काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौ सभाको बैठक मंगलबार बसेको छ। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शमाए ओलीको अध्यक्षतामा पाँचौ सभाको बैठक मंगलबार बालुवाटारमा सम्पन्न भएको हो।
सभाको बैठकमा प्रतिष्ठानको नीति, योजना तथा कार्यक्रम अन्तर्गत प्रतिष्ठानको आर्थिक वर्ष २०७९/८० आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन गरिएको छ।
यस्तै आर्थिक वर्ष २०८१/८२ को दुई अर्व ४३ करोड २५ लाख १२ हजार ९६७ रुपैयााको बजेट तथा कार्यक्रम स्वीकृत गर्ने भएको छ।
सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको प्रस्ताव तयार गर्न रजिष्ट्रार प्रा श्याम लम्सालको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना महाशाखाको प्रतिनिधि सम्मिलित तीन सदस्यीय समिति गठन गर्ने निर्णय पनि गरिएको छ।
प्रतिष्ठानको सभामा स्वीकृतिका लागि अस्पताल सेवा विस्तार, शैक्षित कार्यक्रम संचालन, अनुसन्धान तथा तालिम र सामुदायिक स्वास्थ्य सेवा विस्तार सम्बन्धि नीति, कार्यक्रम तथा योजना पेस गरिएको थियो। सो प्रस्ताव स्वीकृत भएको छ।
जसमा हालको सेवाका अतिरिक्त मुटुरोग, न्युरोसर्जरी, आँखाको क्यान्सरको शल्यक्रिया, सघन उपचार कक्षहरु र जलन उपचार सेवा थप गर्ने, विभिन्न शैक्षिक कार्यक्रमहरु थप गर्ने, अनुसन्धान कार्य अगााडी बढाउने तथा जिल्लाका अस्पतालहरुमा सेवा विस्तार गर्ने लगायतका कार्यक्रमहरु समेटिएका छन्।
यस्तै प्रतिष्ठानले पेस गरेको ४०० शय्याको अस्पताल निर्माण परियोजना कार्यान्वयनको प्रस्तावमा आवश्यक प्रक्रिया पुरा गरेर परियोजना अगाडि बढाउन पहल गर्ने निर्णय गरिएको छ। सभामा प्रतिष्ठानका कुलपित एवं प्रधानमन्त्री ओलीले प्रतिष्ठान लुम्बिनी प्रदेशकै गहनाको रुपमा रहेकाले प्रतिष्ठानको उद्देश्य अनुरुप सबै प्रकारका बिरामीहरुको उपचार हुने विशिष्टीकृत उपचार सेवाहरुको व्यवस्था गर्न, शैक्षिक कार्यक्रम विस्तार गर्न, बीमा कार्यक्रमलाई अझ सुदृढ र व्यवस्थित रुपमा संचालन गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी प्रस्ताव पेश गर्न निर्देशन दिए।
उनले मन्त्रालयसंग समन्वय गरी योजना तर्जुमा गर्न र प्रत्येक वर्षको बजेट तथा कार्यक्रम सभाबाट स्वीकृत गरेर मात्र खर्च गर्न निर्देशन दिए।
सभामा स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति प्रदिप पौडेलले उपचार सेवालाई अझ विस्तार गर्न, शैक्षिक कार्यक्रम थप गर्न एवं सिकलसेल एनिमिया लगायतका रोगको उपचार सेवा लिन अन्यत्र जानु नपर्ने अवस्था सिर्जना गर्ने गरी सेवालाई व्यवस्थित गर्न निर्देशन दिएका छन्।
सभाले रिक्त सभा सदस्यमा बलिभद्र राना, प्रकाश श्रेष्ठ, यमुना थापा मगर, शुशीला चौधरी र सुदिप गौतम लगायत १२ जनालाई मनोनयन गर्ने निर्णय समेत गरेको छ।