वीरगञ्ज- मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज वीरगञ्जका निजी अस्पतालहरुको छड्के अनुगमन गरेका छन् । बुधबार मुख्यमन्त्री सिंह नेतृत्वको टोली वीरगञ्ज पुगेर नगरका विभिन्न ७ वटा निजी अस्पतालहरुको अनुगमन गरेको हो।
अनुगमन गर्ने क्रममा वीरगञ्जस्थित नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरलाई बन्द गर्न निर्देशन दिएका छन्। अस्पतालले अनुमति नलिइ सञ्चालन गरेको पाइएकाले अस्पतालमा उपचार गराईरहेका बिरामीको अन्यत्र स्थानान्तरण गरी पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वस्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जनाएका छन्।
मुख्यमन्त्री सिंहले अस्पतालमा अन्य नयाँ कुनैपनि बिरामी भर्ना नलिन र पूर्णरुपमा अस्पताल बन्द गर्न निर्देशन दिएको बताए। उनले अनुगमनको क्रममा अस्पतालहरुमा फोहोरको व्यवस्थापनमा लापरवाही गरेको भेटिएको बताउँदै संक्रामक रोगको जोखिम बढ्ने हुँदा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
वीरगञ्जस्थित बसपार्क नजिक लिंक रोडमा रहेको भवानी हस्पिटल र बाइपासमा रहेको स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रालिलाई नविकरण नगरेको पाइएकोले नविकरण गर्न निर्देशन दिइएको छ। श्री भवानी हस्पिटल एण्ड रिर्सच सेन्टर, प्रभु हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, सर्वाेत्तम अस्पताल, आशाराम हस्पिटल, स्पर्श मल्टीस्पेस्यालिटी अस्पताल लगायत विभिन्न निजी अस्पतालहरुको अनुगमन गरिएको छ।
