछु– ‘धन्न! बाँचेर फर्कियौ कान्छी!’ क्याबिनमा अरू पनि थिए। सबैको चासो गाडी दुर्घटनातिरै थियो। दुर्घटना सुन्दा, प्रसारित भिडियो र टिकटक हेर्दा अनि कच्याककुचुक भएको गाडीको अवस्था क्रेनले झिकेको देख्दा जानकारी हुनेहरू तर्सिन्थे। दुर्घटित गाडी टोयोटा कम्पनीको थियो। गाडीको ढोका बन्द रहँदा झ्यालबाट तानेर उद्धार गरिएछ। उद्धारकहरूप्रति हामीले आभार प्रकट गर्यौँ। सबैजनामा कान्छी बाँचेर फर्किन सफल भएकोमा भने खुसीयाली छाएथ्यो। म चिन्तनमनन गर्दै हुन्थेँ। अधिकांशलाई आकस्मिक घटनाले त्रसित बनाउँछ। तर मैले भने जानकारीमा आएका दुर्घटनाहरू सम्झिँदै सामान्यीकरण गर्न प्रयास गरेँ। भोलिपल्ट बिहान ७ः०० बजे अपरेसन गर्ने निश्चय भयो। हामी आशा र भरोसाको डोरी समाएर त्यो रात कटाउन विवश थियौँ।
भोलिपल्ट बिहान २५ गते अपरेसन सम्पन्न भयो। देब्रे घुँडाको प्लेट तल झरेकाले त्यसलाई मिलाई चोइटिएको हड्डीले कोतरेर घाउ पारेको ठाउँमा अर्को प्लेट राखेर उक्त हड्डीलाई स्क्रुप कसेर मिलाइएको छ। बाहिरी घाउ हेर्दा घुँडाको माथि २० टाँका र तल ६ टाँका लगाइएको छ। डाक्टरहरूको भनाइ अनुसार घाउ ठुलो नहोस् भनी भित्र प्वाल पारी औजार छिराएर घुँडा पछाडिपट्टि बन्धन कसिएको सुन्नमा आयो। स्थिरताका लागि यो उपचार पद्धति सुनिश्चित छ भन्ने पनि सुनियो। उपचार पद्धति र समयावधि लगभग दुई महिनाको रहने भयो। मेरो पनि २०५४ साल साउनमा छतमा चिप्लिएर दाहिने गोडाका दुवै नलीहाड र गोलीगाँठो चोइटिई खुस्किएकाले उपचारका क्रममा भोगिएका अनुभव सङ्कलित हुँदा अब भने खासै अत्यास लागेन।
प्रसङ्ग ४. बाँच्न सफल भएकोमा खुसीयाली
बल्ल मेरो ध्यान अन्य शारीरिक अङ्गतिर मोडियो। अन्य भागको दुखाइ र एक्सरेको नतिजाबारे सोधीखोजी गरेँ। अन्य अङ्गहरू सुरक्षित भएको सूचना पाएँ। आकस्मिक घटनाले गर्दा क्षणिक चिन्तन र दीर्घकालीन चिन्तनको चौघेराभित्र जकडिनु तत्कालीन समयमा स्वभाविकै थियो। प्रदर्शित घटनाले चाहिँ ममा चिन्ताभन्दा चिन्तन बढी उमार्यो। धन्न पो त्यत्रो दुर्घटनामा पर्दा पनि अन्य अङ्ग सुरक्षित रहेछन् भनेर खुसी मानेँ। सर्वप्रथम मलाई छोरीको गोडाको समस्या देखेपछि आफन्तहरूसँग समयोचित प्रस्ताव राख्ने इच्छा पलायो। मैले भने– ‘विजया असामान्य परिस्थितिबाट सामान्य परिस्थितिमा आएको देख्दा खुसी हुनुपर्छ। परेका बेला सबै आफन्तजन मिलेर आआफ्ना ठाउँबाट सकेको सहयोग गरौँ है। बेलाको गुन गुनिलो हुन्छ।’ प्रायले मेरो भनाइको सह्राना गरे। बिरामी भेट्न जानेहरूको एकै स्वर सुनियो। उनीहरू खुसी मानेर भन्थे– ‘धन्न बाँच्न सफल भइछन् है विजया !’
मैले पनि सारमा दुर्घटनाको कहानी सुनाएँ। घटना सुन्दा अत्यासलाग्दो छ। गाडी दुर्घटित हुनुअघि चालकले गाडीलाई ह्वाइँह्वाइँ पारेर भित्तातिर धकेल्दै थमाउन निकै प्रयास गरेछन्। विजयालाई गाडी के भएछ भन्ने लाग्दालाग्दै अचानक गाडी चिप्लिएर दुर्घटित भएछ। त्यसपछिको अवस्थाबारे भने विजयालाई केही थाहा भएनछ। उनी त बेहोसी अवस्थामा एकोहोरो दाइ ! दाइ ! मात्रै भनेर चिच्याउँथिन् रे, मैले अरू साथीहरूबाट सुनेथेँ। उनलाई त उद्धारकहरू पुगेर दुर्घटित गाडीको अवस्था हेरी तलपट्टिको झ्यालबाट सरक्क तानेर निकालेको अवस्थासम्म होस खुलेकै रहेनछ। पछि डो¥याएर उकालो चढाउँदा पो गाडी बुल्डुङ खाँदै झरेको ठाउँ देखिछन् र अत्यास लागेछ। तर पनि, सबै साथी बाँच्न सफल भएकोमा खुसी हुँदै एकआपसमा दुखान्त र सुखान्तका अनुभूति साटासाट गरेछन्। जे भए पनि बाँच्यौँ भन्दै दुर्घटनाले परिवारलाई झस्काउने हुँदा तत्काल नसुनाऊँ है भन्ने निष्कर्षमा पुगेर सहमत भएछन्।
भेट्ने जतिले बिरामीलाई ढाडस दिन्थे। यत्तिकैमा नशा विशेषज्ञ वरिष्ठ चिकित्सक वसन्त पन्तले भनेको सम्झिन्छु– ‘विजया ! ती रूखलाई बर्सेनि ढोग्न जानू है।’ अहो ! कति सार्थकता छ यो भनाइमा। वास्तवमा हो नि, रूखको जीवनसँग मेरी कान्छीको जीवन गाँसिन पुग्दा न हो बाँचेर फर्किन सकिन्। बाँच्न सफल भएकोमा म अचानक पुलकित हुन पुग्छु। यदि दुर्घटित ठाउँमा रूख थिएनन् भने गाडी गुल्टिँदै वाग्मती नदीको पानीमा डुब्थ्यो हो। अनि त हाम्रो हालत के हुन्थ्यो !
भेट्न आउनेहरूबिच पनि एकआपसमा कुरा चल्थे। फलानाको यस्तो भएर पनि निको भयो। तिलनाका हातखुट्टा र करङमा समेत चोट थियो र पनि ठमठम्ती छन्। अपरेसनपछि थेरापी पनि गर्नुपर्दो रहेछ भन्दै कुरा गरेको सुनेपछि बिरामीले पनि साहस बटुलेको अनुभव गरेथेँ मैले। यत्ति नै बेला बेलायतबाट दाजुभाउजूको फोन आयो। सफल अपरेसन भएकोमा खुसी हुँदै उनीहरूले भने– ‘बिजु! नआत्तिनु है। खेलाडीहरू पनि आकस्मिक दुर्घटनामा पर्छन्। उपचारपछि ठिक भएर कतिले त पुनः खेल खेलेको देखिन्छ।’
कुनै पनि घटना सुन्नु र देख्नुभन्दा भोग्नुमा फरक हुँदो रहेछ। सुन्ने र देख्ने तर्सिने रहेछन्। भोग्नेवाला चाहिँ कहालिदो रहेछ। मैले प्रत्यक्ष घटनाको मर्म नारु ज्वाइँमा केन्द्रीकृत भएको देखेँ। यसैले हुनसक्छ निकै आत्तिएको अवस्थामा देखिन्थ्यो अनुहार। मलगायत जयन्ती र जयाले सम्झायौँ, सहानुभूति दर्सायौँ, अप्ठ्यारो पर्दा सहयोगका लागि प्रतिबद्ध भयौँ। अनि, एकमत भएर घटनाको विश्लेषण गर्न थाल्यौँ। समग्रमा यातायात दुर्घटना हुनुमा बाटाघाटाको आकृति, सरकारको काम चलाउ प्रवृति र दीर्घकालीन सोच नदेखिनु प्रायः चालकहरूमा इमान्दारिता र दक्षतामा कमी रहनु, यात्रुहरूमा पनि सचेतता नहुनु, क्षमताभन्दा बढी भार लिएर हिँड्नु, यातायातसम्बन्धी नियमसमेत उलङ्घन गर्नु यादि कारण दुर्घटनाका परिचायक हुन् भन्ने कुरामा सबैजना सहमत भयौँ।
यसै क्रममा २०८१ साल माघ ६ गते निस्किएको नयाँ पत्रिकाको समाचारअनुसार नेपालमा ६ महिनामा मात्र ११३३८ जना सवारी दुर्घटनामा परेका र १२३६ जनाको भने मृत्यु हुन पुगेको देखिन्छ। के गर्ने त ? दुर्घटना होला भनेर हिँडडुल नगर्ने कुरा भएन। कतिपय अवस्थामा यातायात दुर्घटना हुनु भनेको संयोगको कुरा पनि हुँदो रहेछ। मचाहिँ कर्मचारी भएपछि खटाइएको ठाउँमा र परिआएका काममा जानैपर्ने हुन्छ। विजया शिक्षा विभागबाट गरिनुपर्ने कार्यक्रमका लागि काजमा खटिएकी हुन् भनी गुन्दै आफ्नो मन आफैं बहलाउन खोज्थेँ। मनोसंवाद गर्दै रहँदा मैले राष्ट्रकवि माधव घिमिरेको गौरी खण्डकाव्यको कवितांश सम्झिन पुगेँ। कवितांश बोल्छ–
के हेर्छ्यौ यतिको बिजोग धरती माता ! तिमी फाट हे
आमा बालककी नमार भगवान् ! संसार भर्ने भए।
आपत्कालीन परिस्थितिमा कसैले भगवान् सम्झिएलान् त कसैले प्रकृति र परिस्थिति सम्झिएलान्। जे सम्झिए पनि सम्झिनु भनेको आस्थाको कुरा भयो। मत्वपूर्ण कुरा भनेको त समस्या नपरोस् र परे पनि समाधान गर्न सकियोस् भन्ने न हो। आपत्कालीन अवस्थामा पुकारा गर्ने र सम्झिने भनेको भरोषा जोमाथि हुन्छ त्यसैलाई नै हो। मैलेचाहिँ घाइते भएपछि डाक्टर र नर्सहरू सम्झिएँ। यस अर्थमा मेरी कान्छीले राम्रो उपचार पाएकाले छोरीहरू सुमसुम्याउने, स्याहार्ने र पढाउने अवसर पुनः प्राप्त गरिन्। जय स्वास्थ्योपचार ! भनी कल्पिएँ।
अपरेसन भएकै दिन नातिनी प्रजिसाको जन्मोत्सव परेको थियो। त्यही सन्दर्भमा प्रनी र मायूले ममीलाई भेटे। देख्नेबित्तिकै उनीहरूका आँसु टप्किए। मैले हाँस्दै उनीहरूलाई ममीको म्वाइँ खाओ भने। उनीहरूले चुप्प म्वाइँ खाँदै पुलुक्क अनुहार हेरेको दृश्यले मलाई आमा र सन्तानको आत्मियता छचल्किएको प्रत्यक्षीकरण भयो। हामीले बिरामीलाई आइ.सि.यु. बाट क्याबिनमा सारेपछि बालबालिकाको भावनालाई कदर गर्दै हस्पिटलको क्यान्टिनमा जन्मोत्सव मनाउने परिबन्ध मिलायौँ। हामीले बिरामीलाई सान्त्वना दिँदै दुखद् अवस्थालाई सुखद अवस्थामा रूपान्तरण गर्न मेरा तीन छोरीका पाँच नातिनीहरू प्रलिसा, प्रजिसा, प्रनिसा, माइसा र सानिद्यालाई चिन्ता मुक्त गर्दै हँसायौँ। ‘एक पन्थ दुई काम’ भनेझैँ बिरामीसँगको भेटघाट र जन्मदिनको शुभकामना आदानप्रदानले हामीलाई आँट र भरोसा थपिएको थियो। छिटो , छरितो र मिठो गरी मनाइएको जन्मोत्सवमा ३५ जनाको उपस्थिति रहेथ्यो। जसमा उपचारमा संलग्न डाक्टर, नर्स र कर्मचारीहरूको पनि उपस्थिति रहेथ्यो।
५. अन्नपूर्ण हस्पिटलको उद्देश्य र व्यवहारिकता
मैले अन्नपूर्ण न्युरो हस्पिटल अन्य हस्पिटलहरूभन्दा भिन्न संरचनामा चलेको देखेँ। विशेष गरेर यो हस्पिटल नसासम्बन्धी हो भनी बाहिरफेर जानकारी भए पनि भित्री उद्देश्य भिन्न पाएँ। यहाँ विभिन्न प्रकारका नसासम्बन्धी रोगको उपचारलगायत अन्य रोगहरूको पनि उपचार हुने रहेछ। वर्तमान सन्दर्भमा हृदयरोगसम्बन्धी उपचारका लागि पहल गरिएको अवस्था रहेछ। यस हस्पिटलको मुख्य उद्देश्य भनेको कुनै पनि बिरामीको उपचार गर्दैगर्दा आकस्मिक अन्य अङ्गहरूमा पनि रोग देखापरेमा अन्यत्र लान कठिन हुने हुँदा एकै ठाउँमा सेवा प्रवाह गर्न सकियोस् र बिरामी हर किसिमले लाभप्रद रहून् भन्ने उद्देश्य रहेछ।
मलाई एकै ठाउँमा बहुउपचार पद्धतिको संरचना अघि सारिएकोमा ज्यादै खुसी लाग्यो। यसका साथै सर्वसाधारण जनताहरूलाई पनि उपचार गर्न सहज होस् भन्ने उद्देश्य राखेर विभिन्न काम गर्ने योजना तयार पारिएको रहेछ। यसका साथै बिरामी भेट्न जानेहरूले अन्य सामानको इच्छाअनुसार नगद रकम दिएर ‘गेट वेल सुन’ कार्ड लिनुपर्ने व्यवस्था गरिएको रहेछ। जसद्वारा बिरामीको उपचार खर्चमा सहयोग पुगोस् भन्ने अपेक्षा गरिएको देखेर औधी खुसी लाग्यो।
मलाई हस्पिटलमा कार्यरत डाक्टर, नर्स र कर्मचारीहरूको मिठो बोली, सद्भावपूर्ण व्यवहार र विश्वासिलो पना अनुकरणीय लाग्यो। सरकारी हस्पिटलहरूमा गरिने, ढिलासुस्ती, हप्काइदप्काइ, हेलचेक्र्याइँजस्ता व्यवहारहरूबाट मुक्त हुन पाउँदा उपचार खर्च भुक्तानी गर्दामा कुनै गुनासो रहेन। कान्छीको उपचारमा संलग्न हाडजोर्नी विशेषज्ञ डाक्टरद्वय मनिषविक्रम शाह र प्रविन नेपालको दक्षता र सद्भावपूर्ण व्यवहारप्रति आभार व्यक्त गर्दै र पुनर्जीवन प्राप्त गराएकोमा खुसी हुँदै, पाँच दिनको हस्पिटल बसाइपश्चात् गृह प्रवेश गरी सल्लाहअनुसार बिरामीको सेवासुश्रुषामा जुट्दै गर्दा ममा सम्झना भयो—
सर्वेभवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्जनः।
अर्थात्
निरोगी सबै हुन् सबै हुन् सुखिया
सबै बेस देखिउन् नहुन् क्वै दुखिया।