नेपालको स्वास्थ्य सेवा क्षेत्रमा सुधार ल्याउन आवश्यक पर्ने एक महत्वपूर्ण पक्ष भनेको स्वास्थ्य सम्बन्धी मालसामानको प्रभावकारी र गुणस्तरीय खरिद प्रक्रिया हो। यो लेखको मुख्य उद्देश्य भनेको सार्वजनिक खरिद ऐन २०६३र सार्वजनिक खरिद नियमावली २०६४ मा स्वास्थ्य सम्बन्धी मालसामानहरूको खरिद प्रक्रियामा देखिएका समस्याहरूलाई विश्लेषण गर्नु र यसको लागि छुट्टै व्यवस्थाको आवश्यकता औंल्याउनु हो।
सार्वजनिक खरिद ऐन २०६३ ले सबै प्रकारका(निर्माण,मालसामान,परामर्शआदि) सार्वजनिक खरिद प्रक्रियाहरूलाई एउटै नियममा बाँध्न खोजेको छ। यसले गर्दा स्वास्थ्य सम्बन्धी मालसामानहरूको खरिद प्रक्रियामा ढिलासुस्ती र जटिलता उत्पन्न भएको छ। उदाहरणका लागि, अत्यावश्यक औषधि र उपकरणहरूको खरिद गर्दा जटिल प्रक्रियाहरूले गर्दा समयमा खरिद गर्न कठिनाइ भई अस्पतालहरू वा स्वास्थ्यसंस्थाहरुमा औषधि र उपकरणहरूको अभावले बिरामीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्ने सम्भावना रहन्छ।
वर्तमान सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ ले सार्वजनिक निकायले मालसामानको लागत अनुमान तयार गर्दा नियम ९ र सम्बन्धित मालसामानको स्पेसिफिकेशनको अधीनमा रही तयार गर्नुपर्ने उल्लेख छ। तर स्वास्थ्यजन्य मालसामानको स्पेसिफिकेशन र लागत अनुमान तयार गर्न प्रस्ट निर्देशिका वा नियममा समावेश छैन र विशेषज्ञताको समावेश प्रावधान स्पष्ट रूपमा उल्लेख नगरिएको हुँदा बजार मूल्यमा उतार-चढाव, विशेषज्ञताको अभाव र गुणस्तर र मात्रा निर्धारण गर्न कठिनाइ भइरहेको छ।
गुणस्तरको प्रत्याभूति दिने प्रावधान समावेश गरेको त छ, तर यो प्रावधान स्वास्थ्य क्षेत्रको विशिष्ट आवश्यकताहरूलाई सम्बोधन गर्न पर्याप्त छैन। वर्तमान ऐनमा गुणस्तर नियन्त्रण र प्रमाणिकरणका लागि स्पष्ट व्यवस्थाहरूको अभाव रहेकोले स्वास्थ्य सम्बन्धी मालसामानहरूमा न्यून गुणस्तरका उपकरण र औषधिहरू बिरामीहरूको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न गर्न सक्ने हुँदा सार्वजनिक खरिद ऐनमा उच्च गुणस्तरका मालसामानहरूको खरिद सुनिश्चित गर्नका लागि गुणस्तरमा कुनै सम्झौता नहोस् भनेर स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि गुणस्तर नियन्त्रणका कडा मापदण्डहरू समावेश गर्न आवश्यक भईसकेको छ।
सार्वजनिक खरिद ऐनमा एक अर्को महत्वपूर्ण पक्ष भनेको शीघ्रता र लचकता हो। ऐनमा बोलपत्रको सूचना, आशयको सूचना र खरिद सम्झौता गर्ने दिईने समयावधि बैज्ञानिक र व्याबहारिक गर्न आवश्यक भैसकेको छ। ऐनमा आपतकालीन अवस्थामा विशेष खरिद प्रक्रियाको व्यवस्था गरेको त छ, तर स्वास्थ्य क्षेत्रका अत्यावश्यक सामग्रीहरू खरिद गर्दा शीघ्रता र लचकता आवश्यक हुन्छ भनेर पर्याप्त ध्यान दिइएको छैन। आपतकालीन अवस्थामा खरिद प्रक्रियामा ढिलासुस्ती हुन नदिन तत्काल खरिद गर्न सक्ने प्रणाली बनाउनुपर्ने आवश्यक रहेको छ।
तसर्थ नेपालको स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ मा स्वास्थ्य सेवा प्रदान गर्ने प्रक्रियामा सुधार र तीव्रता ल्याउन र खरिद प्रक्रियाका आधारभूत सिद्धान्तहरू प्रतिस्पर्धा, पारदर्शिता, समानता, र जवाफदेहिताको उचित ब्याख्या गर्न स्वास्थ्य सम्बन्धी मालसामानहरूको खरिदका लागि छुट्टै व्यवस्थाको माग रहेको छ।
- (बायोमेडिकल इन्जिनियर चटौत गेटा अस्पतालमा कार्यरत छन्।)