काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) ले चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तह (पीजी)मा सिट थप गर्ने निर्णय कार्यान्वयनमा आएको भन्दै उक्त निर्णयको स्वागत गरेको छ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै निर्णय कार्यान्वयन भएकोमा प्रधानमन्त्री, स्वास्थ्य र शिक्षा मन्त्री र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई धन्यवाद समेत दिएको छ।
संघले आयोगको १७ औं बैठकमा भएको निर्णय अनुसार सरकारी शैक्षिक संस्थाहरुमा एमडी/एमएस/एमडीएस को सिट संख्या थप गर्ने लगायतका निर्णय अविलम्ब कार्यान्वयन गर्न आइतबार माग गर्दै अल्टिमेटम दिएको थियो। आयोगले सोमबार साँझ नै थप भएका सिटहरुको विवरण औपचारिक रुपमा सार्वजनिक गरेको थियो।
'मागको सम्बोधन गर्दै चिकित्सा शिक्षा आयोगका अध्यक्ष सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा सिट संख्या थप गर्ने निर्णय प्रमाणीकरण गरि चिकित्सा शिक्षा आयोगद्वारा थप सिट निर्धारण गरिएकोले नेपाल चिकित्सक संघ उक्त कदमको स्वागत गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
