काठमाडौं- केही दिनदेखि जारी अविरल वर्षाका कारण जनधनको क्षति हुने क्रम जारी छ। यही क्रममा नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ रहेको बताइएको छ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले उद्धारको काम थालिएको र पहिरो पन्छाउन सुरु गरिएको बताए । ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको यादवले बताए ।
कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोेमा मृत्यु भएको हो ।
पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको हो । यसैगरी पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मादी गाउँपालिका–११ ताप्लेमा गए राति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए। मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए।