काठमाडौं– नयाँ बानेश्वरमा रहेको एभरेस्ट अस्पतालले विभिन्न विशेषज्ञ सेवा थप गर्दै विभाग तथा रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ।
एभरेस्ट अस्पतालले थप गरेको ब्लड बैंक, हेमोडायलाइसिस, दन्त विभाग, नेत्र विभाग र एनआइसीयु विभाग लगायतका सेवा थप गरी सञ्चालनमा ल्याएको हो। थप गरिएका यी सेवाहरुको शनिबार पूर्व स्वास्थ्य मन्त्री प्रदिप यादवले उद्घाटन गरेका छन्।
थप सेवा सुरु भएको अवसरमा अस्पतालले शनिबार निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ।
सो शिविरमा निशुल्क मिर्गौला जाँच, निशुल्क सुगर, युरिया र क्रियाटिनिन जाँच, १५० जनालाई निशुल्क सेनेटरी प्याड वितरण,१५० जनालाई रु १०० मा अल्ट्रासाउण्ड सेवा, निशुल्क दन्त परीक्षण,निशुल्क आँखा जाँच लगायतका सेवा दिइएको अस्पतालका निर्देशक प्रशासन प्रमुख दीपक चन्द्र बरालले जानकारी दिए।
बरालका अनुसार अस्पतालमा स्थापना गरिएको रक्तसञ्चार केन्द्र ८०० युनिटसम्म रगत भण्डार गर्ने क्षमता रहेको छ। यस्तै पहिलो पटक डायलाइसिस गराउन नाम टिपाउने १० जना बिरामीलाई निशुल्क डायलाइसिस सेवा दिइने छ। अस्पतालमा हाल एकसय शय्या क्षमता रहेको छ।