काठमाडौं - पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप १४ लाख बढी किशोरीले लगाएका छन्।
सरकारले राष्ट्रव्यापी रुपमा सञ्चालन गरेको खोप अभियानबाट १४ लाख ३२ हजार ८०७ किशोरीले खोप लगाएका हुन्। माघ २२ देखि फागुन ६ गतेसम्म सरकारले देशैभर खोप अभियान सञ्चालन गरेको थियो।
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका अनुसार यो प्रारम्भिक नतिजा मात्र हो। यसको अन्तिम तथ्यांक आउन करिब एक साता लाग्ने शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए। सो अभियानबाट १५ लाख ६० हजार ८ जना किशोरी लाभान्वित हुने अपेक्षा गरिएकोमा प्रारम्भिक तथ्यांक अनुुसार साढे १४ लाख किशोरीले मात्र खोप लगाएका छन्।
डा गौतमले भने, ‘यो प्रारम्भिक संख्या मात्र हुन्। तथ्यांक संकलन अहिले पनि भइरहेको छ। करिब एक सातापछि हामी अन्तिम नतिजा सार्वजनिक गर्छौ।’
उनका अनुसार देशभर ९२ प्रतिशत खोप कभरेज भएका छन्। खोप उपलब्धिका आधारमा कोशी र जनसंख्याका आधारमा बागमती प्रदेशमा धेरै खोप कभरेज भएको उनले बताए।
कोशी प्रदेशमा २ लाख ३२ हजार १०१, मधेशमा ३ लाख ४३ हजार ४८५, बागमतीमा २ लाख ५६ हजार २२१, गण्डकीमा १ लाख २ हजार २४७, लुम्बिनीमा २ लाख ५८ हजार १६८, कर्णालीमा ९ हजार ५६६ जनाले खोप लगाएका छन्।
कर्णाली प्रदेशको चार जिल्लामा सुरु हुन सकेन अभियान
कर्णाली प्रदेशको चार जिल्लामा भने एचपिभी खोप अभियान सञ्चालन हुन सकेन। धेरै हिउँ परेकाले मनाङ, मुस्ताङ हुम्ला र डोल्पामा खोप अभियान सञ्चालन हुन नसकेको उनले बताए। यद्यपि फागुन अन्तिमतिर ती जिल्लाका किशोरीहरुलाई खोप लगाइने उनले जानकारी दिए।
खोप अभियान उत्साहजनक रुपमा सम्पन्न भएको बताउँदै उनले खोप लगाएपछि कुनै पनि किसिमको अवाञ्छित घटना भएको उल्लेख गरे।
माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन भएको अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्म किशोरीहरुलाई खोप लगाइएको थियो।