सरकारले जन्मेदेखि दुई वर्ष भित्रका बालबालिकालाई विभिन्न १३ वटा घातक रोग विरुद्ध खोप उपलब्ध गराउँदै आएको सर्वविदित नै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरुमा नि:शुल्क रुपमा राष्ट्रीय खोप तालिका अनुसार खोप उपलब्ध भइरहेको छ।
घातक रोग विरुद्धका खोपहरुबाट भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकालाई पूर्ण रुपमा बचाउन बाबा-आमा, दाजु-भाइ, दिदी-बहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ। १३ वटा घातक रोगबाट बचाउन हरेक परिवारले आफ्ना बालबालिकालाई जन्मपश्चात् १५ महिनाको उमेर पूरा हुँदासम्म अनिवार्य रुपमा स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरुसँग बच्चालाई ७ पटक भेट गरी ९ वटा खोप लगाउनु अत्यन्त जरुरी छ।
भनिन्छ, रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु नै बेस। त्यही उक्तिलाई मानेर यो कार्यलाई निकै महत्व दिइएको छ। त्यस कारण हरेक स्वास्थ्य संस्थाहरुबाट सञ्चालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संवेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रुपमा हेरिने गरिन्छ। त्यसैले गर्दा यो खोप कार्यक्रमलाई पी-वान कार्यक्रम अर्थात् कार्यक्रमको पनि महत्वपूर्ण कार्यक्रम भनिएको छ।
खोपको महत्व
खोप नि:शुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीव रक्षा गर्छ, खोपठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो। प्रत्येक ५ जना बालिकाको मृत्युमध्ये एक जनालाई खोपबाट बचाउन सकिन्छ। खोपले जीवन बचाउँछ। खोप सबैभन्दा राम्रो खरिद हो। जनताको लागि फ्रि अधिकार हो भने रोग लाग्ने दर, अपाङ्ग हुने दर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रमको लक्ष्य हो।
बच्चालाई खोप पूरा गर्न पाँच हजारदेखि ८ हजार रुपैयाँसम्म खर्च लाग्छ भने एक जना बच्चालाई सम्पूर्ण खर्च बेहोरेर हेर्ने हो। सम्पूर्ण खोप पूरा गर्नका लागि ३५ देखि ४० हजार रुपैयाँ खर्च लाग्ने भनिएको छ। त्यस कारणले पनि नेपाल सरकारले बच्चाको लागि नि:शुल्क रुपमा वितरण गर्दै आएको खोप कार्यलाई निकै महत्वका साथ हेरी सम्पूर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपूर्ण कार्य मानिन्छ।
नेपाल सरकारले नि:शुल्क रुपमा बालबालिकाका लागि सञ्चालनमा ल्याएको यो खोप कार्यक्रमबाट प्राप्त हुने खोपहरुलाई बाहिरी रुपमा किनेर प्रयोगमा ल्याउनको लागि हामी नेपालीहरुको बहसभन्दा अलि टाढाको विषय भएको अर्थात् हाम्रो क्षमताले भेट्न नसक्ने हुनाले यस्ता १३ वटा घातक रोगहरुबाट बचाउन खोप लगाउनु उपयुक्त हुन्छ।
बालबालिकाहरुलाई लुलो, लङ्गडो, लठेब्रो, सुस्त मनस्थिति र बिक्षिप्त क्षमताबाट जोगाउन तथा बच्चाको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा पछि गएर कुनै असर नपरोस् भन्नका लागि यी खोप लगाउनु जरुरी छ। खोप आफ्नो पाएक पर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर नि:शुल्क रुपमा लगाउन सकिन्छ।
यस्ता छन्, ७ भेटमा ९ खोप र १३ रोग
- पहिलो भेट: जन्मिने बित्तिकै- बीसीजी खोप: क्षयरोग विरुद्ध।
- दोस्रो भेट: ६ हप्तामा- रोटा (पहिलो मात्रा), पोलियो (पहिलो मात्रा), पीसीभी (पहिलो मात्रा), डीपीटी, हेप बी हिब (पहिलो मात्रा): रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो, निमोनिया (निमोकोकल रोगहरु), भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बीका विरुद्ध।
- तेस्रो भेट: १०हप्तामा- रोटा (दोस्रो मात्रा), पोलियो (दोस् रोमात्रा), पीसीभी (दोस्रो मात्रा), डीपीटी हेप बी हिब (दोस्रो मात्रा): रोटा भाइरसबाट हुने झाडापखाला, पोलियो निमोनिया (निमोकोकल रोगहरु) भ्यागुते रोग , लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बीका विरुद्धमा।
-चौथो भेट: चौध हप्तामा- पोलियो (तेस्रो मात्रा), एफआई पीभी (पहिलो मात्रा) डीपीटी हेप बी हिब (तेस्रो मात्रा): पोलियो , भ्यागुते रोग , लहरेखोकी , धनुष्टंकार , हेपाटाइटिस बी , हेमोफिलस इन्फ्लुएन्जा बीका विरुद्धमा।
- पाँचौ भेट: ९ महिनामा- पीसीभी (तेस्रो मात्रा ) एफआई पीभी (दोस्रो मात्रा) दादुरा रुबेला (पहिलो मात्रा): निमोनिया (निमोकोकल रोगहरु ) पोलियोका रोगहरु, दादुराका विरुद्धमा।
- छैठौं भेट: बाह्रौं महिनामा- जापानिज इन्सेफलाइटिस (एक मात्रा): जापानिज इन्सेफलाइटिसका विरुद्धमा ।
- सातौं भेट: पन्ध्रौं महिनामा- दादुरा रुबेला (दोस्रो मात्रा ),टाइफाइड (पहिलो मात्रा ): दादुरा र रुबेला रोगको विरुद्धमा। टाइफाइड रोगका विरुद्धमा।
नेपाल सरकारबाट नि:शुल्क रुपमा वितरण गरिएका यी महत्वपूर्ण खोप प्रत्येक बालबालिकालाई लगाउनु आवश्यक छ। यस अभियानमा अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरु ,राज्यका तीनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी , सञ्चारकर्मी, प्रशासन लगायत सबैको सहयोग र सहकार्य आवश्यक देखिन्छ।
(पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)