काठमाडौँ- चितवन मेडिकल कलेज (सीएमसी) शिक्षा र सेवा दुवैका लागि प्राथमिकताका साथ रोजिनेमध्येमा पर्छ। त्यसमध्ये आपतकालीन (इमर्जेन्सी) सेवाका लागि झन्डै दुई दशकदेखि त्यो क्षेत्रकै भरोसाको केन्द्र बनेको छ।
कलेजका सञ्चालक डा हरिश न्यौपानेका अनुसार कलेजको इमर्जेन्सी विभागलाई आमजनको भरोसा बनाउन दुई दशकदेखि नै एउटा व्यक्ति अनवरत डटिरहेका छन्। उनी हुन्, डा दयाराम लम्साल।
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा एमडीजीपी गरेका लम्सालले सुरुमा लोकसेवा पास गरेर सरकारी सेवा रोजेका थिए। त्यो बेला नेपालमा अहिलेको जस्तो 'एक व्यक्ति, एक संस्था' अवधारणामा काम थालिइसकेको थिएन।
लम्सालको टिप्पणी छ, 'सुविधाका हिसाबले सरकारीमा सेवा गर, क्लिनिकमा कमाउ भने जस्तो थियो। मलाई एउटा संस्थामा बसेर इमर्जेन्सी सेवा प्रभावकारी रुपमा दिन पाए हुन्थ्यो भन्ने लागिरहेको थियो।' त्यही बेला सीएमसी खुल्ने भयो। एउटै संस्थामा पूर्ण रुपमा काम गर्न पाउने भएपछि उनी सरकारी जागिर, आफ्नो क्लिनिक दुवैलाई छाडेर यहाँ आइपुगे।
कलेजको स्थापनाकालमै डा न्यौपानेलाई उनले एउटा सर्त राखेका थिए- इमर्जेन्सीलाई प्राथमिकतामा राख्ने भए म काम गर्छु। पूर्वपश्चिम राजमार्ग, त्यसमा पनि त्यो समय अत्यधिक दुर्घटना हुने क्षेत्र भएकाले इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउने कुरा सर्जन समेत रहेका कलेज सञ्चालक न्यौपानेलाई मनासिव लाग्यो।
यो विभागलाई कलेजको सुरुवाती चरणमै 'मेरुदण्ड' बनाउनका लागि योजना बनाउने र कार्यान्वयन गर्ने कार्य डा लम्सालले गरे। उनको अनवरत लगन, खटन र इमर्जेन्सीप्रतिको फरक बुझाइका कारण स्थापनाको केही समयमै कलेजको अस्पताल उपचारका लागि प्रमुख रोजाइ बन्न पुग्यो।
इमर्जेन्सी भन्नेबित्तिकै सानो क्षेत्रमा खुम्चिएको भिडभाडयुक्त ठाउँको पर्याय जस्तो लाग्छ। डा लम्सालले सुरुदेखि नै यही गलत भाष्य र अभ्यासलाई चिर्ने कोसिस गरे। इमर्जेन्सीका लागि फराकिलो क्षेत्र मात्रै होइन, सोच समेत फराकिलो राख्न जरुरी भएको कुरामा जोड दिए।
इमर्जेन्सीमा काम गर्न आउने हरेक नयाँलाई उनले भन्ने पहिलो वाक्य हो- अस्पतालमा आइसकेको बिरामीका लागि होइन, आउन सक्ने बिरामीका लागि तयारी अवस्थामा रहनू। उनी बुझाउँदै थप्छन्, 'बिरामी आएपछि तयारी गर्न थाल्यो भने ढिलो हुनसक्छ। जुनसुकै स्वास्थ्य समस्याको जस्तोसुकै अवस्थामा बिरामी आउन सक्छ भनेर तयार भएर बसियो भने पो जोगाउन सकिन्छ।'
चिकित्सामा अवधारणाहरु समयानुकुल परिवर्तित छन्। कुनै समय 'गोल्डेन आवर' भनिन्थ्यो, अहिले 'मिनेट इज मसल्स' भन्ने आइसक्यो। अर्थात् केही मिनेट मात्रै चाँडो गर्न सकियो भने बिरामीको ज्यान जोगाउन सकिन्छ भन्ने हो। उनी भन्छन्, 'बिरामी अस्पताल आएपछि तयारी गर्न थाल्दा ती मिनेटहरु घर्किन सक्छन् । त्यसैले पहिले नै तयारी गर्नुपर्छ।'
इमर्जेन्सीका आफ्ना सहकर्मीलाई उनको अर्को महत्वपूर्ण अर्ती दिइरहन्छन्- सिनियर डाक्टर हो भने कहिल्यै जुनियरमध्येको काबिललाई आफूसँगै चिया-खाजा नलैजानू। जुनियर हो भने जहिल्यै सिनियरलाई जानकारी गराएर मात्रै निस्किनू। उनी यसको कारण खोल्छन्, 'सिनियर चिकित्सकले जुनियर राम्रोलाई चियाखाजा खान गएकै बेला बिरामी आइपुग्न सक्छ। जुनियर काबिल भयो भने सिनियर आउन्जेलसम्म सम्हाल्न सक्छ।'
डा लम्सालको अनुभवमा उपचार सेवामा चिकित्सकको काबिलियतको अर्थ हुन्छ, तर नर्सहरुको भूमिका र दक्षतालाई नजरअन्दाज गरियो भने सफलता हासिल हुँदैन । अस्पताल निर्देशकका रुपमा समेत काम गरिरहेका उनले सधैं 'टिमवर्क'मा विश्वास गरे। त्यो टिममा नर्सहरु पनि उत्तिकै हिस्सेदार रहेको कुरालाई कहिल्यै नबिर्सिएको बताउँछन्।
इमर्जेन्सीका लागि नर्सिङ तथा अन्य सहयोगी विभाग बलियो बनाउन राष्ट्रिय/अन्तर्राष्ट्रिय सहकार्य, तालिम लगायत जरुरी रहेको उनको बुझाइ छ। त्यसका लागि सकेसम्म पहल गरिरहेका हुन्छन्।
इमर्जेन्सी विभाग सफल बनाउन टिमवर्कको कुरा गरिरहँदा उनी अस्पतालका अन्य विभागको सक्रियता र भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउँछन्। 'इमर्जेन्सीले तत्कालका लागि जीवन रक्षा गर्छ, बिरामीको समस्याको पहिचान गरेर तुरुन्तै सही र स्थायी समाधानका लागि अस्पतालका अन्य विभाग आवश्यक पर्छन्। अन्य विभागको सक्रियता र सहकार्य पनि इमर्जेन्सी विभागको सफलता/असफलताका महत्वपूर्ण हिस्सेदार हुन्छन्। सही समयमा सही निदान र निरन्तर केयर पनि महत्वपूर्ण हुन्छन्,' उनले भने।
इमर्जेन्सी विभागलाई अस्पतालको मेरुदण्ड मानिरहँदा इमर्जेन्सीकै मेरुदण्ड भने आवासीय चिकित्सक हुन् भन्ने भुल्न नहुने उनी बताउँछन्। सीएमसी मेडिकल कलेज समेत भएकाले अहिले त्यहाँ पढेकालाई सकेसम्म त्यहीँ काम गर्न प्रेरित गरिन्छ। जसले एउटा चक्र निर्माण भएको उनी बताउँछन्। यही चक्रका कारण अनुभव, इमर्जेन्सीप्रतिको बुझाइ र बनाइएका प्रोटोकल थप प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ।
'इमर्जेन्सी भन्ने बित्तिकै सीएमएसी लैजाउँ भन्ने बनाउन हामीले सुरुदेखि स्पष्ट अवधारणा बनाएर कार्यान्वयन गर्यौं,' उनले भने, 'त्यसले हाम्रो मेडिकल शिक्षा र सेवा दुवैका लागि योगदान गर्यो।' इमर्जेन्सी बलियो बनाउने हो भने उनका अनुसार तीन कुरामा प्रस्ट हुनुपर्छ- अभ्यास, शिक्षा र प्रणाली विकास।
उपत्यका बाहिर एमडी र डीएममा इमर्जेन्सी चिकित्सा (एमडीजीपी, डीएम इन इमर्जेन्सी मेडिसिन) पढाउने कलेज पनि सीएमसी मात्रै हो। जुन कार्यक्रमले त्यहाँको इमर्जेन्सी विभागलाई बलियो बनाउन ठूलो भूमिका खेलेको उनले बताए। एमडीजीपी इमर्जेन्सीका लागि उपयुक्त जनशक्ति मानिन्छ । तर यो डिग्री नेपालमा सुरु गर्दाको सोच यो भन्दा फराकिलो रहेको डा लम्साल बताउँछन् ।
उनी यसको इतिहास उधिन्दै भन्छन्, 'नेपाल जस्तो देशका सबै जिल्ला अस्पतालमा सबै प्रकारका विशेषज्ञ पुर्याउन सम्भव थिएन। त्यसैले एउटैले प्रारम्भिक चरणका सबै उपचार गर्ने, औषधि दिने व्यक्ति चाहिएको थियो। तत्कालीन राजा वीरेन्द्र सुर्खेत पुगेका बेला कसैले भनिदियो- त्यसका लागि त जीपी डाक्टर चाहिन्छ। उनले ७५ जिल्लाका लागि १५० जना डाक्टर उत्पादन गर्ने घोषणा गरे।'
बेलायतको 'नेसनल हेल्थ सिस्टम'मा अनावश्यक रिफर रोकेर उपचारमा आर्थिक भार घटाउन लागू भएको थियो त्यो अवधारणा। नेपालका दुर्गम बस्तीमा स्वास्थ्य उपचार पहुँच पुर्याउन भूमिका खेल्ने विषयमा तत्कालीन राजा वीरेन्द्र 'कन्भिन्स्ड' थिए। तर अपेक्षित जनशक्ति उत्पादन हुन सकेन।
डा लम्साल भन्छन्, 'जीपीको मुख्य मान्यता बिर्सिइएको छ। हरेक बिरामी जीपी हुँदै अन्य विशेषज्ञकोमा पुग्ने व्यवस्थाले राज्यलाई आर्थिक भार कम हुने कुरालाई पनि अब सँगै अगाडि बढाउनुपर्छ।'
इमर्जेन्सी राज्यको प्राथमिकतामा नपरेको कुराले उनलाई जहिल्यै पिरोलिरहन्थ्यो। आफ्नो तर्फबाट उनले नीति-निर्मातालाई बुझाउने कोसिस सधैं जारी राखे। भौतिक संरचना र जनशक्ति उत्पादन दुवैमा पछिल्लो पाँच वर्षमा केही परिवर्तनको संकेत उनले पाएका छन्। तर अपेक्षित विकास अझै नभएको टिप्पणी गर्छन्।
डा लम्सालले इमर्जेन्सी उपचार सेवालाई आफ्नो जीवनको हिस्सा बनाउने निर्णय मेडिकल अफिसरका रुपमा सरकारी सेवामा रहँदा गरेका हुन्। जहाँ तुरुन्तै सेवा चाहिएको छ, त्यही प्राथमिकता नपरेको कुराले उनलाई निकै नै पिरोलेको थियो। उनी सम्झिन्छन्, 'इमर्जेन्सी विभाग सबैभन्दा सानो ठाउँमा हुने र सिकिस्त बिरामी नै कम प्राथमिकता पर्ने देखियो। त्यसपछि मैले एमडीजीपी पढ्न निधो गरेको हुँ।'
इमर्जेन्सी शब्दले धेरै कुरा एकसाथ दर्शाउँछ। अन्य कुनै कुरातिर ध्यान नदिई जीवन जोगाउने कुरालाई अर्थ्याउँछ। डा लम्साल भन्छन्, 'बिरामी अस्पताल पुग्छ तर उसको नाम, वतन, घर आफन्त कसैको पत्तो हुँदैन। त्यसको पनि उपचार गर्नुपर्छ। दुर्घटनामा परेर आएका बिरामी त्यस्तै हुन्छन्। जसको कोही हुँदैन, उसको उपचार गर्नुपर्छ। यहाँनेर अस्पतालले मानवीय भावनालाई प्रमुख मानेर सेवा दिनुपर्छ।' इमर्जेन्सीमा दिने सेवाबापत तोकिएको शुल्क प्राप्त नहुन पनि सक्छ तर उपचार गर्नुपर्छ भन्ने बुझाइमा जोड दिनुपर्ने उनी बताउँछन्।
यी १८ वर्षमा डा लम्सालले सयौं गम्भीर अवस्थामा पुर्याइएकाहरुलाई 'रेडजोन'मा राखेर जीवनको हरियो बत्ती बालिदिएका छन्। उनलाई आफ्नै जीवनमा आउने दु:ख भुलेर मुस्कुराउने बहाना पनि तिनै दृश्यहरु हुन्।