दिल्ली शहरले यसवर्ष गर्मीका लागि रेकर्ड बनायो। बाहिरी ज्यान गर्मीले पोलिरहेको छ, मन पीरले। पसिना पुछ्दै गर्दा काठमाडौंको शितल हावा र चिसो पानीको झलझली सम्झना आइरहेको छ । ४८ डिग्री तापक्रम पुगेको यो शहरको रोहिणीको सोमबार (सोमबजार) खचाखच छ।
नेपालीहरुको प्रिय मानिने एनबी चौतारीमा हाँसोको लहर हरबखत गुञ्जयमान छ ! देशमै रोजगारदेखि उपचार पाउन नसकेर परदेशिएका नेपालीहरुको त्यो हाँसोले मलाई महशुस गराइरहेको छ- दु:खमा पनि हाँस्न सक्ने जात सयद नेपाली मात्रै होला!
फलफूल, लाखामरी, गुँदपाक बेचिरहेका छन् केहीले। केही यताउति गरिरहेका छन्। लाग्दैछ- पीडाबीच पनि खुशी खोज्न सक्रिय छन् नेपाली।
यहाँ सवै पेशाकर्मी भेटिन्छन्, अधिवक्ता, डाक्टर, शिक्षक, सरकारी कर्मचारी आदि। उनीहरु विदेशी भूमिमा कि आफैं रोगसँग युद्ध लड्दैछन्, कि आफन्तलाई सघाउँदैछन्।
म आफैं पनि यही लस्करमा उभिएकी छु । बुवाको क्यान्सरको उपचारका लागि यहाँ आइपुगेकी छु । नेपालमै क्यान्सरको भरपर्दो र सहज उपचारको अभाव खड्किएर यहाँ आइपुगेका हौं । क्यान्सरको मूलभूत आर्थिक, नीतिगत, सामाजिक, राजनीतिक पक्षलाई केलाएर प्रस्तुत गर्नुअघि मैले यहाँ तीतो यथार्थ पस्किने प्रयास गरेकी हुँ।
जहाँ नेपाली आवाजमा सुनिन्छन् :
• दुई वर्ष भयो आउनेजाने गरेको । उता रोग पत्ता लगाउन सकिएन । यहाँ थाहा भयो । अपरेशन भएको १० दिन भयो, कति बस्नुपर्ने हो अझैं यो गर्मीमा, घाउ पाकिसक्यो।
• बाबुलाई ब्लड क्यान्सर देख्यो, नौ महिना त यतै बस्नु पर्ने रे। एसईई छुट्छ भनेर साह्रै पीर गरेको छ।
• मर्नेबाँच्ने टुङ्गो नभए नि, नेपाली दाजु बहिनी भेट्दा र नेपाली बोल्दा साह्रै आनन्द आउने।
• नानी हिन्दी बोल्न आउँदैन, केके भर्नुपर्ने भन्छ, भर्देउ न।
विदेशी भूमिमा पाइलैपिच्छे सुनिने यी आवाजहरु नेपाली स्वास्थ्य सेवा र प्रणालीका असली चित्र हुन्। जीवन आशा बोकेर भएरभरको सम्पत्ति बेचेर यहाँ आइपुगेका यी नेपालीहरुको मुखबाट सुनिन्छ, देशको असली अवस्था। कहीँकतै सुनिको 'मुठ्ठीभरलाई त देश स्वर्ग छ' भन्ने यहाँ आइपुगेपछि महशुस हुँदैछ। परिवारको एउटा सदस्यको उपचारका लागि परिवार नै पलायन हुनुपर्ने बिडम्बना यहाँ बर्गेल्ती देख्न पाइन्छ।
बसाइको व्यवस्था
दिल्ली जाने दिन नजिकिदै गर्दा तीनजनाको परिवार हामी टाउको जोडेर 'जय श्री राम'को पुकारसहित : खाना पकाउन चाहिने दाल चामल र दिल्ली ओर्लिदा सँगै त्यस शहरले माग्ने खर्च बोकेर काम , जीवन , आशा सबैलाई सानो डब्बामा पोको पार्दै समय र बसाइको असिमिततालाई अँगाल्दै दिल्ली पुग्यौं।
झोलाको भारि, शारिरिक शिथिलता र त्योसँग चाहिने दृढता र सामान बोक्ने तागत, बोकी म र मेरी आमा अनि बुवा , झोला एनबी मा बिसाइ रूम को खोजीमा लाग्यौं।
दिल्ली एउटा शहरमा त पूरै नेपाल जत्तिकै जनसंख्या रहेछ। त्यहाँ बस्ने ठाउँ खोज्दै, अँध्यारा अँध्यारा गल्ली चहार्यौं । झ्यालबिनाका कोठा, साना गल्ली , कहाली लागेझैं भयो। त्यसमाथि पैसाको बार्गेनिङ फरक। पछि राम्रो रूमहरु पनि रहेको जानकारी भयो। सुरुमा त घरबेटीले मनै अत्यासिने गरी पैसा लिन खोज्ने रहेछन्। कुरा गर्दै जाँदा उनीहरु घटेर आए। हामीले चित्त बुझायौं र त्यहीँ बास व्यवस्थापन गर्न सफल भयौं।
आर्थिक ब्यवस्थापान र समस्या
भारत जाने भने पश्चात् भारतीय रुपैयाँ त चाहियो नै । राष्ट्र बैंकले प्रति बिरामी २५ हजार भारतीय रुपैयाँ दिने नियम रुहेछ। क्यान्सर रोगको उपचारका लागि त त्यति पैसा खाजा खर्चझैं उडेर जाने रहेछ। हामीले पाएको जति रकम लिएर दिल्ली पुग्यौं। त्यहीँ कार्डबाट पैसा झिक्न खोजेका थियौं । एक लाख भन्दा बढी निकाल्न नमिल्ने रहेछ। अस्पातलले धरौटी पैसा जम्मा गराउन खोज्दा यहि लिमिटले पैसा निकाल्न नमिलेको कुरा बुझाउन निकै गाह्रो भयो। हामी मात्रै होइन, यो समस्याले धेरै नेपालीहरुलाई पिरोल्ने रहेछ।
आर्थिक अभाव, निम्न बर्ग, मध्यम बर्गको आम्दानी र (आउट अफ पाकेट) मोडालिटी को खर्चले क्यान्सर भएकाका परिवारलाई आफ्नो जग्गा, धनसम्पत्ति सवै सकेर ऋणले घेर्दो रहेछ। सरसापटले कति दिन चल्छ र? आत्मसम्मानका कारण पनि धेरैलाई हात फैलाउन धेरैलाई गाह्रो पर्छ नै। सरकारको आर्थिक र स्वास्थ्य नीतिले अझै युनिभर्सल हेल्थ कभरेज र क्यान्सर रोगलाई प्राथमिकतामा नराख्दा यो भवितब्य नेपाली परिवारले भोग्दै आएका छन्। भविष्यमा सहुलियतको नाममा एक लाखको ब्यवस्थाबाट माथि उठेर क्यान्सर उपचारलाई आफ्नो प्रमुख कार्यक्रम ( स्क्रिनिङ, डायाग्नोसिस, उपचार र प्यालिएशन) सम्म राख्न जरुरी देखिन्छ।
क्यान्सरमा केन्द्रीत भारतीय नीति
नेपालमा क्यान्सरको उपचारलाई सहज बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ। नीतिगत विकासका लागि आफ्नै छिमेकबाट केही सिक्न समेत जरुरी देखिन्छ। सन् २०१९ बाट भारतले नीतिगत रुपमै क्यान्सर उपचारलाई केन्द्रमा राख्दै आएको छ। जसलाई तल सूचीबद्ध गरिएको छ :
१ .क्यान्सरको खर्चिलो औषधीहरुमा भारत सरकार ले ८७ प्रतिशतले एमआरपी घटाउँदै जनातामा पर्ने आर्थिक भारलाई राहत मिलेको छ ।
२ . प्याकेज अनुसार क्यान्सरका बिभिन्न सेवा जस्तै मोलेकुलर डाइगनोसिसदेखि रेडियोथेरापीसम्म ४३५ सेवा सरकारी अस्पातलमा प्रदान गर्दै आएका छन्।
३ .हरेक सरकारी अस्पातालमा १००-३०० बेडको अन्कोलोजी विभागसहित सेवा विस्तार गरिएको छ।
४ . क्यान्सरको अनुसन्धान र आयुर्वेदिक औषधीमा पनि प्राथमिकता दिँदै २२ लाख परिवारलाई फाइदा पुगेको छ।
भारतमुखी नेपाली र उब्जेका प्रश्न
क्यान्सर भएपछि नेपालको ठूलो संख्या भारततिर सोझिन्छ। त्यसका अनेक कारण छन्। मेरो व्यक्तिगत अनुभवमा त्यहाँ चिकित्सकले गर्ने काउन्सिल, उपचारमा छनोट सुविधा, विश्वमा प्रचलित उपचार पद्धति र प्रविधिको उपलब्धता र उपचारका क्रममा हुने सहजीकरण प्रमुख हुन्।
नेपालमा विभिन्न कन्फ्युजन, अव्यवस्था र असहजतासँग जुधेका नेपालीहरुले त्यहाँका अस्पतालले गर्ने बिरामीमैत्री व्यवहारबाट केही राहत महशुस गर्छन्। त्यहाँ पुगेर उपचार गरेर फर्किएकाहरु अरुलाई पनि नेपालमा नअलमलिन सुझाउँछन्।
नेपालको ग्रामिण क्षेत्रमा उपचार सेवा नपाउने गरेका कारण बिरामीहरु लामो समयदेखि त्यहाँ बसिरहेको समेत भेटिएको छ। आफू बस्ने ठाउँनजिकै केमो पोर्ट, पिक लाइन ड्रेसिङको सुविधाको अभावले दुई वर्षसम्म दिल्लीमै बसेका कति बिरामी भेटिनुभयो।
बाबाको दिल्लीमा उपचार गर्दै गर्दा मेरो मनमा अनेक प्रश्नहरु खेलेका छन्। जस्तो:
- स्वास्थ्य सेवालाई भरोसायोग्य बनाउन हामी कहाँ चुकिरहेका छौं ?
- आम नेपाली विदेश गएर उपचार गराउन किन बाध्य छन् ?
- आमजनको आधारभुत अपेक्षा पूरा गर्ने गरी नीति निर्माण गर्न किन सकिरहेका छैनौं ?
- कहिलेसम्म उपचारका लागि विदेश जानैपर्ने बाध्यता आइलाग्ला ?