‘महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम’ जनस्वास्थ्य सेवाको एउटा नमुना कार्यक्रमको रुपमा रहिआएको छ। विसं २०४५ सालदेखि ग्रामीण तथा शहरी स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको यो कार्यक्रम निस्वार्थ र निःशुल्क रुपमा स्वयंसेवा गर्ने एउटा महत्त्वपूर्ण महिला संगठनका रुपमा सञ्चालन हुँदै आएको छ। सरकार र नागरिकबीच स्वास्थ्य सेवाको पहरेदार बनेको एउटा सफल कार्यक्रम हो महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम l
मुख्यत महिला स्वास्थ्यको विकराल अवस्थामा रहेको प्रजनन् तथा यौन रोगहरूका बारेमा खुलेर उपचारमा आउन नसक्ने समूहलाई पहिचान तथा उपचार व्यवस्थापनमा ल्याउन, मातृशिशु सेवा तथा स्याहारलाई परिस्कृत बनाउन, शिक्षा, स्वास्थ्य र सम्मृद्धिमा समान पहुँच स्थापित गराई महिला सशक्तीकरणका विविध क्रियाकलापहरु सञ्चालन गर्ने उद्देश्यका साथ ३६ वर्षदेखि यो कार्यक्रम निरन्तर रुपमा अगाडि बढिरहेको छ।
विरोध, प्रशंसा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पुरस्कारसहित नेपाली सोचलाई अन्तर्राष्ट्रियकरण गराउन सक्षम महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले नेपाली जनस्वास्थ्य इतिहासमा सफल कार्यक्रमका रूपमा स्थान बनाएको छ l
हाल देशभर भौगोलिक तथा जनसांख्यिक आधारमा करिब ५२ हजार सक्रिय स्वास्थ्य स्वयंसेविका सेवारत छन्। स्वास्थ्यको तल्लो तहमा रहेर उच्चतम कार्य गर्न सफल हुने समूहका रुपमा लिई आकाशे निलो रङको सारीमा वडादेखि केन्द्रको प्रतिनिधित्व गर्ने चार वृत्तहरूलाई चिनारी चिह्न बनाएर पहिरन र पहिचानको व्यवस्था गरिएको यस कार्यक्रमलाई निश्चित क्रियाकलापहरु सञ्चालन गर्ने, सेवा प्रवाह गर्ने अधिकारहरू प्रबन्ध गरिएको छ।
क्रियाकलाप तथा उपलब्धि
मुलत: महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम स्वास्थ्य प्रवर्द्धनात्मक सेवा र केन्द्रीय स्तरका उपलब्धिहरुमा बढी केन्द्रित रहेको छl सन् १९९१ देखि २०२१ सम्मका मुख्य उपलब्धि र भावी लक्ष्यको बारेमा समेत यस लेखमा समावेश गरिएको छ।
• महिला सशक्तीकरण तथा नेतृत्व विकाससँगै विकासोन्मुख राष्ट्रहरूको परिकल्पनामा एक सफल तथा नतिजामुलक जनस्वास्थ्य कार्यक्रमका रूपमा स्थापित हुनु।
• पूर्ण खोपयुक्त घोषणा, खुला दिसापिसाबमुक्त क्षेत्र घोषणा, बालविवाहरहित क्षेत्र घोषणा, शून्य होम डेलिभरी क्षेत्र घोषणा जस्ता महत्त्वपूर्ण र दीर्घकालीन प्रभाव पार्ने लागत प्रभावकारी कार्यक्रमहरुमा बलियो उपस्थितिका साथै नतिजाप्राप्त गरेपश्चात् त्यस्ता घोषणाहरुको दिगोपनाका लागि निरन्तर लाग्दै प्रवर्द्धनात्मक तथा प्रतिरोधात्मक स्वास्थ्य सेवाको विस्तारमा समर्पित रहनु।
• किशोरी चक्र, सुनौला एक हजार दिन हुँदै प्रजनन तथा प्रौढ उमेरका नागरिकको निगरानी, हेरचाह र सेवा सुनिश्चितता गर्दै हाल बालबालिका तथा किशोरकिशोरी पोषण, शिशु बाल तथा मातृ मृत्युदरमा सम्मानजनक सुधार प्रजनन स्वास्थ्य समस्याको पहिचान तथा उपचार व्यवस्थापनमा उल्लेख्य सुधार गर्न सक्षम भएको हो।
• सरकार र समाज तथा समाजसँग नागरिक स्वास्थ्यबीचको पुलका रूपमा सम्बन्ध विस्तार गर्न पहलकदमी गरिरहनु र समाजमा हुने जुनसुकै नागरिक केन्द्रित क्रियाकलापहरुमा सम्झनै पर्ने एक सशक्त नारी संगठनको संयन्त्र निर्माण भएको छ।
• आमाबाट बच्चामा सर्न सक्ने स्वास्थ्य समस्याहरूको जोखिम न्यूनीकरणका लागि कार्य गरिरहँदा हाल आमाबाट बच्चामा सर्ने धनुषटंकार निवारण, एचआईभी/एड्सको पहिचान गर्न लगाई संक्रमित बच्चाहरुको जन्मदरमा न्यूनीकरण गर्ने जस्ता महत्त्वपूर्ण उपलाब्धिहरु हासिल भएका छन्। साथसाथै सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत राष्ट्रिय कार्यक्रमका लक्ष्यहरू हासिल गर्ने बाटोमा उन्मुख रहिरहेका छन् l
• बिफर उन्मुलनपश्चात् सुदृढीकरणको बाटोमा लागेको स्वास्थ्य सेवामा अन्य विभिन्न सरुवा रोग नियन्त्रण, निवारण तथा उन्मुलनका उद्देश्यसहित खोप सेवा, निःशुल्क पहिचान तथा उपचार सेवाहरु अवलम्बन गर्दै हाल कुष्ठरोग, क्षयरोग, कालाजार, हात्तीपाइले, दादुरा रुबेला, औलो ज्वरो, पोलियो जस्ता सरुवा रोगहरूको उपचार तथा व्यवस्थापनमा उल्लेख्य उपलब्धिहरु हासिल भइरहेको छ। जसमा उपचार नियमित हुन नसकेको खोज, रोग निदान हुन नसकेकोलाई स्वास्थ्य सेवामा पहुँच, उपचार व्यवस्थापनमा प्रत्यक्ष संलग्नता (समुदायमा आधारित प्रत्यक्ष निगरानीमा क्षयरोगको उपचार), खोप सेवा, पोषण सेवामा लक्षित समुदायको पहुँच स्थापित गराउने जस्ता कार्यमा प्रत्यक्ष संलग्नता रहनु।
• राज्यको मुख्य जिम्मेवारीका रूपमा तोकेको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषाधि वितरण कार्यक्रम, परिवार योजना कार्यक्रम, अन्तर्गत परामर्श, पिल्स कण्डम, आकस्मिक गर्भनिरोधक चक्कीको वितरण, समुदायमा आधारित एकीकृत नवशिशु तथा बालरोग व्यवस्थापन कार्यक्रम अन्तर्गत न्युमोनियाको घरेलु उपचार, झाडापखालाको जिंक चक्की र पुनर्जलीय झोलबाट उपचार तथा प्रेषण परामर्श, सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत आइरन चक्की, जुकाको औषधि, नाभी मल्हमको प्रयोग तथा परामर्श र प्रेषण कार्यक्रम जस्ता मुख्यमुख्य कार्यक्रमहरू नियमित सञ्चालनमा रहेको छ।
बग्दै गरेको खोलाको पानीमा प्रदूषणको रूपमा फोहोरमैला तथा विषाक्त चिज परे तापनि केहीबेर निरन्तर बग्दै जाँदा स्वत: स्वच्छता कायम गराउन सबल हुन्छ भनेझैँ स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अप्राविधिक जनशक्तिले सेवा प्रवाह गरेको, अझै एन्टिबायोटिकको वितरण गरेको जस्ता विरोधाभाष अभिव्यक्ति, समाजमा नखुलेको परिवार नियोजनका साधनहरूको खुला वितरण गरेका आरोपहरुका बाबजुद सेवामा निरन्तर अगाडि बढिरहँदा निम्नानुसारका मुख्य उपलब्धिहरु र आगामि लक्ष्य तालिकामा प्रस्तुत गरिएको छ:
अवसर
समाजमा बोल्न नसक्नेको आवाज, सुन्न नसक्नेको इशारा, चलन नसक्नेको साहारा बनेर सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुले समाजमा गरेको योगदान चानचुने छैन। महिलाले पाएको जिम्मेवारी, नाम र पदलाई हाम्रो समाजले स्वीकार गर्नु नै ठूलो सफलता मान्नुपर्छ।
सुरुवातमा पुरुष र महिला दुवैलाई स्वयंसेवकका रुपमा परीक्षण गर्दा उच्चतम सफलता वा नतिजा दिन पुरुषभन्दा महिलाले जिम्मेवार भएर काम गरेपछि सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमका रुपमा समुदायस्तरबाट परिकल्पनाको प्रारूप बनेको थियो।हाल तिनै महिलाहरुको ठूलो जनशक्ति सहितको स्वयंसेवी संगठनले काम गरिरहेको छ।
स्वयंसेवी महिलाको संगठनबाट विशेष पहिचान, राष्ट्रिय स्तरका प्रमुख जनस्वास्थ्य कार्यक्रम तथा समाजमा नेतृत्वदायी भूमिका, कानुनी राज्यको परिपालक सहितका समग्र सशक्तीकरण अभियानहरू सञ्चालन, राज्यले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट तथा सहुलियतको व्यवस्था, संघीयता कार्यान्वयनमा संवैधानिक अधिकार सहितका तीन तहको राज्य संरचना, (स्वास्थ्य, जनस्वास्थ्य, खोप, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य) लगायतका विभिन्न ऐन तथा नियमहरुको कार्यान्वयन महिला स्वास्थ्य स्वयंसेविका कोषको व्यवस्थापन जस्ता विविध अवसरहरुको प्रयोग गरी समग्र सामाजिक तथा आर्थिक विकासका अवसरहरु प्राप्त भएका हुन्। यसैसँगसँगै विभिन्न आवधिक तथा दीर्घकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सोच र लक्ष्य अपर निरन्तर उपलब्धि प्राप्त गर्नका लागि आफू र आफ्ना जिम्मेवोरी उपर निरन्तरता प्रदान गरिरहेको देखिन्छl
चुनौती
महान बन्नका लागि सोच, महान बनिरहनका लागि सोचको कार्यान्वयन गर्न अत्यावश्यक रहन्छ। काम नगरे न नाम न आलोचना, काम गर्दा नामसँगै समस्या र आलोचना आउने गर्छन्। त्यसैमाथि निरन्तर परिवर्तित हाम्रो समाज नकारात्मकताको मात्र व्यग्र खोजी गरिरहेको देख्न सकिन्छ। तथापि समुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रममा पनि थुप्रै उत्साह हुँदाहुँदै केही चुनौतीहरू समेत रहेको अनुभव गरिन्छ। जसमध्ये केही चुनौतीहरू निम्नानुसार छन्:
• समाज केन्द्रित हुने सामाजिक भावनाभन्दा पहिला व्यक्ति केन्द्रित स्वार्थलाई मुख्य आधार बनाउँदा व्यक्तिगत वा पारिवारिक रुपमा आर्थिक सबलीकरण, नैतिकताको कमी मानव निर्मित युद्ध अभ्यास तथा मानवनिर्मित महामारीको जोखिम, पत्रु खानाको बढ्दो प्रयोग, विषादीको प्रयोग तथा आमन्त्रित क्षणिक संस्कार केन्द्रित समाजका रूपमा मानव जीवन केन्द्रित रहनु र यस्तै अवसरहरु प्राप्तिका लागि स्थायी तथा अस्थायी रुपमा बसाइसराइ गर्दा सेवा प्रदायक तथा सेवाग्राहिबीचको तादम्यता नमिल्नु।
• हिजो विद्यमान स्वास्थ्य समस्याहरु तथा व्यक्तिहरुको प्रतिरक्षा क्षमतामा आएको व्यापक परिवर्तनको उपज सर्ने रोगबाट नसर्ने रोगको प्रकोप, औषधिको समुचित प्रयोगमा कमी, मल्टिड्रग रेसिस्टेन्टका कारण समग्र उपचार पद्धतिमा आएको चुनौती समेत थप गम्भीर समस्याका रुपमा आइरहेको छ।
• शिक्षित वर्गको सजगता र अशिक्षित वा संस्कारी वर्गको आज्ञाकारिताका कारण हालको उपलब्धि हासिल गरिरहँदा अल्पज्ञानी वर्गको अटेरिपन र लापरबाहीका कारण समुचित सुरक्षित, गुणस्तरीय र क्षतिरहित स्वास्थ्य सेवा प्रवाहमा निरन्तर कठिनाइ व्यहोर्नु परिरहेको छ।
• विकसित र औद्योगिक मुलुकहरूका कारण विश्व स्वास्थ्य तथा समग्र क्षेत्रमा देखा परेका जलवायु परिवर्तन, मौसम परिवर्तन जस्ता असर र असरका कारण उत्पादकत्वमा कमी आउनु, उच्च तापक्रमको सामना, बाढीपहिरो, भूकम्प, भूक्षय जस्ता समस्याको कारण फरकफरक स्वास्थ्य समस्याहरुको समाचार सुन्नु सामान्य बनिरहेका हुन्। यस्ता समस्याको पहिचान तथा उपचारको लागि ठूलो धनराशि खर्च गर्दा नागरिकको जीवनस्तर उकास्न समस्या बनिरहेको छ।
• अविकासत, विकासोन्मुख हुँदै विकसित राष्ट्रका रूपमा बामे सर्दै गर्दा पाइने उचाइसँगै गुमाइने अवसरहरुका रुपमा अनुदान तथा सहयोगमा चल्ने क्रियाकलापहरुमा स्रोत अभावका कारण निरन्तरता दिनमा परेका कठिनाइहरू पनि पछिल्लो समय चुनौतीका रुपमा रहेको छ।
सम्भावित समाधानका योजना
विश्वविज्ञात समाजशास्त्री फ्रेड रिग्सले प्रिज्माटिक-साला मोडलका रुपमा समाजलाई तीन भागमा व्याख्या गर्दै गर्दा परिवर्तनशील समाजका रुपमा प्रिज्माटिक समाजका शिक्षित वर्गका फरकफरक विचारका लहलहैमा योजनाहरू निर्माण तथा प्रयोग पश्चात आलोचना, फेरबदल र नतिजा विमुख लगानीहरू ले समाजमा थप विखण्डन समेत ल्याउने गरेको विषय उल्लेख गर्नुभएको थियो।
समस्याहरु सँगसँगै समाधानका उपायहरु पनि समाधानको लागि पछिपछि आइरहँदा त्यस्ता उपायहरुलाई सही समयमा सही तरिकाबाट अवलम्बन गर्न सक्दा सफलता र खोजोको उद्देश्य प्राप्त गर्न सकिन्छ। माथि उल्लेखित चुनौतीहरुको समाधानका केही उपायहरु यसै साथ प्रस्तुत गरिएको छ।
• परिवर्तनशील समयमा समयसँगै आउने परिवर्तनहरुलाई आत्मसात गर्दै स्वयं परिवर्तनको खाका निर्माण गर्नु नै सफलताका लागि हुने बिरुवाको चिल्लो पात जस्तै पथ प्रदर्शन मान्ने गरिन्छ। तसर्थ आजभन्दा ३६ वर्ष पहिलेको सोच हालसम्म पनि न्यूनतम परिवर्तनका साथ सञ्चालनमा रहिरहँदा पुराना दिनको जस्तो नतिजा हात पार्न कठिनाइ भइरहेको महसुस गरिरहेकाले समयसापेक्ष परिवर्तन अपरिहार्य छl जसमा मुलत राष्ट्रिय स्वास्थ्य नीति २०७१ ले सोचेका उपलब्धि उपर केन्द्रित रहेर सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको छनोट तथा नियमन गर्ने स्वास्थ्य आमा समूहलाई थप सबल र सक्रिय बनाउनु, विपन्न नागरिकको उपचार पहुँचका लागि स्वास्थ्य आपतकाल कोषको समुदायस्तरमा व्यवस्थापन गर्नु, स्वयंसेविका छनोट तथा परिवर्तनमा सबलीकरण गर्ने, कार्य क्षेत्र बाहिर बसेर पनि सेवा निरन्तरता राख्ने स्वमंसेवकलाई नियमन गर्ने, समग्र स्वास्थ्य सेवाको सम्पर्क व्यक्तिका रुपमा स्वयंसेविकाको र स्वास्थ्य आमा समूहको स्थानीय तहबाट कानुन तथा कार्यविधिको निर्माण गरी कार्यान्वयन सहित निरन्तर अनुगमन तथा सुपरिवेक्षण को व्यवस्था मिलाउनु पर्छ।
• शिक्षित र सबल स्वयंसेवकहरूलाई वा दीर्घसेवा प्रदान गर्ने स्वयंसेवकका परिवारहरुलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिने विभिन्न प्रर्वद्धन प्रर्वद्धनात्मक राज्यबाट तथा स्क्रिनिङ सेवालाई नियमित र लक्ष्यउन्मुख बनाउनका लागि पुराना दिनहरूमा जनशक्ति र आर्थिक अभावमा सेवा प्रवाह गर्ने ग्रामीण स्वाथ्य कार्यकर्ता र मातृ शिश कार्यकर्ताको परिकल्पना जस्तै सामाजिक स्वास्थ्य परिचालकको रुपमा विस्तृत तालिमको व्यवस्थासहित एक भौगोलिक तथा जनासांख्यिक विवरणका आधारमा निश्चित पद, सेवासुविधा र जिम्मेवारी सहितको कार्यविधि निर्माण सहितको एकीकृत सामुदायिक स्वास्थ्य सेवाको परिकल्पना गरी समयसापेक्ष सामाजिक, आर्थिक तथा नैतिक रुपमा नागरिकको उत्थान गराउनु पर्छ। जसबाट प्रतिव्यक्ति आय साक्षरता दर जस्ता मुख्य सुचकहरुको सुधारमा र दिगो विकास लक्ष्य र निर्धारित समूह हासिल गर्न सहजता मिल्नेछ।
• सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको सर्वाङ्गिण विकासका लागि प्रयोग गर्न सकिने महिला स्वास्थ्य स्वयंसेविका कोषमा सुरुवातका केही वर्षसम्म गरेको सहयोगलाई निरन्तरता दिँदै सोको सही सदुपयोग गरे/नगरेको नियमित नियमन गर्नुपर्छ।
सारांश
अन्त्यमा, राज्य र जनताबीच जनसम्पर्क स्थापित गर्न निरन्तर लागिरहेका स्वयंसेवक समूहहरुको एउटा छाता संगठन बनाएर समयसपेक्ष समाज अनुकुलको परिवर्तन गर्दै लैजानु आवश्यक छ। यस्तै समाजमा लुकेका समस्याहरुको पहिचान तथा सही समयमा निदान गर्दै अगाडि बढ्न बाञ्छनीय देखिन्छ।
साथै, समग्र देश तथा जनताको जीवनस्तर उकास्दै आवधिक योजना, दीर्घकालीन सोच २१००, दिगो विकास लक्ष्य २०३०, जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि-सम्झौताहरुले निर्धारण गरेका लक्ष्य, उद्देश्य हासिल गर्दै हालै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको “विविध स्वास्थ्य क्रियाकलापमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता” भन्ने नाराका साथ सञ्चालन गर्न लागेको विश्व स्वयंसेवक दिवस तथा नेपालमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवसको हार्दिक मंगलमय शुभकामना तथा थप परिमार्जित हुँदै सबल सेवाको समर्पित बनाउन सकियोस् भन्ने आशाका साथ अन्त्य गर्दछुl