काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) र धुलिखेल अस्पतालबीच चुलिँदै गएको विवाद समाधान गर्न एक समिति गठन भएको छ। केयूको ९८ औँ सभाको सोमबार बसेको बैठकले विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरेको हो।
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले केयूको माघ ४ गते बस्ने सिनेट बैठकमा प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेका हुन्। समितिलाई सोही अनुसारको अख्तियारी पनि दिइएको छ।
समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा डा मनोज हुमागाईँ, स्कुल अफ 'ल'का डीन डा ऋषिकेश वाग्ले तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा विराज कर्माचार्य र अनुसन्धान निर्देशक प्रा डा राजीब श्रेष्ठ सदस्य रहेका छन्।
केयू र अस्पतालबीच विवाद बढ्दै जाँदा दुई संस्था छुट्टिने अवस्थामा पुगेका छन्। धुलिखेलले छुट्टै प्रतिष्ठानको काम अगाडि बढाइरहेको छ भने केयूले अर्को अस्पताल निर्माणको काम अगाडि बढाइरहेको छ।
दुई संस्थाबीच विसं. २०५९ चैत १९ गते आपसी सम्झौताका आधारमा सहकार्य हुँदै आइरहेको छ। तर दुई संस्थाबीच खटपट बढ्दै गएपछि यसबीचमा मिलाउने प्रयासहरु पनि भएका थिए। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको संयोजनमा दुवै पक्षलाई संवाद र सहमतिको विन्दुमा ल्याउन पहल भइरहेको छ।
सोमबारको बैठकमा यी विषयमा पनि छलफल भएको बताइएको छ।