काठमाडौं- हेल्थ एआइ फर अल कन्फ्रेन्स (हाइकन) २०२५ काठमाडौँमा सुरु भएको छ। नेपाल र नेपालजस्ता विकासशील देशहरुमा स्वास्थ्य एआइको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्नका लागि स्थापना भएको हेल्थ एआइ फर अल नेटवर्कले (हाइनेट) कन्फ्रेन्सको आयोजना गरेको हो।
हाइनेट नेटवर्कको सञ्चालक समितीमा तीन चौथाइ सदस्यहरु विकासशील र विकासउन्मुख देशका रहने गर्छन्। सोही अनुरुप हाइनेटले विकासशील देशहरुले स्वास्थ्य सेवाको समस्या पहिचान गरि त्यसलाई स्वास्थ्य एआइको माध्यमबाट समाधान गर्ने उदेश्य लिएर विस्तृत छलफल गर्न कन्फ्रेन्स आयोजना गरेको हो।
नेपालको अग्रसरतामा स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सिमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसहरुमा पनि पुगोस् भन्ने अभिप्रायले सन् २०२४ को अन्त्यतिर हाइनेट सुरु गरेको नेटवर्कका सञ्चालक समितिका संस्थापक सदस्य डा किरणराज पाण्डे बताउँछन् ।
उनका अनुसार, स्वास्थ्य सेवा वितरणमा महत्वपूर्ण परिवर्तन ल्याउन, मानव स्वास्थ्य सुधार गर्न र स्वास्थ्यमा सबैको पहुँच पुराउन स्वास्थ्य एआइले कसरी भूमिका खेल्छ भन्ने विषयमा कन्फ्रेन्समा छलफल हुनेछ। त्यसैगरि, नेपालजस्ता विकासशील देशहरुले सहकार्य गरेर स्वास्थ्यमा भएका आफ्ना समस्या पहिचान र स्वास्थ्य एआइ विकास गर्न स्वामित्व लिन सहकार्य गर्ने विषय पनि कन्फ्रेन्स केन्द्रित रहनेछ। 'हाइनेट नेटवर्कले स्वास्थ्य एआइमा विकासशील र विकाउन्मुख देशहरुले आफ्नो वैज्ञानिक एजेण्डा स्थापित गर्न र आफ्नो आवश्यकता निर्धारण गर्ने काममा सहकार्य गर्नका निम्ति ज्ञान निर्माण, नीतिगत पहल र विज्ञान प्रविधी आदान प्रदान गर्ने काम गर्नेछ,' डा पाण्डेले भने।
हाइनेटकाे संस्थापक सदस्य डा विशेष खनाल विकासउन्मुख देशहरू स्वास्थ्य एआई प्रविधिकाे उपभाेक्ता मात्र नभइ उत्पादक पनि हुने सम्भावनाकाे प्रवर्द्धन गर्न याे नेटवर्कले काम गर्ने बताउँछन्। याे सम्मेलनमा विकास उन्मुख देशका स्वास्थ्य प्रणालीमा स्वास्थ्य एआइ प्रविधिले कसरी सहयाेग पुराउन सक्छ भन्ने विषयमा पनि छलफल हुनेछ। ' याे कन्फ्रेन्समा स्वास्थ्य एआइमा नेपालबाटै भइरहेका विश्वस्तरिय अध्ययन अन्वेषणहरूकाे पनि प्रस्तुति हुनेछ,' उनले भने।
नेटवर्कका सदस्य तथा युनिभर्सिटी अफ एभर्डिनका सहप्राध्यापक बिनोद भट्टराई पछिल्लो समय विकसित देशहरुमा स्वास्थ्य क्षेत्रमा एआइको प्रयोग व्यापक भइरहेको बताउँछन्। यद्यपी, नेपाल र नेपालजस्ता स्वास्थ्य सेवाको सिमित स्रोत भएका स्थानमा रहेका बिरामीलाई एआइ प्रविधीको लाभ नपाउने जोखिम पनि उस्तै रहेको उनको भनाइ छ। उनका अनुसार, हाइनेटले नेपालजस्ता विकासशील देशले आफ्नो स्वास्थ्य समस्याहरुको प्राथमिकता निर्धारण गरेर त्यसलाई समाधान गर्न स्वास्थ्य एआइको विकास गर्न स्वामित्व लिनका लागि यो कन्फ्रेन्सको महत्वपुर्ण भुमिका हुन्छ। 'स्वास्थ्य एआइको मार्फतबाट नेपालजस्ता विकासशील देशका बिरामी र प्रयोगकर्ताले कसरी लाभ प्राप्त गर्न सक्छन् भनेर कन्फ्रेन्समा नीतिगत बहस हुनेछ,' भट्टराईले भने।
भट्टराईले हाइकनलाई संसारभरका अनुसन्धानकर्ता, स्वास्थ्यकर्मी, यस क्षेत्रमा संगल्ग्न व्यक्ती र बिरामीहरुलाई एआइको प्रयोग र अभ्यास गर्ने प्लेटफर्म बनाउने उदेश्य राखेको बताए।
कन्फ्रेन्समा स्वास्थ्य एआइको बारेमा छलफल र विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । कन्फ्रेन्समा स्वास्थ्य एआइलाई विश्वव्यापी सार्वजानिक पुजीका रुपमा कसरी विकास गर्न सकिन्छ भनेर पहिलो शत्र सञ्चालन हुनेछ।
त्यसैगरि, स्वास्थ्य एआइको वर्तमान अवस्था कस्तो रहेको छ र नेपाल र नेपालजस्तो देशहरुको स्वास्थ्य सेवामा यसले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा दोस्रो शत्र आयोजना हुनेछ।
तेस्रो शत्रमा भने स्वास्थ्य एआइको प्रयोग र फाइदाबाट कोहीपनि व्याक्ती वञ्चित नहुनको लागि के गर्न सकिन्छ भन्ने विषयमा खुला छलफल हुनेछ।
सम्मेलनमा विभिन्न देशका विज्ञहरुले स्वास्थ्य एआइलाई स्वास्थ्य प्रणालीमा कसरी संग्लग्न गर्न सकिन्छ, कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ र यसको सम्भावना, चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याट्रिक्स एण्ड एन्फोम्याट्रिक्स (नामी) को सहआयोजना रहेको कन्फ्रेन्स २ दिनसम्म चल्नेछ। कन्फ्रेन्समा एसिया, अफ्रिका उत्तर तथा दक्षिण अमेरिकाबाट विज्ञ तथावक्ताहरू सहभागी रहेका छन्। त्यस्तै भर्चुअल माध्यमबाट सयाैँले हेरिरहेका छन्।