ग्रामीण नेपालमा विशेष गरी खोटाङजस्तो पहाडी जिल्लामा काम गर्दा बिरामीहरूलाई रिफर गर्दा धेरैले यसलाई अनावश्यक ठान्ने गर्छन्। सामान्य टाउको दुखाइ, ज्वरो, पेट दुखाइजस्ता समस्याहरूका लागि पनि डाक्टरहरूले रिफर गर्ने भनेर नकारात्मक धारणा बनाएको पाइन्छ। तर, रिफरलको निर्णय सजिलोसँग लिइने कुरा होइन। यो निर्णय हाम्रो स्वास्थ्य केन्द्रमा उपलब्ध स्रोत र उपकरणहरूको सीमितता र बिरामीको उत्तम उपचार सुनिश्चित गर्न गरिन्छ।
खोटाङ जिल्ला अस्पतालको वास्तविकता
खोटाङको जिल्ला अस्पताल ग्रामीण क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र हो। यहाँ उपलब्ध स्रोतसाधन र सेवाको पहुँच सीमित भए पनि केही आपतकालीन सेवा, जस्तै इमर्जेन्सी सी-सेक्शन, प्रदान गरिन्छ। यो सेवा ग्रामीण जनताको लागि महत्वपूर्ण कदम हो। तर, त्यसभन्दा पर जटिल केसहरूको व्यवस्थापनका लागि रिफरल आवश्यक पर्छ।
१. सीमित विशेषज्ञ सेवा
जिल्ला अस्पताल खोटाङमा केवल एकजना विशेषज्ञ चिकित्सक (एमडीजीपी) उपलब्ध हुनुहुन्छ। बाँकी चिकित्सकहरू मेडिकल अफिसर हुन्, जसले आधारभूत रोग निदान र उपचार गर्न सक्छन्। तर, न्यूरोलोजिस्ट, कार्डियोलोजिस्ट, ग्यास्ट्रोएन्टरोलोजिस्ट, र अन्य विशेषज्ञ सेवाको अभावले गर्दा धेरै जटिल केसहरू रिफर गर्नुपर्ने हुन्छ।
२. प्रगतिशील डायग्नोस्टिक र सर्जिकल उपकरणको अभाव
जिल्ला अस्पतालमा केही आधारभूत सर्जिकल सेवा भए पनि, निम्न उपकरण र सुविधा उपलब्ध छैनन्:
• सीटी स्क्यान र एमआरआई: मस्तिष्कघात, हेमरेज, वा जटिल टाउको दुखाइजस्ता अवस्थाहरू पत्ता लगाउन।
• रगत र पिसाबको कल्चर: जटिल संक्रमण पहिचान गर्न।
• आईसीयू र भेन्टिलेटर: गम्भीर बिरामीको उपचारका लागि।
३. गर्भावस्थाका जटिलताहरू
जिल्ला अस्पतालमा सामान्य र इमर्जेन्सी सी-सेक्शन गर्न सकिन्छ। तर, जटिल केस, जस्तै प्लासेण्टा प्रिभिया, प्लासेण्टा अक्रेटा , वा बच्चा र आमा दुवैलाई जोखिम हुने अवस्थामा, थप सुविधा भएका केन्द्रमा रिफर गर्नु आवश्यक हुन्छ।
रिफरलका अवस्था
१. टाउको दुखाइ
सामान्य देखिने टाउको दुखाइ मस्तिष्क ट्युमर, ब्रेन हेमरेज, वा स्ट्रोकको संकेत हुन सक्छ। सीटी स्क्यान वा एमआरआई नभएकाले यस्ता अवस्थाहरू उच्च केन्द्रमा रिफर गर्नु आवश्यक हुन्छ।
२. ज्वरो
सामान्य ज्वरोको रूपमा देखिने टाइफोइड, सेप्सिस, मलेरिया, वा अन्य जटिल संक्रमण पत्ता लगाउन रगतको कल्चर आवश्यक पर्छ। हाम्रो केन्द्रमा यी परीक्षण सम्भव नभएकाले रिफर गर्नुपर्छ।
३. पेट दुखाइ
सामान्य पेट दुखाइ एपेन्डिसाइटिस, किड्नी स्टोन, वा एक्टोपिक प्रेग्नेन्सी हुन सक्छ। जटिल अवस्थाहरू (जस्तै, पर्फोरेटेड एपेन्डिक्स, रप्चर्ड एक्टोपिक प्रेग्नेन्सी) हाम्रो स्रोतसाधनले थेग्न नसक्ने भएकाले रिफर गर्नुपर्छ।
४. सास फेर्न गाह्रो हुनु
निमोनिया, दम, वा मुटुको समस्याका कारण श्वासप्रश्वास गाह्रो भएमा भेन्टिलेटर जडित आईसीयू आवश्यक हुनसक्छ l यी सुविधाहरू खोटाङमा उपलब्ध नभएकाले रिफर गरिन्छ।
५. दुर्घटना वा गम्भीर चोटपटक (ट्रमा)
गम्भीर चोटपटक भएका बिरामी, जस्तै फ्र्याक्चर, हेड इन्जुरी, वा मल्टिपल अर्गान इन्जुरी भएका अवस्थाहरू, प्राथमिक उपचारपछि उच्च केन्द्रमा रिफर गर्नुपर्छ।
६. पर्फोरेटेड एपेन्डिक्स (एपेन्डिसाइटिस)
११ वर्षका एक बालक पेट दुखाइको गुनासो लिएर आए। प्रारम्भिक परीक्षणबाट एपेन्डिसाइटिसको शंका गरियो। तुरुन्त उच्च केन्द्र मा जानु पर्छ भनि सल्लाह दियौं | बारम्बार ठुलो अस्पताल जानु पर्छ भनि सल्लाह दिदा पनि नमानी दुइ दिन पछि मात्र ठुलो अस्पताल मा लानु भयो र पछि त्यहाँ एपेन्डिक्स फुटेर पिप जमेको थाहा भयो र तुरुन्तै शल्यक्रिया पश्चात बिरामी को अरु भबितब्य हुन बाट जोगियो | बालक पूर्ण रूपमा स्वस्थ भएर फर्किए।
७. जटिल प्रसवका अवस्था
जस्तै, ट्विन प्रेग्नेन्सी, प्लासेण्टा प्रिभिया, प्लासेण्टा अक्रेटा वा बच्चाको अप्ठ्यारो स्थितिमा भएका केसहरू, जहाँ विशेषज्ञको निगरानी र उपचार को आवश्यक हुन्छ।
सफल र सकारात्मक रिफरलका केसहरू
१. हार्ट अट्याक (मायोकार्डियल इन्फार्कसन)
छाती दुखाइको गुनासो लिएर आएका बिरामीलाई हार्ट अट्याकको शंका गरियो। ईसीजी पछि तुरुन्त रिफर गरियो, जहाँ समयमै एन्जियोप्लास्टी गरियो। बिरामीको जीवन बचाउन सकियो।
२. जटिल प्रसव
एक महिलालाई बच्चा उल्टो (ब्रीच) रहेको थाहा भयो। हाम्रो सेटिङमा इमर्जेन्सी सी-सेक्शनको प्रयास गरियो, तर स्पाइनल एनेस्थेसिया फेल भएपछि, र जनरल एनेस्थेसिया उपलब्ध नभएको कारणले, तुरुन्त उच्च केन्द्रमा रिफर गरियो। त्यहाँ समयमै सर्जरी सम्पन्न भई आमा र बच्चाको जीवन सुरक्षित भयो।
३. मस्तिष्कघात (स्ट्रोक)
अचानक टाउको दुखाइ र शरीरका अंगहरू नचल्ने समस्या देखिएका बिरामीलाई सीटी स्क्यान र थप उपचारका लागि रिफर गरिएको थियो। समयमै उपचार पाएको ले बिरामी हिडडुल गर्न र आफ्नो दैनिक काम गर्न सक्ने भएर फर्किए l
४. गम्भीर ट्रमा
दुर्घटनामा गम्भीर चोटपटक र रक्तस्राव भएका बिरामीलाई प्राथमिक उपचारपछि उच्च केन्द्रमा रिफर गरेर सर्जरी गरियो। बिरामीको जीवन बचाउन सकियो।
५. पर्फोरेटेड एपेन्डिक्स (एपेन्डिसाइटिस)
११ वर्षीय बालकलाई समयमै रिफर गरेर सर्जरी गरिएकाले स्वास्थ्य लाभ भयो।
रिफरल: बिरामीको हितको लागि लिइने निर्णय
यो भनिन्छ कि डाक्टर ले बिशेष गरि आकस्मिक कक्षमा रोगहरु को निदान गर्दा rule-out-worst-case-scenario method लाइ सोच्नु पर्छ /रिफरल गर्नु भनेको डाक्टरले बिरामीलाई टार्न खोजेको होइन। बरु, यो एउटा जिम्मेवार निर्णय हो, जसले बिरामीलाई राम्रो उपचार पाउन मद्दत गर्दछ। जब बिरामीको समस्या हाम्रो स्रोत र साधनभन्दा बाहिरको हुन्छ, त्यस्तो अवस्थामा रिफरलले बिरामीको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
निष्कर्ष
जिल्ला अस्पताल खोटाङका सीमित स्रोतसाधन र उपकरणहरूका कारण रिफरल आवश्यक हुन्छ। जनताले यसलाई गलत नबुझी डाक्टरहरूको निर्णयमा विश्वास गर्न जरुरी छ। बिरामीको हितको लागि सही समयमै रिफरलले जीवन जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
-(लेखकद्वय खोटाङ अस्पतालमा मेडिकल अफिसरका रुपमा कार्यरत छन्)