पिसाब पोल्ने समस्या धेरैजसो मानिसले आफ्नो जीवनकालमा एक न एकचोटि अनुभव गर्ने गर्छन्। यो एउटा स्वास्थ्य समस्याको संकेत हो, जसले शरीरमा केही गडबडी भएको संकेत दिन्छ।
पिसाब पोल्नुलाई डिसुरिया भनिन्छ। यसका धेरै कारण हुन सक्छन्। मुत्र संक्रमण (यूटीआई) पिसाब पोल्नुका सबैभन्दा सामान्य कारण हो, जुन ब्याक्टेरियाले मुत्रनली, पिसाब थैली वा मिर्गौलामा संक्रमण गराउँदा हुन्छ। पुरुषभन्दा महिलामा यो समस्या बढी देखिन्छ।
त्यस्तै, मुत्रनलीमा पत्थरी भएमा पनि पिसाब पोल्न सक्छ। तिखो वा अमिलो खानेकुरा खाँदा तथा पानी कम पिउँदा पनि यस्तो समस्या हुनसक्छ। यौन सम्पर्कबाट सर्ने रोगहरू (जस्तै: गोनोरिया, क्लामिडिया) पनि पिसाब पोल्न सक्ने प्रमुख कारणमध्ये पर्छ।
पिसाब पोल्दा हुनसक्ने रोगहरूमध्ये मुत्रनली संक्रमण, यौनरोगहरू, मिर्गौलाको पत्थरी, प्रोस्टेटको समस्या (पुरुषमा) र महिलामा वजाइनल संक्रमण मुख्य हुन्। यस्तो समस्या आएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ।
पिसाब पोल्नुपर्ने समस्याको कारण पत्ता लगाउन चिकित्सकले पिसाबको परीक्षण (रूटिन र माइक्रोस्कोपी) गर्नेछन्, जसले संक्रमण, रगत वा एसिडको मात्रा पत्ता लगाउन मद्दत गर्छ। आवश्यकता अनुसार, अल्ट्रासाउन्ड वा कल्चर टेस्ट गरेर थप जानकारी लिने गरिन्छ। रक्त परीक्षणमार्फत मधुमेह वा अन्य स्वास्थ्य समस्याको पनि जाँच गर्न सकिन्छ।
पिसाब पोल्ने समस्याको उपचार कारण अनुसार फरक-फरक हुन्छ। यदि मुत्र संक्रमण भएको भए चिकित्सकले एन्टिबायोटिक औषधि दिन्छन्। पिसाबको एसिड कम गर्न एल्कलाइन सिरप (जस्तै: सिट्राल्का) दिने गरिन्छ। मिर्गौलामा पत्थरी भएमा शल्यक्रिया वा अन्य प्रक्रिया अपनाउनुपर्छ।
धेरैजसो अवस्थामा, पर्याप्त पानी पिउनाले समस्या समाधान गर्न सकिन्छ। खानपानमा सुधार गरेर तिखो र अमिलो खानेकुरा कम गर्नु पनि प्रभावकारी हुन्छ। प्राकृतिक उपायहरूमध्ये क्रानबेरी जुस वा नरिवल पानीले पनि आराम दिन सक्छ।
पिसाब पोल्ने समस्या रोक्न पर्याप्त पानी पिउनु, व्यक्तिगत सरसफाइमा ध्यान दिनु, यौन सम्बन्ध राख्दा सुरक्षा अपनाउनु र मधुमेह वा पत्थरी जस्ता समस्याको नियमित जाँच गराउनु महत्त्वपूर्ण छ। सामान्य समस्या जस्तो देखिए पनि पिसाब पोल्ने समस्यालाई बेवास्ता गर्नु हुँदैन। समयमै परीक्षण र उपचार गराएर दीर्घकालीन स्वास्थ्य समस्या टार्न सकिन्छ। आफ्नो स्वास्थ्यप्रति सचेत रहनु र समयमै चिकित्सकसँग परामर्श गर्नु नै स्वस्थ जीवनको सूत्र हो।
(डा महर्जन हाल नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको यूरो ओन्कोलोजी विभागमा कार्यरत छन्।)