काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग परीक्षण अभियान चलाइरहेको छ। मन्त्रालयले फागुन महिनाभर यो अभियान अन्तर्गत देशभर नसर्ने रोगको परीक्षण कार्यक्रमहरु सञ्चालन गरेको छ। यही अभियान अन्तर्गत संघीय संसदका सांसदहरुको पनि स्वास्थ्य परीक्षण सुरु भएको छ।
मन्त्रालयले मंगलबार र बुधबार संसदको लोत्से हलमा सांसदहरुको स्वास्थ्य जाँच गर्ने कार्यतालिका बनाएको छ। मंगलबार मध्यान्नसम्म सांसदहरुले स्वास्थ्य जाँच गराइरहेको मन्त्रालयबाट खटिएको टोलीले जानकारी दिएको छ।
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलका अनुसार संसदमा खटिएका टोलीले संघीय संसदका सदस्य, कर्मचारी र सञ्चारकर्मीहरुको नसर्ने रोगको परीक्षण गर्नेछ। जस अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात परीक्षण हुनेछ।
मन्त्रालयले संघीय संसद सचिवालयलाई पत्र नै लेखेर परीक्षण कार्यका लागि सहजीकरण गरिदिन अनुरोध गरेको थियो।