काठमाडौं- भारतीय अभिनेता जोन अब्राहमले सहकर्मी अभिनेतामाथि निशाना साधेका छन्। उनले एकातर्फ फिटनेसको कुरा र अर्कातिर पान मसलाको विज्ञापन गर्ने भन्दै अजय देवगण र अक्षय कुमारलाई व्यंग्य गरेका हुन्।
आफू कहिल्यै त्यस्ता ब्रान्डको विज्ञापन नगर्ने बताउँदै उनले आफू प्रशंसकको रोलमोडल बनिरहने उल्लेख गरे। उनले भने, 'मान्छेहरु एकातिर फिटनेसलाई बढावा दिन्छन् र अर्कोतर्फ पान मसलालाई प्रबर्द्धन गरिरहेका हुन्छन्।'
एक पडकास्टमा बोल्दै उनले कतिपय सेलिब्रिटीसँग धैर्य नभएको बताए। आफूले कहिल्यै अस्वस्थकर ब्रान्डको प्रचार गरेर मृत्यु नबेच्ने बताए। उनले थपे, 'यदि म मेरो जीवन इमानदारिताका साथ जिउँ । जो सन्देश अरुलाई दिन्छु, त्यही आफू गरुँ त म आइडियल हिरो हुँ। यदि म आमजनमाझ आफ्नो फेक भर्सन देखाउँछु भने मलाई चिनिहाल्छन्।'
उनले पान मसलाको विज्ञापन गर्ने भनेर कुनैपनि सेलिब्रिटीको अनादर गरेको नभइ आफ्नो कुरा बताएको उल्लेख गरे। पान मसला उद्योगको वार्षिक टर्नओभर ४५, ००० करोड रुपैयाँ रहेको बताइएको छ। भारतीय अभिनेत अक्षयकुमार र अजज देवगन पान मसला र गुटखाको विज्ञापन गरेका कारण आलोचित भइसकेका छन्।
अक्षयले विरोधपछि आफू त्यस्ता ब्रान्डको प्रबर्द्धन नगर्ने बताएका छन्। उनले भनेका थिए, 'म आफ्ना सवै प्रशंसकसँग माफी चाहन्छु । आगामी दिनमा म कुनैपनि प्रकारको सुर्तीजन्य पदार्थको सेवनको पक्षमा हुनेछैन।'