नमस्कार ! म एक सिनियर अहेब। हाल दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका अन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्र लुईटामा कार्यरत छु। २०८१ सालको वैशाख महिनामा राष्ट्रिय भिटामिन 'ए' कार्यक्रमको सहयोगात्मक अनुगमनको सिलसिलामा एक गाउँमा गएको थिएँ। मैले काम गर्ने संस्थाबाट करिब एक घण्टा उकालो हिँडेपछि त्यो गाउँमा पुगिन्छ। सोही क्रममा कुपोषित भई अतिजोखिम अवस्थामा जीवन बिताइरहेकी ४ महिना २८ दिनकि एक बालिकालाई देखें। यो नानीलाई के भएको होला भनेर उसको अभिभावकलाई सोधें। अभिभावकले 'पीलिया' (मेडिकल भाषामा जण्डिस) रोग लागेको हो कि भनेर तन्त्रमन्त्रबाट निको गराउन वैद्यकहाँ लगेका रहेछन्।
ठिक नभएपछि कतै 'सुक्रुम' (गाउँले भाषामा कुपोषण) भन्ने लागेको हो कि भनेर झारफुक गर्न अर्को वैद्यकहाँ लग्ने तयारीमा थिए। कमजोर आर्थिक अवस्थाका कारण रोजगारी खोज्ने क्रममा बुवा भारत गएको जानकारी पाइयो। घरमा आमा, बाजे र बज्यै मात्रै रहेछन्।
यसरी उहाँहरुको मनोविज्ञानमा जकडिएर रहेको यस किसिमको रुढीवादीतालाई चिर्न आवश्यक ठानी मैले कुपोषणको बारेमा बताउन थालें । बच्चालाई चाहिने कुरा आमाको दूधबाट पुगेन वा बच्चालाई केहि रोग लागेको छ भनेपनि यस्तो अवस्था आउँछ। तन्त्रमन्त्रबाट कुपोषण ठिक हुँदैन। यस्तो अवस्थामा तुरन्तै स्वास्थ्य संस्था वा अस्पताल लगेपछि ठिक हुन्छ भनेर उहाँलाई सम्झाउने प्रयास गरें तर उहाँको हाउभाउ हेर्दा मेरो कुरामा विश्वास नमानेको लाग्यो।
उहाँहरुको मन जित्न मैले एउटा घटना सुनाएँ। एउटा आमा सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारणलेउसको मृत्यु भयो।निज महिलाबाट जन्मेको बच्चाले राम्रोसँग दूध खान नपाएका खान नपाएका कारण यस्तै कुपोषणको अवस्थामा पुग्यो। मैले त्यो बच्चालाई उपचार गर्न अस्पताल (पोषण पुनर्स्थापना गृह डडेल्धुरा) पठाएँ र त्यसपछि बच्चालाई ठिक भयो । त्यो बच्चाको उपचार हुनुभन्दा अगाडि र उपचार भएर निको भइसकेको फोटो पनि देखाएँ। यो घटना सुनिसकेपछि उहाँहरुले मेरो कुरा पत्याउनु भयो ।
अब यो नानीलाई लिएर भोलि स्वास्थ्य संस्थामा आउनु। त्यहाँ म नानीको पोषणको अवस्था जाचौंला। राम्रोसँग चेकजाँच गरिदिउँला । त्यहाँ ठिक नहुने भए डडेल्धुरा अस्पतालमा पठाउँला भनें। यदि त्यहाँ लैजानु पर्ने अवस्था आयो भने के गर्नुहुन्छ भनेर अभिभावकलाई सोधें। अभिभावकले आर्थिक अवस्था कमजोर भएको र घरमा धेरै काम भएकोले जान नसकिने प्रतिक्रिया दिए ।यस किसिमको प्रतिक्रिया आउन सक्छ भन्ने मैले पूर्वानुमान पनि गरिसकेको थिएँ।
'तपाईं चिन्ता नलिनु, अलि-अलि आर्थिक सहयोग म पनि गरौंला, गाडीभाडाको व्यवस्था पनि गरौंला, नानीसँग उनको आमा मात्रै गएपनि हुन्छ, त्यो अस्पतालमा खान बस्नको व्यवस्था हामी मिलाउँला' भनेर आश्वस्त पारेपछि उहाँले सहमति जनाउनुभयो। भोलि स्वास्थ्य संस्था लुईटामा भेटौला भन्दै त्यहाँबाट म निस्के|।
दोस्रो दिन, त्यो बच्चालाई लिएर आमा स्वास्थ्य संस्थामा आउनुभयो। सहकर्मीहरुको सहयोगमा बच्चाको पोषण स्थिति मापन गर्दा अति जोखिमपूर्ण अवस्था देखियो। बच्चा दूध चुस्न नमान्ने रहेछ । आमाको पनि दुध नआउने रहेछ। पालिकाको स्वास्थ्य शाखा र जिल्लाको स्वास्थ्य कार्यालयका पोषण सम्पर्क व्यक्तिसँग सल्लाह गर्दा डडेल्धुरा अस्पतालको पोषण पुनर्स्थापना गृहमा थप उपचारको लागि पठाउने कुरा भयो। स्वास्थ्य कार्यालयले त्यहाँको सम्बन्धित व्यक्तिसँग समन्वय गरेर नाम र नम्बर पनि उपलब्ध भयो। मेरो संस्थाबाट करिब ७-८घण्टा बसयात्राको दूरीमा डडेल्धुरा अस्पताल थियो । उक्त अस्पतालको पोषण गृहमा कार्यरत बन्दना उपाध्यायजीसँग फोनमा सल्लाह गरेपछि आमा र बच्चालाई अर्को दिन बिहानको बसमा पठाउने आपसी सल्लाह भयो ।
अभिभावकको आर्थिक अवस्था निकै कमजोर थियो। संयोगबश स्वास्थ्य कार्यालयमा काम गर्ने बिरेन्द्रप्रसाद भट्ट सरसँग गोकुलेश्वरमा भेट भयो । अहिलेसम्मको अवस्थाको बारेमा जानकारी गराएँ। बिरेन्द्रजीले एक हजार, मैले एक हजार र शैल्यशिखर नगरपालिकामा कार्यरत जगदीश पाण्डे (अहेब) सरले पाँच सय रुपैयाँ नगद सहयोग गरेर भोलिपल्ट बिहानको बसमा आमा र बच्चालाई डडेल्धुरा अस्पताल पठायौं। बेलुकी पोषण पुनर्स्थापना गृहमा कार्यरत बन्दना मेडमसँग फोनमा कुरा गर्दा आमा र बच्चा सकुशल पुगिसकेको र सबै प्रक्रिया पूरा गरी भर्ना भइसकेको जानकारी पाएँ।
केही समयको उपचारपछि बच्चाको स्वास्थ्य अवस्था सुधार भएछ । आमाको पनि दूध फुटेछ। बच्चाले पनि दूध चुस्न थालेछ। कुपोषितबाट सुपोषित भएछ। करिब १ महिनाको उपचारपछि आमा र बच्चालाई घर पठाएछन्। यही जेठ महिनाको अन्तिम सातातिर उनको घरमा गएर हेरें। बच्चाको अवस्था निकै राम्रो थियो। त्यो सम्झिँदा अझैपनि खुशी लाग्छ।
सबैको साथ सहयोगले कसैको स्वास्थ्य समस्या ठिक पार्न सक्दा छुट्टै आनन्द आउँछ। स्वास्थ्यकर्मी भएकोले गर्वान्वित महशुस हुन्छ। गरिबि, खाद्यान्न अभाव, अशिक्षा लगायतका कुराले फेरि कुपोषणको चक्रमा धकेलिने पो होकि भन्ने पीर अझै पनि लागिरहन्छ। शिक्षा, कृषि, रोजगार, खानेपानी, महिला/बालबालिका आदिका क्षेत्रको संयुक्त सफल प्रयास बिना कुपोषणको जालो तोड्न नसकिने यथार्थले चिन्तित बनाउँछ।
(तपाईंसँग पनि यस्तै अनुभूति छन् ? छन् भने [email protected] मा लेखेर पठाउनुहोला)