परिचय
वायु प्रदूषण विश्वव्यापी मुख्य वातावरणीय केन्द्रित स्वास्थ्य समस्या बनेको छ। विशेषगरी चिसो मौसमको बेला प्रदूषित वायुको तह बाक्लो बन्दै जाने हुँदा मानव स्वास्थ्यमा धेरै गम्भीर असर परेको देख्न सकिन्छ। प्रदूषणको यस असरले विशेषगरी श्वासप्रश्वास सम्बन्धी रोगहरूलाई बढावा दिन्छ र धेरैजसो जोखिममा वृद्धवृद्धा, बालबालिका, र दीर्घकालीन रोग भएका मानिसहरूलाई पार्छ।
वायु प्रदूषणको तथ्यांकीय विश्लेषण
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा हरेक बर्ष ७० लाख मानिसले वायु प्रदूषणका कारण अकालमा नै मृत्यु हुने गरेको पाइन्छ। नेपालको सन्दर्भमा हरेक बर्ष झन्डै ३८००० मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको अनुमान गरिएको पाइन्छ। विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार विश्वका ९० प्रतिशत मानिसले दुषित हावाको सेवन गरिरहेका छन् र त्यसमा पनि विकासोन्मुख देश जस्तै नेपालको अवस्था ज्यादै अकल्पनीय रहेको छ। (तथ्यांक श्रोत: नेपालको वायुको गुणस्तरको अवस्था वार्षिक प्रतिवेदन, २०२२)
विश्व स्तरीय वायु प्रदूषणको अध्ययन गर्ने संस्था आई किउ ऐर (IQ Air) २०२३ को बार्षिक प्रतिवेदन अनुसार नेपाल वायु प्रदूषण अध्ययन गरेको १३४ वटा राष्ट्र मध्ये ८ औ स्थानमा रहेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार धुलोको कणको आकारमा २.५ माइक्रोग्राम प्रति घनमिटर (µ/m3) भन्दा कम आकारको धुलोको कण वार्षिक औषत ५ माइक्रोग्राम प्रति घनमिटर (µ/m3) हुनु पर्दछ तर नेपालको औषत ४२.४ माइक्रोग्राम प्रति घनमिटर छ जुन नियमित भन्दा ८.५ गुणाले बढी देखिन्छ। त्यसै गरि देशकै राजधानी काठमाडौंको अवस्था हेर्दा यो विश्वको वर्गीकरणमा ११औं स्थानमा रहेको छ। काठमाडौंमा सन् २०२३ को तथ्यांक अनुसार धुलोको कणको आकारमा २.५ माइक्रोग्राम प्रति घनमिटर (µ/m3) भन्दा कम आकारको धुलोको कणको औषत ४१.० माइक्रोग्राम प्रति घनमिटर (µ/m3) रहेको छ । सन् २०२३ मा मध्ये तथा दक्षिण एसियामा ०.९% शहरले मात्र विश्व स्वास्थ्य संगठनको पि.एम २.५ मात्राको निर्देशिका अनुसारको हावाको स्वच्छता कायम रहेको पाईन्छ। (तथ्यांक श्रोत : विश्व वायु गुणस्तर प्रतिवेदन २०२३)
जाडोयाम र वायु गुणस्तर
विशेष गरी जाडोयाममा पि.एम २.५ को मात्रा गर्मीको तुलनामा वढी हुने गरको पाइन्छ। चिसो मौसमको कारणले गर्दा वातावरणीय तापक्रम घट्दै जाने र जसको प्रभावले हावाको गति कम भई वायुमण्डल स्थिर हुने हुँदा पि.एम २.५ भन्दा कमका कणहरु धरातलीय सतहमा नै रहने हुँदा यसको मात्रा धेरै देख्न सकिन्छ। जाडोको समयमा मानवीय प्रयोजनमा प्रजोलन्शील पदार्थ जस्तै मट्टीतेल, डिजेल, पेट्रोल र दाउरा जस्ता बढी प्रयोगले गर्दा पि.एम २.५ को मात्रा बढी हुने गर्दछ। जाडोयाममा तापक्रम घटेसँगै धुवाँ र प्रदूषक कणहरू हावामा घुलमिल हुन गाह्रो हुन्छ, जसले गर्दा वायु प्रदूषणको मात्रा बढ्छ। यस समयमा वायुमण्डलमा प्रदूषक कणहरू फसेर हावामा रहिरहन्छन्, जसलाई "वायुमण्डलीय इन्वर्सन" भनिन्छ। यसको कारणले गर्दा प्रदूषक कणहरू माटोमा नपसी हावामा नै रहन्छन्, जसले श्वासप्रश्वासका रोगहरूलाई बढावा दिन्छ।
जोखिममा रहेका समूहहरू
प्रदूषित वायुका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला र दीर्घकालीन रोग भएका मानिसहरू बढी प्रभावित हुन्छन्। यसै गरि नियमित रुपमा बाहिरी बातावरणमा काम गर्ने व्यक्तिहरुमा पनि यसको धेरै असर देख्न सकिन्न्छ। विशेष गरि हेमन्त ऋृतु (मङ्सिर देखि चैत्र सम्म) बाहिरी वातावरणमा व्याम गर्ने मानिसहरुमा वायु प्रदूषणको धेरै प्रभाव देख्न सकिन्छ। वृद्ध व्यक्तिहरूलाई दम, उच्च रक्तचाप, र हृदय सम्बन्धी समस्याहरूको जोखिम बढी हुन्छ। यस्तै, बालबालिकामा पनि प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले यसले उनीहरूलाई छिट्टै प्रभावित पार्न सक्दछ।
स्वास्थ्यमा पर्ने प्रभाव
वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्क्षय असर गर्छ र रोग प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ। वायु प्रदूषणले तत्कालिन मात्र नभएर दिर्घकालिन असर पनि देखाउने गर्दछ। तत्कालिन असरको रुपमा टाउको दुख्ने, नाक, घाटीँ र आखाँमा जलन हुने, खोकी लाग्ने, श्वासप्रश्वास सम्बन्धी समस्याहरू जस्तै सास लिन गार्हो हुने, निमोनिया, ब्रोंकाइटिस हुने तथा छालामा जलन हुन्छ। यसै गरी दिर्घकालिन असरको रुपमा विभिन्न अंगमा फरक फरक तरिकाले असर गर्दछ। यसले केन्द्रीय स्नायु प्रणालीमा टाउको दुख्ने र तनाब हुने गर्दछ भने मुटु तथा प्रजनन सम्बन्धी विभिन्न असरहरु देखिने गर्दछ। साथै दम र क्यान्सर जस्ता श्वासप्रश्वास सम्बन्धी समस्या र संक्रमणको जोखिम बनाउँदछ।
समाधानका उपायहरू
वायु प्रदूषणको असरलाई घटाउनका लागि तत्काल उपायहरू अपनाउनु आवश्यक छ। चिसो मौसममा इन्धनको उपभोगलाई कम गर्दै प्रदूषण नियन्त्रणका लागि हरित ऊर्जाको उपयोग बढाउनुपर्छ। यस्तै, घरभित्रै सफा वायुको सुनिश्चित गर्न र मास्कको प्रयोगले पनि जाडोयाममा प्रदूषणबाट केही हदसम्म सुरक्षित रहन मद्दत गर्दछ।
सरकारले के गर्न सक्छ?
सरकारहरूले वायु प्रदूषण कम गर्नका लागि विभिन्न उपायहरू अपनाउन सक्ने छन्। वायु प्रदूषणका समस्यासँग जुद्न सरकारले विभिन्न रणनीतिहरू प्रस्ताव गर्न सक्नेछ। विश्व स्वास्थ्य संगठनको निर्देशिका लाई राष्ट्रिय व्यवस्थामा सम्मिलित गर्ने, नवीकरणीय ऊर्जा स्रोतमा लगानी बढाउने, सार्वजनिक यातायातलाई विद्युतीयमा रूपान्तरण गर्ने र विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने जस्ता कदमहरू समावेश छन्। यस बाहेक आन्तरिक रुपमा दहन इञ्जिनहरूलाई चरणबद्ध रूपमा हटाउने प्रयास गर्ने, शहरमा पैदल र साइकल यातायातको प्रवर्द्धन, उद्योगको उत्सर्जन नियन्त्रण गर्न कडा मापदण्ड लागू गर्ने आवश्यकतामा जोड दिनु पर्दछ। यसका साथै जनचेतना अभियान र क्षेत्रीय निगरानी सञ्जाल स्थापना गरेर प्रदूषण घटाउने उपायहरूलाई प्रभावकारी बनाउने र जीवन स्तर सुधार गर्ने दृष्य पेश गर्न सकिन्छ।
तपाईंले के गर्न सक्नुहुन्छ ?
वायु प्रदूषण कम गर्नका लागि व्यक्तिगत र सामुदायिक स्तरमा विभिन्न कदमहरू चाल्न महत्त्वपूर्ण छ। तपाईंले स्थानीय र राष्ट्रिय स्तरमा पहलहरूको समर्थन र प्रवर्धन गर्न, वायु गुणस्तर सुधारका लागि संस्थाहरूलाई सहयोग गर्न, र कडा वायु नीति अपनाउनका लागि क्षेत्रीय प्रतिनिधिहरूसँग संवाद गर्न सक्नुहुन्छ। थप रूपमा, वायु प्रदूषणको वर्तमान अवस्थामा जानकारी दिनका लागि स्मार्टफोन एपहरू प्रयोग गर्न, बाहिरी गतिविधिहरू घटाउन र एयर फिल्टरिङ उपकरण प्रयोग गर्न महत्त्वपूर्ण छ। व्यक्तिगत स्तरमा उर्जा बचत र फोहोर उत्पादन कम गर्नका लागि प्रयास गर्न पनि आवश्यक छ।
निष्कर्ष
वायु प्रदूषणको कारणले मानव स्वास्थ्यमा पर्ने असरलाई कम गर्न हामी सबैको जिम्मेवारी छ। यसका लागि सरकार, समाज र व्यक्तिगत स्तरमा प्रदूषण घटाउने कार्य गर्नुपर्नेछ। वायुको गुणस्तर सुधार गर्दै स्वस्थ जीवनशैली अपनाउनु हामी सबैको आवश्यकता हो।