काठमाडौं– जलन उपचारको क्षेत्रमा लामो इतिहास बोकेको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालले जलन उपचार सेवालाई थप विस्तार गरेको छ।
सन् १९९७ मा नेपालमा नै जलनको उपचार गर्ने पहिलो संस्थाको रुपमा स्थापना भएको यो संस्थाले हाल प्लास्टिक रिकन्ट्रक्स्टिभ, कस्मेटिक लगायत प्लास्टिक सर्जरीका सम्पूर्ण सेवा अस्पतालले प्रदान गर्दै आइरहेको छ।
पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको श्रीमती सुष्मा कोइरालाको आगोले पोलेका कारण निधन भएपछि यस अस्पतालको स्थापना गरिएको थियो। जलनका बिरामीलाई विशिष्टीकृत उपचार दिँदै आएको यस अस्पतालले विगत ३ वर्षदेखि १०० बेडको जनरल अस्पतालका रुपमा समेत विस्तार गरेको अस्पतालका प्रमुख डा .सन्तोष विक्रम भण्डारी बताउँछन्।
इन्टरप्लास्ट जर्मनी नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालनमा आएको यस अस्पतालले हाल जनरल मेडिसिन, जनरल सर्जरी लगायत सेवा समेत प्रदान गरिरहेको डा भण्डारीले जानकारी दिए।
कूल ८४ कर्मचारीले सञ्चालन भइरहेको अवस्था यहाँ त्यसमध्ये ४२ प्राविधिक तथा बाँकी गैर प्राविधिक कर्मचारीहरु रहेका छन् । त्यस्तै प्लास्टिक सर्जन तीन जना र एकजना एनेस्थेसियोलोजिष्ट समेत अस्पतालमा कार्यरत छन्।
चुनौती
जलन उपचार एकदमै लामो, खर्चिलो तथा चुनौतीपूर्ण समेत हुने भएकोले साधारण मानिसहरुको पहुँचमा अझै पनि पुग्न नसकेको डा भण्डारीको गुनासो छ ।
सरकारी स्तरबाट जलन उपचारमा पहल भएपनि ठोस कदम भने अहिलेसम्म पनि चाल्न नसक्दा आर्थिक अभावका कारण बिरामीको उपचारमा ढिलाई हुने तथा मृत्यु हुने गरेको छ।
जलन भइसकेपछि सुरुवातको २४ घन्टामा बिरामीको उपचार सुरु हुन नसकेमा संक्रमणका कारण उपचार जोखिमपूर्ण हुने गर्छ।
कमजोर आर्थिक अवस्थाकै कारण सुरुवातको २४ घन्टामा अस्पताल पुग्न नसकेर बिरामीले मृत्युवरण गर्नुपरेका घटनाहरु धेरै भएको डा भण्डारीको अनुभव छ। सरकारले जलन उपचार सेवालाई नि शुल्क बनाउनुपर्नेमा उनको जोड छ।
१८ वर्षमुनिका बालबालिकाको जलन उपचार नि:शुल्क
सुष्मा कोइराला मेमोरियल अस्पतालले १८ वर्ष भन्दा मुनिका बिरामीहरुलाई नि ःशुल्क रुपमा जलनको उपचार गर्दै आइरहेको छ।
अस्पतालले हाल कस्मेटिक विभागको स्थापना गरी सानो आँखा भएकाहरुलाई ठूलो बनाउने, अनुहारको चाउरीपना हटाउने, नाक, ओठ तथा स्तनको आकारहरु बनाउने,कपाल प्रत्यारोपण,पेटको बोसो घटाउने जस्ता सेवाहरु समेत दिन थालेको छ।
नेपालका ७७ जिल्ला तथा भारतबाट समेत जलनका बिरामीहरु आउने गरेको यस अस्पताल जलन उपचारको रेफरल सेन्टरका रुपमा समेत परिचित छ।
तथ्यांक अनुसार अस्पतालले वार्षिक रुपमा जलनमा ४ सय देखी ५ सय बिरामीहरुलाई सेवा दिइरहेको दिदै आएको छ।
४० प्रतिशत भन्दा जलेका बिरामीलाई गम्भीर प्रकारको उपचारको खाँचो अवस्थामा डा भण्डारी बताउँछन्। त्यस्ता बिरामी बाँच्ने सम्भावना एकदमै न्यून मात्रै हुने गर्छ।
धेरै कम संख्यामा मात्रै बिरामीहरु सुरुवाती अवस्थामा नै अस्पताल आइपुग्ने गरेको उनको अनुभव छ।
सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना आवश्यक
प्राय बाहिरी जिल्लाबाट जलनको २४ देखी ४८ घन्टामा मात्रै बिरामी अस्पताल आइपुग्ने गर्छन्।
जलनको २४ घन्टाको समयमा बिरामीको शरीरलाई धेरै मात्रामा पानीको आवश्यकता पर्ने गर्छ । उक्त अवस्थामा शरीरलाई कृत्रिम रुपमा पानी दिन नसकेको अवस्थामा जलन गहिरो हुँदै जाने तथा संक्रमण समेत हुने खतरा बढ्दै जान्छ।
संक्रमण भएको अवस्थामा सानो घाउ पनि निको हुनका लागि धेरै समय लाग्ने वा निको नै नहुने पनि गर्छ।
नेपालमा सुदूरपश्चिम क्षेत्रबाट समेत जलन उपचार लागि काठमाडौं नै धाउनुपर्ने अवस्था छ । जलनको प्राथमिक उपचार केन्द्र मात्रै सातै प्रदेशमा स्थापना गर्न सके पहिलो चरणमा नै उपचार हुनसक्ने डा भण्डारी बताउँछन्।
सुरुवाती समयमा उपचार हुन नसक्दा अस्पताल आएकामध्ये ५ देखी १० प्रतिशत बिरामीहरुको मृत्यु हुने गरेको छ।
इन्टर प्लाष्ट नेपाल नामक संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दाताबाट सहयोग संकलन गरी सुष्मा कोइराला मेमोरियल अस्पतालका जलन बिरामीहरुको निःशुल्क उपचारका लागि खर्च गर्दै आइरहेको छ।