काठमाडौं- नेपाली औषधि उत्पादक कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सको आईपीओ आज सोमबारदेखि खुल्ने भएको छ। सञ्चित नोक्सानीमा रहेको ओम मोगाश्री फर्मास्युटिकल्सले पहिलो चरणमा आजदेखि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो।
ओम मोगाश्रीको आईपीओ वैदेशिक रोजगारमा रहेकाले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने बताइएको छ।
सेयर निष्कासन हुने बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो। सर्वसाधारका लागि कम्पनीको १८ लाख कित्ता सेयर जारी हुनेछ। वैदेशिक रोजगारमा रहेकाहरूका लागि १ लाख ८० हजार कित्ता सेयर निष्कासन हुने छ।
पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ छ। चालु आर्थिक वर्ष पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ९८ पैसा छ। त्यस्तै प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १५ पैसा छ। यस आर्थिक वर्ष पनि सञ्चित नोक्सानी कायमै रहने कम्पनीको प्रक्षेपण छ।