काठमाडौं- नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। कांग्रेस स्रोतका अनुसार कांग्रेसले पाएका मन्त्रालयमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल आउने भएका छन्।
कांग्रेस नेताहरुले दिएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रदीप पौडेलले पाउने लगभग निश्चित भएको छ। 'कांग्रेसकै अर्का संसाद तेजुलाल चौधरीको नाम पनि स्वास्थ्यमा आइरहेको छ। तर प्रदीपको सम्भावना ९० प्रतिशतभन्दा माथि छ,' कांग्रेसका एक नेताले भने।
कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्ने बताइएको छ। उनले ऊर्जा वा रक्षा मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ।
यस्तै, गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया, सहरी विकासमा किशोरसिंह राठौर, पर्यटनमा रामनाथ अधिकारी, कानुन वा कुनै एकमा हृदयराम थानी र ऊर्जा वा अर्को कुनै मन्त्रालयमा तेजुलाल चौधरीको नाम तय भएको कांग्रेसका एक नेताले जानकारी दिए।
प्रधानमन्त्री ओलीको सपथ ११ बजे राष्ट्रपति कार्यालयमा हुने छ। त्यसपछि मन्त्रीहरुको सपथको कार्यक्रम रहेको छ।