मानसिक स्वास्थ्य को समस्यालाई, विशेषगरी ग्रामीण क्षेत्रमा, अझै पनि 'धामीझाक्री' लगाउने, भूतप्रेतको असर वा कमजोर मनोबलको परिणाम मानिन्छ। चेतनाको अभाव, लाजको भावना र सहज उपचार सेवाको अभावले गर्दा मानिसहरूले समस्या लुकाउने वा उपचारमा ढिला गर्ने गरेका छन्। जसले समस्या गम्भीर हुने जोखिम बढाएको छ।
स्थानीय र प्रदेश स्तरका मानसिक स्वास्थ्य योजना र सर्वसाधारणका लागि यस्ता रणनीतिले सेवा सुधारका दिशामा सहयोग गर्नेछ। त्यसको लागि सर्वप्रथम स्थानीय तह तथा प्रदेशस्तरमा मानसिक स्वास्थ्यको अवस्थाको विश्लेषण र प्राथमिकता पहिचान गर्न आवश्यक छ। जसका लागि :
समुदायस्तरमा अध्ययन: समुदायमा मानसिक स्वास्थ्य समस्या कस्तो अवस्थामा छ भन्ने बुझ्न सर्वेक्षण, अन्तरवार्ता, र अस्पतालको मेडिकल रेकर्डहरुको विश्लेषण गर्ने।
आवश्यकताको पहिचान:
मानसिक स्वास्थ्यको विशेषज्ञ जनशक्तिको आवश्यकता,तालिम प्राप्त मेडिकल अधिकृत, क्लिनिकल साइकोलोजिस्ट (मानसिक स्वास्थ्यको अति आवश्यक जनशक्ति जसको बारेमा चर्चा कम गरिन्छ), मनोसामाजिक परामर्श तालिम प्राप्त नर्स र प्यारामेडिक्स जस्ता जनशक्ति, भौतिक पूर्वाधार, औषधि तथा उपचारका लागि चाहिने अन्य सामग्रीहरू र बजेटको स्थिति मूल्याङ्कन गर्दै प्राथमिकताको क्षेत्रहरूको सूची बनाउने र कार्यान्वयन गरिमा अटुट मानसिक स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ।
नीति, पैरवी र सामुदायिक सचेतना
नीति पैरवी: स्थानीय स्वास्थ्य निकायसँग सहकार्य गरी मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने नीति सुनिश्चित गर्ने।
सामुदायिक सचेतना: रेडियो, सामाजिक सञ्जाल, विद्यालय, र सांस्कृतिक कार्यक्रम मार्फत जनचेतना फैलाउने।
गलत धारणा हटाउने: मानसिक स्वास्थ्य समस्याबाट निको भएकाहरूको अनुभव बाँड्दै सकारात्मक दृष्टिकोण विकास गर्ने।
भौतिक पूर्वाधारको विकास
मानसिक स्वास्थ्य उपचारको लागि पूर्वाधारहरूको अभाव नेपालमा एक प्रमुख चुनौती हो। हाल धेरैजसो अस्पतालहरूमा मानसिक स्वास्थ्यसम्बन्धी ओपीडी सेवा उपलब्ध भएतापनि, धेरै प्रादेशिक अस्पतालहरूमा छुट्टै परामर्श कोठा र उपचार इकाईको व्यवस्था गरिएको छैन। यो समस्या समाधान गर्न मानसिक स्वास्थ्य क्लिनिक स्थापना गर्नु अत्यावश्यक छ।
इनप्यासेन्ट सुविधा
गम्भीर मानसिक समस्याहरू, जस्तै साइकोसिस, गम्भीर डिप्रेसन र दुर्व्यसनमा परेका व्यक्तिहरूको उपचारका लागि छुट्टै वार्डको व्यवस्था गर्नुपर्छ। यसका लागि मानसिक रोग विशेषज्ञ, प्रशिक्षित मेडिकल अधिकृत, प्रशिक्षित नर्स र सुरक्षाका लागि आवश्यक जनशक्ति अनिवार्य छन्। बिरामी भर्ना प्रक्रिया सफल बनाउन यी सबै पूर्वाधार व्यवस्थित गर्नुपर्छ।
मानसिक स्वास्थ्यका बिरामीहरूको भर्ना अवधि अन्य बिरामीहरूको तुलनामा लामो हुने भएकाले कुल उपचार खर्च पनि महँगो हुन्छ। बिरामीको औषधि, खाना र अन्य व्यवस्थापनका लागि छुट्टै बजेट छुट्याउनु पर्छ। साथै, बिरामीको रेखदेखका लागि एक जना कुरुवाको आवश्यकता अनिवार्य हुने भएकाले त्यो कुरुवाको जीविका समस्या पनि सम्बोधन गर्न जरुरी छ।
यी समस्याहरूलाई समाधान गर्न सरकार र सम्बन्धित निकायले मानसिक स्वास्थ्य उपचारमा सहुलियत र प्रोत्साहन प्रदान गर्नुपर्छ। उपचार खर्चमा अनुदानको व्यवस्था गरी सबै वर्गका व्यक्तिहरूलाई मानसिक स्वास्थ्य सेवा पहुँचयोग्य र सस्तो उपचार सेवा दिनुपर्छ।
गोपनीयता र सुरक्षा
मानसिक स्वास्थ्य उपचारमा बिरामीको गोपनीयता सुनिश्चित गर्नु महत्वपूर्ण हुन्छ। बिरामीका मानसिक अवस्थाका विवरणहरू सुरक्षित राखी बिरामीको आत्मसम्मान कायम राख्ने गरी सेवा प्रवाह गर्नुपर्दछ।यसबाट बिरामीहरू सहज तरिकाले सेवा लिन आउने वातावरण बन्छ।
जनशक्ति विकास
मानसिक स्वास्थ्यमा साइकोलोजिस्टको आवश्यकता र महत्व : मानसिक स्वास्थ्य समस्याहरूको पहिचान र उपचारमा क्लिनिकल साइकोलोजिस्टको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ।
मानसिक रोगको प्रारम्भिक अवस्था पहिचान गर्ने, काउन्सेलिङद्वारा बिरामीलाई सहयोग गर्ने र उपचार प्रक्रियामा डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्ने काम साइकोलोजिस्टले गर्छन्।
व्यक्तिको मानसिक अवस्था र मनोविज्ञानलाई गहिराइमा अध्ययन गरेर प्रभावकारी समाधान प्रस्तुत गर्न उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। मानसिक स्वास्थ्यको क्षेत्रमा क्लिनिकल साइकोलोजिस्टको अभाव पूर्ति गर्न २५ बेडभन्दा माथिको अस्पतालहरूमा दरबन्दी सिर्जना गरी पदपूर्ति गर्ने उचित नीति र योजना आवश्यक छ।
तालिम र क्षमता अभिवृद्धि : डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान र सीप प्रदान गर्न विश्व स्वास्थ्य संगठनको निर्देशिका मा आधारित तालिम अनिवार्य गर्नुपर्छ। यसले उनीहरूलाई मानसिक स्वास्थ्य समस्या समयमै पहिचान गर्न र उचित उपचार गर्न सक्षम बनाउँछ।
समुदाय स्वास्थ्यकर्मीको भूमिका : महिला स्वास्थ्य स्वयंसेविका र अहेब, त्यस्तैगरी मानसिक सामाजिक कार्यकर्तालाई समुदायस्तरमा मानसिक स्वास्थ्य समस्याहरू पहिचान गर्न, समयमा विशेषज्ञकोमा रेफर गर्न र बिरामीले लामो समयसम्म औषधि खानुपर्ने भएकोले बिरामीको उपचारमा औषधिको प्रयोग नियमित गरिरहेका छन् कि छैनन् भन्ने कुराको अनुगमन गर्न विशेष तालिम दिनुपर्छ। मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने र प्रारम्भिक अवस्था पहिचान गरेर बिरामीलाई उपयुक्त सेवा प्रदान गर्ने जिम्मेवारीमा उनीहरू लाई सशक्त बनाउनु पर्दछ।
स्थायी र करार नियुक्ति : देशभर मानसिक स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्न क्लिनिकल साइकोलोजिस्ट र साइकेट्रिस्टको स्थायी तथा करार नियुक्तिको प्रक्रिया छिटो सम्पन्न गर्नुपर्छ। यसले जनशक्ति अभावलाई कम गर्ने र सेवा प्रवाहलाई व्यवस्थित बनाउन सकिन्छ।
सेवा सञ्चालन योजना : आउटप्यासेन्ट सेवा: स्थानीय तथा प्रदेश स्तरका अस्पतालहरूमा डिप्रेसन, एङ्जाइटी र पदार्थ दुर्व्यसनजस्ता समस्याको परामर्श र हाल हाल १२ प्रकारका औषधि उपलब्ध छन् यसलाई क्रमश विस्तार गर्दै लानुपर्छ।।
मानसिक स्वास्थ्यलाई अन्य सेवासँग एकीकरण: बालरोग विभाग, गर्भवती सेवा विभाग, जेष्ठ नागरिक उपचार विभाग र दीर्घरोग व्यवस्थापनजस्ता सेवामा मानसिक स्वास्थ्य परीक्षणको व्यवस्था लाई एकीकृत रूपमा उपचार गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
हेल्पलाइन: मानसिक स्वास्थ्य संकटका लागि ११६६ हेल्पलाइन सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने।
टेलिमेडिसिन वा सेलीमेडिसिन: मानसिक रोग विशेषज्ञ नभएको ठाउँमा श्रव्य दृश्य सहितको काउन्सेलिङ वा मोबाइल फोन मार्फत स्थानीय स्तरका र प्रदेश स्तरका मेडिकल अधिकृतहरूलाई उपचारमा सहयोग गर्न सकिन्छ। जुन विभिन्न देशहरूमा गरिएको अध्ययनहरूमा प्रभावकारी देखिएको छ।
सहकार्य र नेटवर्किङ
गैरसरकारी संस्थासँग सहकार्य: तालिम, आर्थिक र प्राविधिक सहयोगका लागि मानसिक स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्ने।
रेफरल प्रणाली: जटिल केसका लागि प्रदेश र केन्द्रीय अस्पतालसम्म रेफरल प्रणाली विकास गर्नुपर्दछ र सोको बारेमा स्थानीय तह, प्रदेश अस्पताल र केन्द्रीय अस्पताललाई समेत अभिमुखीकरण को आवश्यकता रहेको छ।।
समुदायमा पुनःस्थापना: निको भएका बिरामीलाई पुनःस्थापनामा समुदायको संलग्नता बढाउने।
अनुगमन र मूल्याङ्कन
डाटा संकलन: मानसिक स्वास्थ्य सेवा र उपचारको प्रभावकारिता मापन गर्न इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीको प्रयोग गर्नाले समुदायमा रोगको भार, रोगको प्रकृति ,उपचारको आवश्यकता र समयमा चाल्नुपर्ने कदमआवश्यक रणनीति तयार गर्न यसले सही मार्गदर्शन गर्दछ।
नियमित समीक्षा: सेवाको प्रभावकारिता, बिरामी सन्तुष्टि, र सुधार दरका आधारमा आगामी रणनीति तय गर्ने।
बजेट र कार्यक्रम दिगोपनको सुनिश्चितता: बजेट व्यवस्थापन: मानसिक स्वास्थ्य सेवाका लागि प्रदेश र स्थानीय तहबाट निरन्तर स्थिर बजेट विनियोजनको नीतिले यस्तो कार्यक्रमको दिगोपना सुनिश्चित गर्न सकिन्छ।
कार्यक्रमको स्वामित्व: समुदाय र स्थानीय निकायलाई स्वामित्व हस्तान्तरण गरी दिगो सेवा सुनिश्चित गर्न सकिन्छ।
उपचारमा नैतिक पक्षहरूको समावेशीकरण
नैतिक अभ्यास: बिरामीको गोपनीयता र सहमति सुनिश्चित गर्दै सामाजिक संवेदनशीलता कायम राख्ने।
निष्कर्ष: मानसिक स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन पूर्वाधार निर्माण, जनशक्ति विकास, र गोपनीयताको सुनिश्चितता अपरिहार्य छ। मानसिक रोगका बिरामीहरूलाई सम्मानजनक व्यवहार गर्दै प्रभावकारी सेवा दिन राज्यले अभिभावकत्व लिँदै यसलाई लागू गर्न गम्भीर प्रतिबद्धता आवश्यक छ। तालिम, प्रोत्साहन, र सहुलियत मार्फत मानसिक स्वास्थ्य सेवा सस्तो, सहज, र पहुँचयोग्य बनाउन सकिन्छ।
यदि माथिका रणनीतिहरू स्थानीय र प्रदेश स्तरमा व्यवस्थित रूपमा लागू गरियो भने, मानसिक स्वास्थ्य सेवा ग्रामीण देखि शहरी क्षेत्रमा समेत प्रभावकारी हुनेछ।
यसबाट समुदायमा रहेको डर, लाज र गलत धारणा हटाउन सहयोग गर्नुको साथै मानसिक स्वास्थ्यलाई प्राथमिकताका साथ विकास गर्नाले स्वस्थ मात्र होइन एउटा खुसी समाज निर्माणको कोसेढुङ्गा साबित हुनेछ।