मानव सभ्यताको अध्यन गर्दा पृथ्वी सृष्टिको केही समयपछि यो संसारमा विभिन्न किसिमका जीवजन्तु, सजीव प्राणीका साथै मानव जातीको विकास भएको पाइन्छ। त्यो समयमा पृथ्वीमा विभिन्न जीव, जन्तु र केही विकसित मानव सभ्यताका पौराणिक व्यक्तित्व र राक्षस प्रवृत्तिको राज भएको अध्यनहरुले बताएका छन्। बिगत र आगतलाई केलाउँदा उक्त कालमा पृथ्वी लोकमा धेरै भाग पानी र समुन्द्र सतहले ओगटेको थियो।
इतिहासअनुसार मानव जातिको क्रमागत विकाससँग दुई प्रकारको संस्कृति जोडिएको पाइन्छ। जसमध्ये एउटा देवता र ऋषि संस्कृति थियो भने अर्को दैत्य र राक्षसहरुको। देवता र ऋषि संस्कृति तथा दैत्य र राक्षस प्रवृत्तिबीच बेला-बेलामा द्वन्द्व र लडाइँहरु चलिरहन्थे। पटक-पटकको द्वन्द्वबाट कुनैपनि उपलब्धि नभेटिने देखेपछि दुबै पक्षबीच समुन्द्र मन्थन गर्ने निष्कर्ष निस्कियो। समुन्द्र मन्थनको साझा प्रयास पछि ऋषिहरु र दैत्यहरु समुन्द्र मन्थनमा सहभागी भए। समुन्द्र मन्थनको क्रममा धन्वन्तरी नाम गरेका ऋषि दुबै हातमा अमृत कलश लिएर प्रकट भए। जुन कलशमा चारवटा भुजाहरु थिए। चार भुजा मध्य माथिल्लो दुई भुजामा शंख र चक्र थिए भने अन्य दुई भुजामा एउटामा जलौका(जुका) र अर्कोमा अमृत जल सहित विभिन्न किसिमका औषधीय बनस्पति जडिबुटी, रस, रसायनहरु थिए।
यसरी समुन्द्र मन्थन गरेर विभिन्न अनुसन्धानहरु पत्ता लागेको दिन कार्तिक कृष्ण पक्ष त्रयोदशी अर्थात काग तिहारको दिन थियो। जुन विशेष दिनलाई धन्तेरस वा धन्वन्तरी जयन्ती भनेर मनाइन्छ। त्यसैले ऋषि धन्वन्तरीलाई आयुर्वेदका प्रवर्तक वा जन्मदाता पनि भनिन्छ।
त्यसपछिको समय ऋषि धन्वन्तरीले पृथ्वीमा भएका विभिन्न किसिमका बनस्पति, जडिबुटी, रस, रसायनको अध्यन गर्दै तिनमा भएका राम्रा-नराम्रा गुण एवं औषधीय विशेषता पत्ता लगाइ त्यो ज्ञान अन्य ऋषिहरु हुँदै आम नागरिकसम्म ल्याउने काम गरे। जसले रोगी ब्यक्तिहरुको रोग न्युनिकरण गर्न र निरोगी ब्यक्तिहरुको स्वास्थ्यलाई चुस्त-दुरुस्त राख्ने चिकित्सकीय सचेतता अभियानको संदेश प्रवाह गर्यो। त्यसैले उक्त दिनलाई आरोग्य दिवस पनि भनिन्छ।
आयुर्वेदको इतिहासलाई अध्यन गर्दा विभिन्न ग्रन्थमा आयुर्वेद सम्बन्धी आलेखहरु उपलब्ध भएको उल्लेख गरिएता पनि आयुर्वेद बिज्ञानको भरपर्दो र बैज्ञानिक ग्रन्थ धन्वन्तरी संहिता नै भएको प्रष्ट हुन्छ। आयुर्वेद बिज्ञानका अन्य अनुसन्धानकर्ता चरक, सुश्रुत आदि ऋषिहरुले पनि आयुर्वेद ज्ञान धन्वतरीद्वारा नै प्राप्त गरेको विभिन्न अध्यनहरुले पुष्टि गरेको पाइन्छ। धन्वन्तरीको जन्म इसापूर्व ७ हजार वर्ष पहिला भएको थियो। उनी काशीका राजा धन्वका पुत्र थिए। उनले शल्य(चिरफार)मा समेत महत्वपूर्ण अध्यन गरेका थिए। धन्वन्तरीका नाति दिबोदास धन्वन्तरीले त्यसलाई परिमार्जन गरी अहिलेको शल्य (सर्जरी)चिकित्साको विकास गरेका थिए। त्यसैले सर्जरी उपचारको पहिलो ज्ञाता समेत धन्वन्तरी ऋषिलाई मानिन्छ।
वर्तमान समयमा आमनागरिक कुनै न कुनै रोगब्याधी र मनोत्रासजन्य मानसिक कारणले अस्वस्थ हुने क्रम बढ्दैछ। कुनै पनि एउटा चिकित्सा पद्धति आमनागरिकमा देखिने फरक-फरक किसिमका स्वास्थ्य समस्याहरु ब्यबस्थापन गर्न अपुरो भएको हामी सबैले महशुस गरेका छौं।
त्यसैले विभिन्न कालखण्डमा विभिन्न अनुसन्धान कर्ताहरुले अनुसन्धान गरेका चिकित्सा बिधाहरुलाई समय सापेक्ष बनाउँदै अघि बढ्न सकेमा रोग न्युनीकरण र नागरिक स्वास्थ्य प्रवर्द्धनमा टेवा थपिने छ। जय धन्वन्तरी, जय आरोग्य दिवस।
(लेखक योग आयुर्वेद अभियान्ता हुन्।)