काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ। लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
अस्पतालहरुमा सञ्चालनमा रहेका यीनै केन्द्रहरुको राष्ट्रिय सम्मेलन यही असोज १३ र १४ गते काठमाडौंमा हुन लागेको हो। स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्मेलन हुन लागेको मन्त्रालयले जानकारी दिएको छ।
लैङ्गिक हिंसा पीडित वा प्रभावित व्यक्तिहरुलाई आवश्यक सबै सेवाहरु जतिसक्दो चाँडो एकद्धार प्रणालीबाट उपलब्ध गराउने यो कार्यक्रमको मुख्य उद्देश्य हो। ओसिएमसी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ र अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना सञ्चालन निर्देशिका २०७७ जारी समेत गरेको छ।
२०६९ सालदेखि सुरु भएको यो कार्यक्रम हाल ७७ जिल्लाको ९० भन्दा बढी अस्पतालमा विस्तार भइसकेको छ। स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय कानूनी सेवा, सुरक्षा, आश्रय, कानूनी उपचार र पुर्नस्थापना केन्द्र निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।
यो पनि :
'लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्रबाट सात प्रकारका सेवा लिन सकिन्छ'