रोग लाग्नुभन्दा अगाडि रोग लाग्न नदिन शरीरमा रोगविरुद्धको प्रतिरक्षा शक्ति वृद्धि गर्न दिइने औषधिलाई खोप (भ्याक्सिन) भनिन्छ। प्राचीन ऋषिमुनिहरुले रोग लाग्न नदिन विभिन्न जडीबुटी खाएर प्रतिरक्षा शक्ति वृद्धि गर्दथे भन्ने पूर्वीय शास्त्रमा उल्लेख गरेको पाइन्छ। पश्चिमाहरुले धेरै पहिले खोप सेवा लिएको भएता पनि नेपालको खोप सेवाको इतिहास धेरै पुरानो छैन। डा झलक गैतमका अनुसार भीमसेन थापाको पालामा बिफर विरुद्ध खोप लगाएको इतिहास छ।
द क्वेष्ट फर हेल्थ पुस्तकमा डा हेमाङ्ग दीक्षितले तत्कालिन श्री ३ जंगबहादुर राणाले थापाथली दरवारमा खोप लगाउन लगाएका थिए भन्ने उल्लेख गरेका छन्। नेपालमा बिफर उन्मूलन योजना सन्चालन पश्चात बिफरको खोप शुरु भयो। वि.सं. २०३४ सालमा बिफर उन्मूलन भयो। विस २०३५ सालदेखि नेपालको राष्ट्रिय खोप कार्यक्रम शुरु भयो।
प्रारम्भको समयमा यो कार्यक्रमको नाम विस्तरित खोप आयोजनाको नामबाट सन्चालन भएको देखिन्छ। तीनवटा जिल्लामा चारवटा एन्टिजेन दिएर शुरु भएको हो। वि.सं २०४८ सालमा आए पश्चात राष्ट्रिय खोप कार्यक्रमको रुपमा नेपाल देशभर सन्चालन भयो।
हाल नेपालमा १३ प्रकारका एन्टिजेन विभिन्न रोगहरु विरुद्ध बालबालिकालाई प्रदान गरिन्छ। केही खोप गर्भवती महिलालाई पनि दिइन्छ। यो वर्ष नेपाल सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप अभियानको रुपमा प्रदान गर्दैछ र अब राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप पनि समावेश हुँदैछ।
विगतमा लहरे खोकी, भ्यागुते रोग, न्यूमोनिया, दादुरा, टिटानस जापानिज इन्सेफलाइटिस लगायतका रोगबाट धेरै बालबालिकाहरुको मृत्युदर उच्च थियो। राष्ट्रिय खोप कार्यक्रम सन्चालन पश्चात बालबालिकाको मृत्युदर, रुग्ण दर, अशक्तता दरमा उल्लेख्य कमी आएको छ। राष्ट्रिय खोप कार्यक्रम लागत प्रभावकारी कार्यक्रम हो।
खोप कार्यक्रमको सफल कार्यान्वयन
नेपालमा अहिले पाँच वर्षमुनिको बालमृत्युदर प्रतिहजार जिवीत जन्ममा ३३ रहेको छ। नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ रहेको छ। लागत प्रभावकारी समुदायले अपनत्व लिएको नेपाली नागरिकको घरदैलोमा सेवा दिने राष्ट्रिय खोप कार्यक्रममा विभिन्न समस्या विद्यमान छन्। यी समस्याहरुको नीतिगत, संस्थागत, कार्यक्रमगत र व्यवहारगत रुपमा संवोधन गरे कार्यक्रम थप प्रभावकारी हुने बालबालिका र आमाको स्वास्थ्यमा सकारात्मक परिवर्तन आउनेछ।
एकीकृत सूचना तथ्यांकको समस्या
भारतमा एनसिसिभिएमआइएस सफ्टबेयरबाट खोप लगाएको संख्या, खोप खपत संख्या, खोप मौज्दात संख्या, मर्मत गर्नुपर्ने कोल्डचेन उपकरणको अवस्था लगायत खोप कार्यक्रमको सम्पूर्ण सूचना एकीकृत रुपमा प्राप्त गर्न सकिन्छ। अनुगमन मूल्याङकन सुपरिवेक्षण गर्न अति सजिलो छ। नेपालमा खोप कभरेज डिएचआइसमा खोप मोज्दात इएलएमआइएसमा आउने गरेको छ। कोल्डचेन उपकरण मर्मत संभारको अवस्था लगायतको सूचना आउने निश्चित कुनै प्रणाली विकास गरिएको छैन। तसर्थ एकीकृत सूचना तथ्यांक प्रणाली आवश्यक देखिन्छ।
जनशक्तिको समस्या
राष्ट्रिय खोप कार्यक्रममा इम्यूनोलोजिष्ट, इम्यूनोलोजी, जनस्वास्थ्यविद थप जनशक्ति थपिनु पर्दछ। खोप कार्यक्रममा विगतमा भएका दरबन्दी विस. २०७५ सालमा आधाको हिसावले हचुवाको भरमा कटौती गरियो। नेपालमा लगत्तै आएको कोभिड महामारी तथा थप गरिएका खोपहरुले गर्दा खोप कार्यक्रममा कार्यबोझ थप बढेको छ। कार्यबोझ अनुसार राष्ट्रिय खोप कार्यक्रम सन्चालन शाखामा र खोपको आपूर्ति व्यवस्थापन केन्द्रीय खोप भन्डारण क्षेत्रमा पर्याप्त जनशक्ति थप गर्न अति आवश्यक देखिन्छ। स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा कार्यबोझ, कार्य प्रकृति अनुसार जनशक्तिको थप व्यवस्थापन अति आवश्यक छ।
खोप ऐनको समसामयिक परिमार्जन
खोप ऐन २०७२ रहेको छ। नेपालको संविधान अनुसार नेपालमा तीन तहका सरकार छन्। स्वास्थ्य तीन तहका सरकारको कार्यक्षेत्रको रुपमा रहेको छ। खोप सेवा संघ, प्रदेश र स्थानीय सरकारसँगै अन्तर्राष्ट्रिय चासो र सहयोगको विषय हो। खोप ऐन २०७२ ले नेपाल सरकारले दिने खोप सेवाको व्यवस्थापन तथा निजी क्षेत्रबाट प्रदान गरिने खोप तथा कोल्डचेन सेवाको नियमन तथा नियन्त्रण गर्नु पर्ने व्यवस्था गरे पनि खोप ऐनको भावना अनुसार कतिपय काम हुन सकेको देखिँदैन।
नेपाल सरकारको नियमित सेवा नभएता पनि हज गर्न जाने दक्षिण अफ्रिका जाने, अमेरिका लगायतका बाहिरी देशमा जाँदा उक्त देशको मापदन्ड अनुसार तोकिएका खोप लगाएर जानु पर्ने, लगाएको खोप प्रमाणित पनि गर्नुपर्ने नेपाल सरकारको दायित्वमा पर्दछ। अबको दिनमा संविधानको मर्म अनुसार संघ, प्रदेश र स्थानीय तहको कार्य क्षेत्र स्पष्ट भएको, नेपाल सरकार स्वयंले प्रदान गर्ने, निजी क्षेत्रबाट खरिद, दिइएको सेवा, बाहिरी मुलूकमा जाँदा लगाउनु पर्ने खोप, प्रमाणिकरण लगायतका विषय खोप जनशक्तिको व्यवस्था सहितको खोप ऐन परिमार्जन हुन आवश्यक देखिन्छ।
नेपाल स्तरन्नोति पश्चातको खोप कार्ययोजना
नेपाल सन् २०२६ मा अतिकम विकसित मुलूकबाट विकसित मुलूकमा स्तन्नोति हुँदैछ। हाल नेपालले प्रयोगमा ल्याएका धेरै खोप, खोपजन्य सामग्री, कोल्डचेन, उपकरण, अन्य स्वास्थ्य सहयोग गाभी फन्डबाट प्राप्त गरिरहेका छौं। विकसित मुलूकमा स्तरन्नोति भए पश्चात गाभी फन्डबाट आउने अनुदान क्रमश: घट्दै जाने भएकोले नेपाल सरकारलाई राष्ट्रिय खोप कार्यक्रममा थप वित्तभार पर्न आउँछ। तसर्थ खोप कार्यक्रमको लागि थप वित्त व्यवस्थापन आवश्यक छ।
मर्मत संभार सम्बन्धी दीर्घकालिन व्यवस्थापन
संघमा भएका, प्रदेशमा भएका, जिल्लामा, स्थानीय तह, सब स्टोरमा भएका कोल्डचेन उपकरणहरुको नियमित मर्मतसंभार प्रिभेन्टिभ मेन्टेनेन्स प्लान अनुसार कार्य गर्ने जनशक्तिको अभाव छ। संघमा पनि न्यून जनशक्ति, प्रदेश आपूर्ति केन्द्रहरुमा भएको जनशक्तिले जिल्ला स्थानीय तह, सब स्टोरमा भएका उपकरणहरुको नियमित मर्मतसंभार गर्न कठिन छ। नेपालमा भारतको जस्तो नेसनल कोल्ड चेन एन्ड भ्याक्सिन म्यानेजमेन्ट रिसोर्स सेन्टर पनि छैन। जहाँ बिग्रेका कोल्डचेन उपकरणहरुलाऐ मर्मत गर्न सकियोस्, कोल्डचेन उपकरण मर्मतसंभार संबन्धी तालिम दिन सकियोस्। कोल्डचेन उपकरण मर्मत संभार सम्बन्धी उपयुक्त व्यवस्थापन हुन आवश्यक छ।
प्रभावकारी खोप व्यवस्थापनको कार्यान्वयन
खोप कार्यक्रमको आपूर्ति प्रणाली, भण्डारण, वितरण गुणस्तरीय भएको सुनिश्चित गर्न यूनिसेफ, डब्लुएचओबाट संयुक्त रुपमा मापदण्ड बनाइएका छन्। तीन/तीन वर्षमा मूल्याङकन गरिन्छ। त्यहीँ मूल्याङकन मापदण्डको आधारमा गाभी फन्डले नेपाल सरकारलाई खोप कार्यक्रमा अनुदान दिन्छ। प्रभावकारी खोप व्यवस्थापनका सबै मापदण्ड सबै स्तरमा कार्यान्वयन भएमात्र खोप सेवा आपूर्ति, व्यवस्थापन, भण्डारण, वितरण गुणस्तरीय हुन्छ।
प्रभावकारी खोप व्यवस्थापनका मापदण्ड
खोप आगमन प्रक्रिया, तापमान निगरानी, भण्डारण क्षमता, भौतिक पूर्वाधार, उपकरण र ढुवानी, कोल्डचेन व्यवस्थापन, स्टक व्यवस्थापन, वितरण, व्यवस्थापन र पर्यवेक्षण, फोहोरमैला व्यवस्थापन रहेका छन्। यिनी इभिएम मापदन्डको आधारमा स्ट्यान्डर्ड अप्रेटिङ प्रोसुडर अनुसार सबै तहमा संघ, प्रदेश, जिल्ला, सब स्टोर, स्थानीय तहका भण्डारण र सेवा दिने खोप क्लिनिकसम्म काम गरेमात्र खोप सेवाको गुणस्तर सुनिश्चत हुन्छ।
(उपाध्याय खोप सुपरभाइजर अधिकृत हुन्।)