धादिङ- न्यूनतम सेवा मापदण्डमा धादिङ अस्पतालले ८२ अंक प्राप्त गरेको छ। अस्पतालको सेवा, प्रशासन र अतिरिक्त सेवाको बारेमा भएको अनुगमनपछि विज्ञहरुको टोलीले ८२ अंक प्रदान गरेका हुन्।
अस्पताल गत वर्षको पुसबाट एक सय शय्यामा स्तरोन्नती भएको थियो। स्तरोन्नतीपछि पहिलो पटक न्यूनतम सेवा मापदण्ड अनुसार मापन भएको हो।
मूल्यांकन टोलीका डाक्टर नवीन दर्नालका अनुसार मापदण्डको प्रकृतिको आधारमा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगी सेवाको विभिन्न सूचकहरुलाई आधार मानेर मूल्यांकन गरेको हो।
एक कार्यक्रमका बीच अस्पतालले प्राप्त गरेको अंक सार्वजनिक गरिएको हो। कार्यक्रममा विशेषज्ञ सेवा, ल्याव सेवा, ईमरजेन्सी सेवा, सुत्केरी सेवा लगायतका सेवाहरुको प्रभावकारिता रहेको र सेवाग्राहीले समेत खुलेर प्रशंसा गरेको जानकारी दिँदै नयाँ भवन निर्माण गरेर सेवालाई प्रभावकारी बनाउन सुझाव दिइएको छ।
विज्ञ समूहले गुणस्तरीय सेवाका लागि लाग्न आग्रह गर्दै सुझाव पेटिका पहुँचमा राख्नुपर्ने, हेमो डायलासिस सेवाको लागि बिग्रेको मेसिन बनाउन मन्त्रालयसंग समन्वय गर्नुपर्ने, विपद व्यवस्थापनका लागि थप आवश्यक सामाग्री व्यवस्थापन गर्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, पुराना सवारी साधन लगायतका काम नलाग्ने भएका सामानको लिलामी गर्नुपर्ने लगायतका सुझाव विज्ञ टोलीले दिएको छ।
२०३३ मंसिर २६ गते धादिङ हेल्थ सेन्टरको रुपमा स्थापना भएको धादिङ अस्पताल २०४५ सालमा १५ शय्या, २०७६ मा ५० शय्या र २०८० पुस ३ गते एक सय शय्यामा स्तरोन्नति भएको हो।