काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार गर्ने भएका छन्। उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए।
सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन्।
राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन्। त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण हुने बताइएको छ।
नयाँ स्वास्थ्य मन्त्रीले पनि सोमबार नै सपथ लिने सम्भावना बढेको छ। पहिलो चरणमा मन्त्री हुनेको नाम आइतबार साँझसम्म टुंग्याइने बताइएको छ। एमालेबाट अध्यक्ष ओलीले नै मन्त्रीहरु तय गर्नेछन्। कांग्रेसले शनिबार नै मापदण्ड तय गरिसकेको छ। त्यहीअनुसार कांग्रेसका विभिन्न समूहको समेत प्रतिनिधित्व हुनेगरी नाम पठाइने तयारी भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसले पाउने सम्भावना बलियो छ। कांग्रेसमा उक्त मन्त्रालयका लागि आकांक्षीहरु पनि छन्। एमालेले भने त्यसको सट्टा शिक्षामा रुचि जताएको छ। त्यसबाहेक साना दलहरुले पनि उक्त मन्त्रालयमा आँखा लगाएका छन्। सरकारलाई समर्थन गर्ने तयारी गरिरहेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपालले उक्त मन्त्रालयसहित सरकारमा जाने चाहना व्यक्त गरेको छ। तर, पहिलो चरणमा साना दलहरुलाई समेट्ने विषयमा अझै निर्णय भइसकेको छैन।