काठमाडौं– मिस नेपाल पिस– २०२४ को उपाधि विजेता विधि लम्साल, फस्ट रनरअप अनिसा पराजुली र सेकेन्ड रनरअप पला रेग्मीसँग स्वास्थ्यखबरले विशेष कुराकानी गरेको छ। नर्सिङ पेसासहित सौन्दर्यमा समेत रुचि राख्ने उनीहरुले आफ्नो पेसा र रुचिका विषय गरेको कुराकानी स्वास्थ्य खबरपत्रिकाको साउन अंकमा प्रकाशित भएको थियो।
स्वास्थ्यखबरसँगको सहकार्यमा भएको उक्त प्रतियोगिताको प्रायोजन एनक्लेक्स नेपाल हो। ‘सशक्त महिला, सवल राष्ट’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुँदै आएको छ। मिस पिस– २०२४ का विजेता नर्सहरुले सौन्दर्यमा आफ्नो रुचि रहेको बताएका छन्। उनीहरुले मोडलिङ र करिअरको सन्तुल मिलाउँदै अघि बढ्ने लक्ष्य लिएका छन्।
उनीहरुले दिएको जानकारी हामीले यहाँ प्रस्तुत गरेका छौं:
पहिरन र मेकअप रुचाउने सानो विधि फर्किएकी छः विधि लम्साल
म सानैदेखि पढाकु थिएँ। बीएससी नर्सिङमा पढ्नुपर्छ। सबैमा टप गरें। कहिले पनि पढाइ बाहेक अरु कुरामा ध्यान दिन समय भएन। बीएसएसी नर्सिङको परीक्षा दिएर बसेकी थिएँ। त्यही बेला मिस नेपाल पिसको आवेदन खुलेको जानकारी पाएँ। आफ्नो रुचि पूरा गर्ने समय यही भन्ने लाग्यो। मेरै लागि आएको अवसर जस्तो महसुस भयो। त्यसपछि सहभागी भएकी हुँ।
अहिले मैले ठिक गरेछु भन्ने लागेको छ। मोडलिङ क्षेत्रका राम्री मोडल देख्दा रमाइलो लाग्थ्यो। अहिले फोटोसुट गरिरहँदा म भित्रको सानो विधि फर्केर आएजस्तो लागेको छ। सानोमा पहिरन र मेकअप गर्न खुब रुचाउने विधि हराएकी थिई। फेरि फर्केकी छ।

नर्स बिरामीको सेवा तल्लिन हुनुपर्छ, ग्ल्यामर क्षेत्रमा लाग्न हुँदैन, शो पिसका रुपमा देखिनु हुँदैन लगायतका टिप्पणी सुनेकी छु। नर्सिङ सेवा गर्नुपर्छ। त्यो पेसाको महत्व बुझेकी छु। तर हाम्रो आफ्नो निजी जीवन पनि हुन्छ। हामी कसैको छोरी हो, दिदी हो र बहिनी हो। म आफ्नै मान्छे पनि हो। पेसा र व्यक्तिगत जीवन छुट्टै छ। सबैको आ–आफ्नो धारणा हुन्छ। मेरो व्यक्तिगत जीवन अरुको धारणा अनुसार चलाउने होइन।
नर्सहरुले जति पेसालाई समय दिएका छौं, त्यति फिर्ता नपाएको जस्तो लाग्छ। नेपालमा नर्स र बिरामी अनुपात मिलाइएको छैन। गाइडलाइन बनाइएका छन्, कसैले फलो गर्दैन। त्यसैले गुणस्तरीय सेवा दिन सकिएको छैन। धेरै बिरामी एउटैले हेर्नुपर्दा समस्या हुन्छ। जति गर्दा पनि नहुने भएपछि चिडचिडाहट हुन्छ। आमजनले छुच्ची, कराउने मात्रै ठान्छन्। त्यसको पछाडि रहेको पीडा महसुस गरेका छैनन् जस्तो लाग्छ। अहिले त ‘यस्तै त हो’ भनेजसरी बानी भइसक्यो। यस्तै हो भन्ने होइन। हामीले प्रयास गर्नुपर्छ। धेरैले प्रयास गरिराख्नुभएको पनि छ। लागिपर्ने धेरै हुन्छन्।
म मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गरेर जाँदैछु। त्यहाँ आमा–शिशु स्वास्थ्यका विषयमा मेरो विशेष प्रस्तुति रहनेछ। हाम्रो प्रतिस्पर्धीमध्ये एकले बनाउनुभएको छ। त्यो हामी सबैलाई मन परेकाले त्यहाँ लिन खोजिएको हो। नेपालमा आमा र बच्चाको स्वास्थ्यका विषयमा अझै पनि धेरै कमलाई जानकारी छ। गर्भावस्थामा नियमित चेकअप समेत नगराउनेहरु छन्। आमालाई शिक्षित बनाउन सकियो भने परिवार शिक्षित हुन्छन्। मिस ग्लोबलमा यही अघि विषय अघि बढाउँछु।
मोडलिङमा पनि विशेष रुचि छ
अनिषा पराजुली, फस्ट रनरअप
मेरो लागि यो नयाँ अनुभव हो। क्यामेरा र लाइट मेरो सामान्य जीवनमा थिएन। हस्पिटल धाउन नै व्यस्त थिएँ। अन्तरहृदयमा मोडलिङप्रति रुचि थियो। तर त्यतातिर लाग्ने अवसर पाएकी थिइनँ। टिकटक, इन्स्टाग्राम र फेसबुक रिलमा सक्रिय छु। मेकअप गरेर फरक डिजाइन लुगाएर रनवेमा कस्तो देखिएला भन्ने मनमा लागिरहन्थ्यो। यो नर्सकै प्रतियोगिता भएका कारण पनि प्रभावित भएँ।

प्रयास एकपल्ट त्यसअघि मिस नेपाल– २०२२ मा गरेकी थिएँ। अडिसन मात्रै दिएँ। सौन्दर्यमा प्रतियोगितामा दिमागको भूमिका हुन्छ भन्ने मलाई पहिले नै थाहा थियो। हामी २४ जना प्रतियोगी सबै एउटा क्राउन लगाएर आइसकेका हौं। त्यसैले कसले जित्यो वा जितेनमा त्यति ध्यान दिन्नँ। हामीले तालिमको बेलामा मिहिनेत गरेका छौं। त्यसपछि निर्णायकले दिने रेटिङले हामी विजेता र उपविजेता भएका हौं।
बिरामी भनेको भनेको अप्ठ्यारो अवस्थामा भएको मानिस हो। जसलाई राम्रो भएर हँसिलो भएर सेवा दिँदा राम्रो लाग्छ। हामी नर्सको स्वभाव र सौन्दर्यले बिरामी निको बनाउन सहयोग गर्छ। त्यसले राम्रो देखिनुमा कुनै हानि छ जस्तो लाग्दैन। नेपालमा नर्सिङ पेसामा अनेक समस्या छन्। मुख्यगरी नर्स–बिरामी अनुपात सुधार गर्नुपर्छ। नर्सको पारिश्रमिक समयानुकुल हुनुपर्छ। त्यसका लागि पनि हामी लागिपर्नुपर्छ।
नर्सिङमा मेरो विशेष रुचि भएर पढेको हो। नर्सिङ मेरो कलिलै दिमाग थियो। बुवा बिरामी भइराख्ने भएकाले हस्पिटल बस्नुपथ्र्याे। नर्सको बोलीचाली व्यवहार देखेर म प्रभावित थिएँ। पडाइमा राम्रो विद्यार्थी भएकाले बिएससी नर्सिङ गरेँ। दुई वर्ष पढाएँ। एक वर्ष काम गरेँ। म जीवनमा नयाँ गर्न रुचि राख्ने मान्छे हो। मोडलिङबाट अफर आयो भने पछि हट्दिनँ। मेरो पेसा र मेरो रुचि सँगसँगै लिएर जान्छु।
नर्सिङ र मोडलिङको सन्तुलन मिलाउँछु
पला रेग्मी, सेकेन्ड रनरअप
नर्सिङ मैले करिअरका लागि पढेको हो। मेरो आफ्नो सानैदेखिको रुचि अभिनय तथा मोडलिङतिर थियो। रुचि भए पनि त्यतातिर लाग्ने आँट आएको थिएन। कक्षा १० पढेपछि एअर होस्टेज बन्ने सोचेकी थिएँ, किनभने त्यहाँ पनि सौन्दर्यको अर्थ हुन्छ। चिटिक्क परेर बस्नुपर्छ। त्यता जाने पनि अवसर मिलेन। नर्सिङतिर आएँ।
मेरो रुचि मैले टिकटक र इन्स्टाग्राममा सक्रिय भएर पूरा गरिरहेकी थिएँ। अब नर्सिङका साथै मोडलिङ पनि अघि बढाउँछु। यो प्रतियोगिता हुने थाहा पाएपछि मलाई अवसर जस्तो लाग्यो। पहिलो चोटी प्रतियोगितामा भाग लिएँ। आफूलाई सेकेन्ड रनरअपसम्म पु¥याएँ। मोडलिङका लागि आउने अवसरमा एक कदम अघि नै छु। किनभने पहिलेदेखि नै रुचि थियो। आँटै आएको थिएन।

अब करिअर र मोडलिङ दुवैमा सन्तुलन बनाएर अघि बढ्छु। नर्सिङ पेसामा सक्रिय हुनुका साथै त्यस क्षेत्रका लागि आवाज उठाउनेछु। किनभने नर्सिङ पेसालाई समाजले हेर्ने दृष्टिकोण अझै राम्रो छैन। सरकारले पनि यसलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्न सकेको छैन। त्यसैले हामीले एकजुट भएर आवाज उठाउनुपर्नेछ।

भिडियो कुराकानी हेरौं