काठमाडौं- ह्याम्स अस्पतालमा नेपालमै पहिलो पटक शरीरमा घाउ नबनाई इण्डोस्कोपी विधिद्वारा जटिल शल्यक्रिया सम्पन्न भएको छ। खानाको नलीमा समस्या भएका ३ बिरामी (२ महिला र एक पुरुष) को गत पुस १ गते सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
डा विवेककुमार पुर्वेको नेतृत्वमा गरिएको थियो शल्यक्रिया
अस्पतालका कन्सल्ट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा विवेककुमार पुर्वेको नेतृत्वमा भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालका प्रमुख डा विकास सिंगलको निगरानीमा उक्त शल्यक्रिया सम्पन्न भएको थियो। जसमा ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा नन्दु पौडेल सिलवाल, डा अजित खनाल, एन्स्थेसियामा डा मुरारीराज उप्रेती र डा सुरज लामिछानेको सहयोगमा उक्त शल्यक्रिया नेपालमा पहिलो पटक गरिएको अस्पतालको दाबी छ। हाल बिरामीको अवस्था सामान्य भएर डिस्चार्ज गरिसकिएको अस्पतालले जनाएको छ।
कस्तो समस्यामा गरिन्छ यस प्रकारको शल्यक्रिया ?
विश्वभरमा करिब १ लाखमध्ये एक जनालाई ठोस तथा तरल पदार्थ निल्नै कठिन हुने समस्या हुन्छ। यस्तो समस्यामा खानामा निल्न गाह्रो हुनुका साथै तौल घट्ने, खोकी लागिरहने जस्ता समस्या हुने गर्छ।
हालसम्म नेपालका केही अस्पतालहरुमा यस रोगको उपचार बेलुन फुलाएर खाद्यनलीको तल्लो भागको हाई टोनमा खुम्चिएर बसेको मांसपेसीलाई काटेर खानेकुरा तथा तरल पदार्थ खान सक्ने बनाउने गरिएको थियो। जसलाई नन् इन्भासिभ सर्जरी भन्ने गरिन्छ।
जापानमा पहिलो भएको थियो यस प्रकारको शल्यक्रिया
यस प्रकारको इन्स्कोपिक सर्जरी विश्वमा पहिलो पटक जापानको टोकियोमा सफलतापूर्वक सम्पन्न गरिएको थियो। डा हाराहिरो इनाइले सन् २००८ मा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेपश्चात् अमेरिकामा उक्त विधिको शल्यक्रिया गरिएको थियो। तर विकसित भनिएका अधिकांश देशहरुमा समेत यस प्रकारको शल्यक्रिया प्रयोगमा आइसकेको छैन। छिमेकी मुलुक भारतका केही अस्पतालहरुमा मात्रै यस विधिबाट गरिने शल्यक्रिया प्रयोगमा छ।
भारतमा २ लाख १० हजार भारतीय रुपैयाँमा गरिँदै आइएको उक्त शल्यक्रिया ह्याम्स अस्पतालले करिब १ लाखको लागतमा गरेको थियो।