काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा लोचन कार्की बेलायतको रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गको क्षेत्रीय सल्लाहकारमा निर्वाचित भएका छन्।
रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गले एशियाका लागि नेपालका तर्फबाट क्षेत्रीय सल्लाहकारमा डा कार्की निर्वाचित भएको आधिकारिक जानकारी दिएको छ। कलेजले डा कार्कीलाई निवार्चित भएको पत्र समेत पठाइसकेको छ।
डा कार्की पाँच वर्षे कार्यकालका लागि क्षेत्रीय सल्लाहकार पदमा निर्वाचित भएको कलेजद्वारा जारी पत्रमा उल्लेख छ। उनको कार्यकाल सन् २०२९ को अक्टोबरसम्म रहने छ।
एशियाका लागि क्षेत्रीय सल्लाहकारको रूपमा निर्वाचित डा कार्कीले एशियाली स्वास्थ्यसम्बन्धी गतिविधिहरूको व्यवस्थापन गर्ने, नीति निर्माणमा योगदान दिने र क्षेत्रीय स्वास्थ्य कार्यक्रमलाई अघि बढाउने लगायतका काम गर्ने छन्।
डा कार्कीले क्षेत्रीय सल्लाहकारमा निर्वाचित भएपछि खुसी व्यक्त गर्दै भने - 'यो निकै खुसीको कुरा हो। यो उपलब्धिले नेपाली चिकित्सा समुदायको विश्वव्यापी पहिचानलाई अझ मजबुत बनाउने छ भन्ने विश्वास लिएको छु।'
यसैबीच, डा कार्कीले अमेरिकन कलेज अफ फिजिसियन्सको प्रतिष्ठित फेलोशिप समेत प्राप्त गरेका छन्। अमेरिकन कलेज अफ फिजिसियन्स संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो मेडिकल विशेषज्ञता संगठन हो। यसमा एक लाख ६१ हजारभन्दा बढी सदस्यहरु रहेका छन्। चिकित्सा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने चिकित्सकहरूलाई प्रतिष्ठित फेलोशिप प्रदान गर्ने गरिन्छ।
डा कार्की चिकित्सा पेशासँगै चिकित्सा शिक्षा, स्वास्थ्य सेवा व्यवस्थापन र नीतिगत विकासमा सक्रिए छन्। यसका साथै उनी चिकित्सकहरुको हकहित र समग्र स्वास्थ्य सेवाको विकास र विस्तारमा पनि निरन्तर काम गर्दै आइरहेका छन्। डा कार्की नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष हुन्।