काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयु) अन्तर्गतको 'स्कुल अफ मेडिकल साइन्स'का आवासीय चिकित्सकलाई यातना दिइएको भन्दै विद्यार्थी संगठनरुले आपत्ति जनाएको छ। काठमाडौं विश्वविद्यालय अन्तर्गतको अनेरास्ववियुले प्राध्यापकको मानसिक हिंसाबाट एक आवासीय चिकित्सकले आत्महत्याको प्रयाससमेत गरेको जनाएको छ।
'काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्स धुलिखेल अन्तर्गतको प्रथम वर्षका आवासीय मनोचिकित्सकमाथि मनोचिकित्सक विभागका चिकित्सक तथा प्राध्यापकहरुबाट भएको मानसिक हिंसा र यातनाको शृंङ्खलापूर्ण बर्बरताले निम्ताएको आत्माहत्या प्रयासको घटना प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'मानसिक स्वास्थ्यलाई मानव अधिकारका रुपमा स्थापित गर्नु पर्छ भन्ने दर्शनबाट विमुख भइ मनोचिकित्सकका प्राध्यापकहरुले नै आवासीय मनोचिकित्सकहरु माथि नेपालको संविधानको धारा- १६ सम्मानपूर्वक बाँच्न पाउने हकको गम्भीर उल्लङ्घन हुने गरि यातना दिने र विगतमा पनि विभागबाट आवासीय चिकित्सकहरु माथि आत्माहत्या दुरुत्साहन गर्ने खालका अभिव्यक्ति दिएको घटनाहरु प्रति खेद प्रकट गर्दै यस्ता गतिविधिहरु अमानवीय रहेको हाम्रो संगठनको निष्कर्ष रहेको छ।'
अनेरास्ववियुले घटनाको निष्पक्ष छानबिन गरी दोषीहरुलाई कडा कारबाही गर्न र आवसीय चिकित्सकहरुको कार्यस्थल सुरक्षित र व्यवस्थित बनाउन आवश्यक पहल गर्न विश्वविद्यालय प्रशासन समक्ष अपिल गरेको छ।
