काठमाडौं- नेपाली औषधि उत्पादन उद्योग ओम मेगाश्री फर्मास्युटिकल्सले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि लक्षित गर्दै खुलाएको आईपीओको आवेदन दिने समय सकिएको छ।
सोमबार साँझ ५ बजेसम्म वैदेशिक रोजगारीमा रहेका कति नेपालीले आईपीओमा आवेदन दिए त? सिडिएस एण्ड क्लियरिङका अनुसार वैदेशिक रोजगारीमा रहेका ५१ हजार ७२९ जनाले आवेदन दिएका छन्।
१३ करोड ७२ लाख ७६ हजार रूपैयाँ बराबरको १३ लाख ७२ हजार ७६० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ। ओम मेगाश्रीको आईपीओमा आवेदन परेको यो संख्या मागभन्दा ७.६२ गुणा बढी हो।
सेयर निष्कासन हुने बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न अनुमति पाएको हो। आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
सर्वसाधारका लागि कम्पनीको १८ लाख कित्ता सेयर जारी हुनेछ। जसमध्ये वैदेशिक रोजगारमा रहेकाहरूका लागि १ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको हो।
ओम मेगाश्रीले ५ प्रतिशत अर्थात ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ। बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।