काठमाडौं- नेपाल फार्मेसी काउन्सिलले फार्मेसी अभ्यास, आचार संहित र ड्रेस कोड लगायतका विषय पालना भए नभएको विषयमा निरीक्षण सुरु गरेको छ।
काउन्सिलले पहिलो चरणमा अस्पताल फार्मेसीबाट निरीक्षण थालेको काउन्सिलका रजिष्ट्रार सञ्जिब पाण्डेयले जानकारी दिए। 'काउन्सिलको मंसिर ४ गतेको निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ड्रेस कोड लगायत फार्मेसी अभ्यासका विषयमा निरीक्षण गर्न थालिएको हो,' पाण्डेयले भने।
काउन्सिलले पुस ४ गतेदेखि अनिवार्य रुपमा फार्मेसीमा कार्यरत जनशक्तिले ड्रेस कोड लगाई सेवा दिनुपर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनमा आए/नआएको निरीक्षण गर्न सुरु गरिएको र सिभिल र काठमाडौं मोडल अस्पतालमा निरिक्षण भइसकेको पाण्डेयले जानकारी दिए।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि लिएको अग्रसरतालाई साथ दिँदै फार्मेसी अभ्यासको निरीक्षण अगाडि बढाइएको जानकारी दिए।
परिषद्का अनुसार ड्रेस कोडमा अब फार्मेसीको औषधि डिस्पेन्सिङमा बस्ने फर्मासिस्टले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो खल्ती माथि हरियो पृष्ठभूमिमा सेतो रंङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्लेख भएको नेम ट्याग राख्नु पर्नेछ ।
यस्तै फार्मेसी सहायकले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो भागमा रहेको खल्ती माथि निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम पद र परिषद् दर्ता नम्बर उल्लेख गर्नुपर्नेछ।