काठमाडौं- आँखामा लाग्ने सापू नामक रोगको रोकथामका लागि आँखा विशेषज्ञहरुको समाज नेपाल अफ्थाल्मिक सोसाइटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
सोसाइटीका अध्यक्ष डा पुरुषोत्तम जोशी, महासचिव डा तेजसु सिंह मल्ल लगायत पदाधिकारीले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सापू रोग रोकथामका लागि मन्त्रालयलाई अनुरोध गरेका हुन्।
सोसाइटीले सिजनल हाइपरएक्युट प्यानुभाइटिस (सापू) रोगलाई उपेक्षित उष्णकटिबन्धीय रोगको सूचीमा समावेश गर्न पनि माग गरेको छ।
सोसाइटीको कार्यसमितिको २०२५ फेब्रुअरी १ मा बसेको बैठकले सापू रोगलाई उपेक्षित उष्णकटिबन्धीय रोगको सूचीमा राख्न सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको थियो। पाँच दशकदेखि नेपालका विभिन्न क्षेत्रमा देखिँदै आएको यो आँखाको गम्भीर रोग विशेष गरी कमजोर तथा सीमान्तकृत समुदायमा बढी प्रभाव पार्ने गरेको छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाले २०७९ देखि सापू रोगबारे जनचेतना अभिवृद्धि गर्दै आएको छ।
सन् २०२३ मा सापूको प्रकोप देखिएपछि यसलाई राष्ट्रिय निगरानी प्रणाली तथा प्रकोप प्रतिकार्य व्यवस्थापन प्रणालीमा समावेश गरिएको थियो।
नेपाल अफ्थाल्मिक सोसाइटीका अनुसार सापू रोगको थप अध्ययन, रोकथाम र उपचारका लागि यसलाई उपेक्षित उष्णकटिबन्धीय रोगको रूपमा प्राथमिकतामा राख्न आवश्यक छ।
सोसाइटीले सापू रोगको कारण, संक्रमणको स्वरूप तथा रोकथामका उपायहरूको गहिरो अनुसन्धान गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने र अन्तर्राष्ट्रिय स्वास्थ्य तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्नुपर्ने बताएको छ।
नेपाल सरकारले यस रोगलाई उचित प्राथमिकता दिएमा सापूको प्रभावकारी रोकथाम र उपचार सहज हुने भन्दै सोसाइटीले सरकारलाई ‘वन हेल्थ’ अवधारणाअन्तर्गत बहुपक्षीय सहयोगमार्फत समाधान खोज्न आग्रह गरेको छ।