काठमाडौं- एम्बुलेन्समार्फत् लागु औषध तस्करी गरेको आरोपमा प्रहरीले एम्बुलेन्ससहित एक जनालाई नियन्त्रणमा लिएको छ।
धनुषाको धनुषाधाम नगरपालिका–६ हरिपुरका ४४ वर्षीय सुरेश मिझारलाई लागु औषधसहित पक्राउ गरिएको भन्दै प्रहरीले सार्वजनिक गरको छ। झ १ च १९८० नम्बरको एम्बुलेन्समा लागु औषध ओसारपसार गरेको प्रहरीको भनाइ छ।
मंसिर २० गते राति ९ बजेतिर रोशी गाउँपालिका–९ स्थित इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले जाँच गर्दा एम्बुलेन्समा लागु औषध भेटेको थियो ।
बर्दिबासबाट काठमाडौं आउँदै गरेको उक्त एम्बुलेन्समा विभिन्न औषधीजन्य लागु औषधहरू ओसारिएको थियो । उक्त एम्बुलेन्सबाट ३ हजार एम्पुल लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ ।