काठमाडौं- स्वास्थ्य सेवा विभागले संघका वीर,प्रसूति, कान्ति तथा ४२ प्रादेशिक अस्पतालहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। आज (मंगलबार) एक कार्यक्रमका बीच स्वास्थ्य सचिवहरु रोशन पोखरेल र हरिप्रसाद मैनालीको उपस्थितीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
अस्पतालले गरेको मागअनुसार उक्त अस्पतालको आवश्यकता अनुसार स्वास्थ्य सामग्री प्रदान गरिएको स्वास्थ्य सचिव रोशन पोखरेलले बताए। स्वास्थ्यजन्य सामग्रीको खरिद प्रक्रिया ज्यादै झन्झटिलो भएकोले प्राप्त सामग्रीको सही रुपमा उपयोग गर्न सबै अस्पतालका प्रमुखहरुलाई सचिव डा पोखरेलले आग्रह गरे।
अस्पतालहरुको माग र औचित्यको आधारमा उपकरण सञ्चालन गर्ने सक्ने जनशक्ति भएका अस्पताललाई मात्र उपकरण हस्तान्तरण गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा संगीता कौशल मिश्राले बताइन्। सामानको हस्तान्तरण पश्चात् उक्त अस्पतालले वितरण गरिएको सामग्रीको सही रुपमा प्रयोग गरे नगरेको समेत अनुगमन हुने उनको दाबी थियो।
काठमाडौँका वीर, त्रिवि शिक्षण, कान्ति बाल, निजामति कर्मचारी र शुक्रराज ट्रपिकल , भक्तपुर क्यान्सर तथा प्रदेशका ४२ अस्पताललाई स्वास्थ्य उपकरण वितरण गरिएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा निर्देशक डा श्रवण कुमार थापाले बताए।
अल्ट्रासाउण्ड, एक्सरे, इको, इन्डिोस्कोपी, हेमाटोलोजी एनालाइजर, अटोमेटिक युरिन एनालाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरिएको उनले बताए।