काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभरका सात वटा अस्पतालमा जलनका बिरामीको नि:शुल्क उपचार केन्द्र तोकिएकोमा सुष्मा कोइराला मेमोरियल अस्पताल थप गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। यसअघि जलनको इमर्जेन्सी सेवा दिने नेपालको पहिलो अस्पतालका रुपमा सुष्मा कोइराला मेमोरियल अस्पतालको बारेमा आफूलाई जानकारी नभएको उनले बताए।
मन्त्री पौडेलले स्वास्थ्यखबरसँगको कुराकानीमा भने, 'सुस्मा कोइराला मेमोरियल अस्पताल जलन उपचारका लागि एक विशिष्टीकृत अस्पताल हो, सरकारले भर्खरै देशभरका आठ अस्पताललाई जलन उपचार गर्न सकिने अस्पतालका रुपमा घोषणा गरेको छ, यसमा सुस्मा कोइराला अस्पताललाई समेत थप गरेर अगाडि बढ्न सकिन्छ।' जलन उपचार प्रदान गर्ने अस्पतालको सुचीमा सुष्मा कोइराला मेमोरियल अस्पताललाई नपार्नु सरकारबाट कमजोरी भएको मन्त्री पौडेलले स्वीकारोक्ति छ।
अस्पतालले स्थापना कालदेखि हालसम्म आइपुग्दा चार लाख ८३ हजार २२ जनाको उपचार गर्नुका साथै ३२ हजार ८६४ जनाको शल्यक्रिया सम्पन्न गरेको छ। इन्टरप्लास्ट जर्मनी नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा अस्पतालले हालसम्म १५ हजार ३७५ जनाको निःशुल्क उपचारसमेत गरिसकेको छ। आठ जना डाक्टर तथा कर्मचारीबाट सुरु भएको उक्त अस्पतालमा हाल १०० कर्मचारी कार्यरत्त रहेको अस्पतालका निर्देशक डा सन्तोष विक्रम भण्डारीले बताए।
जलनका बिरामीलाई विशिष्टीकृत उपचार दिँदै आएको यस अस्पतालले विगत ३ वर्षदेखि १०० बेडको जनरल अस्पतालका रुपमा समेत विस्तार गरेको छ। अस्पतालले हाल जनरल मेडिसिन, जनरल सर्जरी लगायत सेवा प्रदान गर्दै आएको छ।
अस्पतालले १८ वर्ष भन्दा मुनिका बिरामीहरुलाई नि:शुल्क रुपमा जलनको उपचार गर्दै आइरहेको छ। अस्पतालले हाल कस्मेटिक विभागको स्थापना गरी सानो आँखा भएकाहरुलाई ठूलो बनाउने, अनुहारको चाउरीपना हटाउने, नाक, ओठ तथा स्तनको आकारहरु बनाउने, कपाल प्रत्यारोपण, पेटको बोसो घटाउने जस्ता सेवाहरु समेत दिन थालेको छ।
नेपालका ७७ जिल्ला तथा भारतबाट समेत जलनका बिरामीहरु आउने गरेको यस अस्पताल जलन उपचारको रेफरल सेन्टरका रुपमा समेत परिचित छ। अस्पतालले वार्षिक रुपमा जलनमा ४ सयदेखि ५ सय बिरामीहरुलाई सेवा दिँदै आएको छ।
४० प्रतिशतभन्दा जलेका बिरामीलाई गम्भीर प्रकारको उपचारको खाँचो रहेको डा भण्डारी बताउँछन्। त्यस्ता बिरामी बाँच्ने सम्भावना एकदमै न्यून मात्रै हुने गर्छ। धेरै कम संख्यामा मात्रै बिरामीहरु सुरुवाती अवस्थामा नै अस्पताल आइपुग्ने गरेको उनको अनुभव छ।
यी हुन् जलन उपचार सेवा प्रदान गर्ने अस्पतालहरु
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा सरकारले सात वटै प्रदेशका सात वटा अस्पतालमा जलनका बिरामीको नि:शुल्क उपचार गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताललाई नि:शुल्क जलन उपचार केन्द्र तोकिएको थियो।